back
NMB ad

यसकारण खतिवडाको दोस्रो इनिङ चुनौतीपूर्ण : सामना गर्न त्यति सहज हुनेछैन !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सभामा २ वर्षे पदावधि सकिएपछि मंगलवार राजीनामा दिएका डा. युवराज खतिवडाले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

तर, पहिलो कार्यकालमा आफैले राखेको आर्थिक सूचकांकको लक्ष्य भेट्न उनलाई सकस पर्ने देखिएको आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।

 सत्तारूढ पार्टी्िभत्रै तीव्र विवादका बीच प्रधानमन्त्री ओलीको दह्रो साथ पाएर पुनः मुलुकको अर्थतन्त्रको कमान सम्हालेका खतिवडाको दोस्रो कार्यकाल चुनौतीपूर्ण देखिएको छ ।

कमजोर पूँजीगत खर्च तथा राजस्व असुली, निजीक्षेत्रको घट्दो मनोबललगायत समस्या सम्बोधन गर्नुपर्ने त थियो नै, अब कोरोना भाइरसको बहुआयामिक असरबाट अर्थतन्त्रलाई जोगाउने थप जिम्मेवारी उनको काँधमा छ । बुधवार पदबहाली गरेलगत्तै उनले यो चुनौतीको सामना गर्न काम शुरू गर्ने बताए पनि त्यो त्यति सहज हुनेछैन ।

खतिवडाले चालू आवको बजेटको मध्यावधि समीक्षामा खर्च र राजस्वको लक्ष्य घटाए तर ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य घटाएनन् । उल्टै आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने उनको दाबी थियो । तर, कोरोनाका कारण त्यो लक्ष्य पूरा नहुने स्पष्टै भएको छ । साथै, यस वर्ष विकास खर्च ८० प्रतिशत हुने अर्थमन्त्रीको अनुमान पनि पूरा हुन कठिन छ ।

पछिल्लो समय निजीक्षेत्रमा बैंकको कर्जा घट्दा, ठूला पूर्वाधार निर्माण सुस्त हुँदा, सिमेन्ट, छडजस्ता वस्तुको खपत कम हुँदा तथा पूँजी निर्माण गर्ने वस्तुको आयातमा समेत कमी आउँदा अर्थतन्त्र ‘स्लोडाउन’ तिर गएको आशंका गरिँदै छ ।

त्यसमाथि कोरोनाका कारण विप्रेषण आप्रवाहमा कमी आउने सम्भावना छ । यस्तोमा अर्थमन्त्रीलाई आफूले राखेका आर्थिक सूचकांक पूरा गर्न चुनौती थपिएको छ ।

पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने, सम्पत्ति शुद्धीकरणजस्ता सरकारको पछिल्ला तयारीप्रति निजीक्षेत्र सशंकित छ । एकपछि अर्को गर्दै निजीक्षेत्र त्रस्त बनिरहेका बेला अर्थमन्त्री खतिवडासामु निजीक्षेत्रलाई विश्वासमा लिई अघि बढ्नुको विकल्प छैन । हुन त पदभार ग्रहण गरेपछि खतिवडाले निजीक्षेत्रसँग बढेको दूरी घटाउने प्रतिक्रिया दिएका छन् । निजीक्षेत्रलाई विश्वासमा लिने नै हो भने उनले आफ्नो शैली परिवर्तन गर्नुपर्ने अर्थशास्त्रीहरू बताउँछन् । राजस्वको लक्ष्य पूरा गर्न कर वृद्धि गर्नुपर्ने हुन्छ, जसले गर्दा निजीक्षेत्र झनै सशंकित नहोला भन्न सकिँदैन ।

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत पनि पहिलो कार्यकालमा खतिवडाले निजीक्षेत्रलाई कस्ने खालको नीति लिएको बताउँछन् । हचुवाका भरमा रातारात कर लगाउने अर्थमन्त्रीको तरीका फेरिनुपर्ने महतको सुझाव छ ।

केही महीनाअघि विश्व बैंकको डुइङ बिजनेश प्रतिवेदनले नेपालको व्यवसायमैत्री वातावरणमा केही सुधार आएको जानकारी दिएको थियो । तर, अभैm व्यापार, व्यवसाय शुरू गर्न कठिन रहेको उसको भनाइ छ । प्रतिवेदनले सम्पत्ति दर्ता, हस्तान्तरणमा लाग्ने शुल्क वृद्धि आदिका कारण लगानीको वातावरणमा असर देखिएको बताएको थियो । त्यसलाई सम्बोधन गर्नुपर्ने चुनौती अर्थमन्त्रीसमक्ष रहेको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्रमै धक्का लागिरहेका बेला मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएको सन्दर्भमा त्यसलाई सही गति दिने चुनौती थपिएको महत बताउँछन् । ‘आर्थिक विकास र समृद्धि प्राप्त गर्न कठिन अभ्यासबाट मात्रै सम्भव हुन्छ, सरकार हवादारी तरीकाले अघि बढिरहेको छ, अर्थमन्त्रीले त्यसलाई नियन्त्रण गर्न सक्नुपर्छ,’ महतले भने । उनका अनुसार साधनस्रोत सही ढंगले उपयोग गर्न अर्थमन्त्रीले आफ्नो दोस्रो कार्यकालमा पहल थाल्नुपर्छ ।

