काठमाडौं । डोरीले घाँटी कसेर पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या गरेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।मृतकद्वय कार्की र घरेलु कामदार विजय चौधरीको पोस्टमार्टम रिपोर्ट शुक्रबार प्राप्त भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर, जावलाखेलका सहायक प्रवक्ता तथा घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत डिएसपी सन्तोष तामाङले पोस्टमार्टम रिपोर्ट आइसकेको बताए ।
मुनाको मृत्युको कारण ‘लिगेचर स्ट्रेङ्गुलेसन’ अर्थात ‘डोरीले घाँटीमा बलपूर्वक कसेर सास फेर्न नदिई मारिएका रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा चौधरीको मृत्युको कारण भने ‘ह्याङ्गिङ’ (आफ्नै तौलले तानेर निसास्सिएर मृत्य) भनी उल्लेख गरिएको तामाङले जानकारी दिए ।
गत सोमबार पूर्वसचिव कार्कीको सानेपास्थित निवासमा पत्नी मुना गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन । उनलाई उद्धार गरी उपचारका लागि ललितपुरकै स्टार अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
कामदार चौधरी भने त्यसबेला नै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलको प्रकृतिका आधारमा चौधरीले मुनाको हत्या गरेपछि स्वयंले ‘आत्महत्या’ गरेको प्रहरीले आशङ्का गर्दै आएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७६ फागुन २ शुक्रवार १६:१० मा प्रकाशित