काठमाडौं । चीनको बेइजिङस्थित नेपाली दूतावासले बेइजिङ सभान्ट बायोटेक्नोलोजी कम्पनी लिमिटेडले सहयोगस्वरुप प्रदान गरेको २ हजार थान कोरोना भाइरस टेष्टिङ किट बुधबार काठमाडौंतर्फ पठाएको छ ।
दूतावासले पठाएका किटहरू ल्हासास्थित नेपाली महावाणिज्य दूतावास हुँदै काठमाडौं आइपुग्ने छन् । ‘नेपाली महावाणिज्य दूतावास ल्हासाले स्थलमार्गबाट छिट्टै नेपाल पठाउने बन्दोबस्त गर्दैछ,’ बेइजिङस्थित नेपाली दूतावासले बुधबार जानकारी दियो ।
तीस हजार अमेरिकी डलर (करिब ३६ लाख रुपैयाँ) रुपैयाँ बराबरका ती किटहरू बुधबार बेइजिङमा एक कार्यक्रमको आयोजना गरी उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले नेपाली दूतावासलाई हस्तान्तरण गरेका थिए। २ हजार किट नेपाललाई निशुल्क उपलब्ध गरिएको हो ।
टेस्टिङ किट हस्तान्तरण कार्यक्रममा बेइजिङ नगरपालिका वाणिज्य व्युरोका निर्देशक थान छङ्हाइ र बेइजिङ–काठमाडौं अन्तराष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिओजि आन्लीको पनि उपस्थिति रहेको थियो ।
नेपाल–चीन मैत्रीको उत्कृष्ट उदाहरणको रूपमा रहेको उक्त सहयोगले नेपालमा रहेको परीक्षण उपकरणको थोरै भए पनि अभाव पूर्ति गर्ने अपेक्षा राखिएको दूतावासले जनाएको छ ।
वि.सं.२०७६ चैत १२ बुधवार १९:१२ मा प्रकाशित