काठमाडौ । पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले आफ्नो मन्त्रीको कार्यकालमा कामको सुरुवात एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे । उनले ९ महिनाको कार्यकालमा आफुले सुधार्नै नसकेको क्षेत्र एयरपोर्ट रहेको सार्वजनिक कार्यक्रममै बताए ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेर कार्यको सुरुवात गरेका छन् । मन्त्रीको पदभार ग्रहण गर्दा एक साताभित्र विमानस्थलमा सुधार गर्न निर्देशन दिएका मन्त्री झिसमिसे बिहानी पारेर अनुगमनका लागि एयरपोर्ट पुगे । अनुगमनकाक्रममा मन्त्री शाहीले विमानस्थलको उडान कक्ष, प्रतीक्षालय, शौचालय, लगेज व्यवस्थापनलगायतको निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा पर्यटनमन्त्रीले हालको सुधारको कार्यलाई थप प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
वास्तवमा विमानस्थभित्र प्रारम्भिक चरणमा निम्न विषयहरुमा सुधार गर्नुपर्ने खाँचो छ । एयरपोर्टका श्रमिकहरुले बताएअनुसार :-
१) विमानबाट झरेदेखि ट्याक्सी चढ्ने बेलासम्म जो कसैले सहज महशुस गर्ने अवस्था छैन कमसेकम पनि अन्तर्राष्ट्रिय विमानस्थलजस्तो देखिने बनाउनुपर्यो ।
२) टर्मीनल भवनमा लगेज लिनका लागि घन्टांै कुर्नुपर्ने र भिडभाड हुने अवस्थाको अन्त्य गर्नुपर्यो ।
३) जथाभावीरुपमा पशुपंक्षि कुकुर, बाँदरको प्रवेश भईरहेको छ त्यसको रोकथामका उपाय अबलम्बन गर्नुपर्यो ।
४) धावन मार्गको सुधार गर्नुपर्यो ।
५) सहजरुपमा सूचना आदानप्रदानको व्यवस्था हुनुपर्यो ।
६) इमिग्रेशनबाट छिटो छरितो रुपमा कार्य ब्यवस्थापन हुनुपर्यो ।
७) पार्किङको ब्यबस्थापन, विशेषत हरियो प्लेट भएका ट्याक्सीको सिन्डिकेटको अन्त्य हुनु पर्यो, दर रेट, मिटर अनुसार यात्रा गर्न पाइने व्यवस्था हुनुपर्यो ।
८) काम गर्नेहरुलाई भन्दा बाहिरी र काम नगर्नेलाई हबाइ प्राधिकरणको पास वितरण गरिएको कर्मचारी कामदारको गुनासो छ त्यसको छानबीन हुनुपर्यो ।
९) नेपाल एयरलाइन्समा भएको टिकट सहुलियत देखि सामान खरिदमा छान बिन गनुपर्ने ।
१०) ट्रलीको सहज उपलब्धता र व्यवस्थापनमा ध्यान दिनुपर्यो ।
११) सरसफाईमा विशेष ध्यान दिने वातावरण बनाउनुपर्यो ।
१२) श्रमिकलाई उत्प्रेरित नगरेसम्म एयरपोर्टको कार्य प्रभावकारी नहुने भएकाले कानुन संगत रुपमा उनीहरुको व्यवस्थापनमा जोड दिनुपर्यो ।
एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्रका बेतिथीलाई समयमै अन्त्य गरेर नेपालको छवीलाई उँचो पार्नुपर्छ भन्ने अभियानका साथ सुधारमुलक कार्यक्रम गरेमा मात्र मन्त्री भएर एयरपोर्टको अनुगमन गरेको उचित ठहर्छ ।
प्रकाशित मिति : २०७३ भदौ १३
वि.सं.२०७३ भदौ १३ सोमवार १९:३० मा प्रकाशित