काठमाडौं । नेपाल कृषि प्रधान देश हो । त्यही देशमा करोडौको तरकारी आयात हुन्छ भन्दा जो कोहीलाई पनि विश्वास नलाग्नसक्छ । तर त्यो सत्य हो ।
नेपालमा उत्पादन नहुने तरकारी आयात हुनु स्वभाविकै हो । तर नेपालमा उत्पादन हुने मात्रै होइन, नेपालमा उत्पादन भएर बजार नपाउने, यहाँ उत्पादन भएको तरकारीले बजार पाएपनि कौडीको भाउमा बिक्री हुने अनी विदेशबाट करोडौको आयात हुने गरेको छ । धेरै तरकारी मध्येको टमाटर पनि एक हो ।
नेपालमा टमाटर निकै उत्पादन हुने गरेको छ । तर नेपालमा किसानले टमाटर बिक्री गरेर नाफा आर्जन गर्नु भन्दा पनि उत्पादनमा गरेको लगानी समेत उठाउन सकेका छैनन् । कतिपय समयमा टमाटरले बजार पाएन भनेर कृषकले सडकमा नै फाल्दै आएका छन् । जेनतेन बजार पाएपछि मूल्य निकै न्यून हुने गरेको छ । सरकारले आन्तरिक उत्पादनलाई खपत गर्ने नीति लिनु भन्दा पनि आँखा चिम्लेर आयातलाई प्रश्रय दिएको भन्सार विभागको तथ्याङकले देखाएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७-७८ मा टमाटर मात्रै करिब ४७ करोडको आयात भएको छ । आव २०७७-७८ को असार मसान्तसम्म नेपालमा ४६ करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको टमाटर आयात भएको छ ।
विभागले हालै सार्वजनिक गरेको गत आवको तथ्याङ्कले यस्तो देखाएको हो । नेपालमा भारतबाट मात्रै टमाटर आयात हुने गरेको छ । अन्य देशबाट टमाटर आयात हुँदैन । विभागका अनुसार उक्त अवधिमा ३६ हजार ४४३ टन भन्दा बढी टमाटर आयात भएको छ । टमाटर आयातबाट सरकारले ४ करोड २४ लाख २४ हजार राजस्व प्राप्त गरेको छ ।
वि.सं.२०७८ साउन ८ शुक्रवार १७:३८ मा प्रकाशित