बेइजिङ । चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको जनाए पनि चिनियाँ समाचार एजेन्सीले भने ७ रेक्टर स्केलको भूकम्प उल्लेख गरेको छ ।
मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् । अन्य एक सय ७५ जना घाइते भएका छन् । सिचुआन प्रान्तको जिउचेइगउ काउन्टीको आकस्मिक सेवा कार्यालयका अनुसार सात रेक्टरस्केलको धक्का महशुस भएको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पाँच सय पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनहरुले मुन उपत्यकाका चाङ्चा सहर, सेराटन रिसोर्टलगायतमा आकस्मिक सेल्टर खडा गरेका छन् ।
हालसम्म सात सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ली खछ्याङले पनि अरु सबै काम छाडेर उद्धार र राहतमा जुट्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा चिनियाँ मन्त्रिपरिषद्ले राष्ट्रिय उद्धार टोली परिचालन गरेको छ ।
प्रकाशित मितिः२०७४ साउन २५
वि.सं.२०७४ साउन २५ बुधवार १०:५२ मा प्रकाशित