बजेट प्रणालीमा सुधार गर्न, सार्वजनिक खर्च, प्रशासन र ठेक्का प्रणालीमा सुधार गर्न पहिलो कार्यकालमा खतिवडा चुकेको महत बताउँछन् ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि मध्यावधि बजेट समीक्षामार्पmत लक्ष्य १० खर्ब ५६ अर्ब रुपैयाँमा झारिएको थियो ।

चालू आवको प्रथम ६ महीनामा ४ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व उठाएको सरकार बाँकी महीनामा ६ खर्ब उठाउनुपर्ने दबाबमा छ । करीब १ महीनादेखि चीनसँग जोडिएका नाकाहरू ठप्प रहँदा अर्थमन्त्रीले राखेका राजस्वका महत्त्वाकांक्षी लक्ष्य भेटाउन कठिन हुने देखिन्छ ।

नेपाल–चीन व्यापारका दुई मुख्य नाकाहरू रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी माघ १५ यता पूर्णरूपमा बन्द छन् । दुई मुख्य नाका बन्द भएकाले नेपाली व्यापारीका ५०० भन्दा बढी कन्टेनर चीनको केरुङ र खासामा रोकिएका छन् । ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीका वस्तु रहेको व्यापारीहरूको भनाइ छ ।

अर्थविद् विमल वाग्लेले अर्थतन्त्रका संरचनात्मक समस्यालाई अर्थमन्त्रीले पहिलो कार्यकालमा सुधार्ने प्रयास गरेको बताए । अबका दिनमा योजना र कार्यान्वयनबीच रहेको दूरी अर्थमन्त्रीले सम्बोधन गर्नु जरुरी रहेको उनको भनाइ छ ।

वित्तीय संघीयतालाई सही दिशामा लैजान अहिलेसम्म भएका कमजोरी सुधारी अघि बढ्न अर्थमन्त्री खतिवडा तयार हुनुपर्ने प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको भनाइ छ । ‘संविधानले दिएको अधिकार पनि भीख मागे जस्तो माग्नुपर्ने अवस्था सृजना भइरहेको छ, यसलाई हटाउन अर्थमन्त्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेमा हामी आशावादी छौं,’ यादवले भने ।

संघीय सरकारका अर्थमन्त्रीको अध्यक्षतामा वित्तपरिषद्को बैठक हरेक वर्ष बस्ने गरेको छ, त्यसमा वित्तीय संघीयता कार्यान्वयनमा देखिएका समस्यामा छलफल पनि हुन्छ तर अर्थमन्त्रीले त्यहाँ उठेका मागलाई सही रूपमा सम्बोधन गर्न चुकेको मन्त्री यादव बताउँछन् ।

‘बाह्य चुनौतीको सामना गर्छु’

अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धिको बाटोमा मुलुक अघि बढ्दा बा≈य चुनौती झेल्नुपरेको बताउँदै त्यसको डटेर सामना गर्ने बताएका छन् ।

अर्थ मन्त्रालयमा बुधवार दोस्रोपटक पदबहाली गर्दै खतिवडाले अर्थतन्त्रको सम्पूर्ण संरचनामा अर्थमन्त्रीले २ वर्षमा उथलपुथल ल्याउन नसक्ने बताउँदै आफ्नो पहिलो कार्यकालको बचाउ गरे ।

आफू मुलुकको गरीबी अन्त्य गर्दै विकास र समृद्धिको लडाइँमा लागेको सिपाही भएको भन्दै त्यो यात्रा पूरा नभएसम्म लडिरहने खतिवडाको भनाइ थियो । ‘यो मुलुकको गरीबी, अभाव, अशिक्षा र अन्यायका विरुद्ध लडिरहेको विकासे योद्धा ती समस्या हल नहुँदासम्म लडिरहन्छ,’ मन्त्री खतिवडाले भने, ‘मेरो समय त्यति बेलासम्म हो जुन बेला कमान्डरले लडाइँ सकियो अब फर्क भनेर भन्दैन ।’ उनका अनुसार आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा परिवर्तन हुने क्रममा छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ०७:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...