back
NMB ad

प्रधानमन्त्री ओली हटाउनेबारे सोच्नुपनि अपराध हो : राज्यमन्त्री दुगड

Kumari bank ad

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दोष हो, यो अपराध हो । पाप लाग्छ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे । ‘वर्तमान सरकार पारदर्शी छ, केपी ओलीजस्तो एउटा भिजनरी लिडर देशको प्रधानमन्त्री पाउनु देश र हामी नेपाली जनता सबैको लागि सौभाग्यको कुरा हो ।’–दुगडले भने । उनले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे । उनले भने,‘हेर्नुहोस, आलोचनामात्रै गर्ने काम भएकाहरुसँग त सरकारको बारेमा आलोचना गर्न फेहरिस्त नै हुन्छन् । सरकारले शतप्रतिशत सन्तुष्ट गर्न सक्दैन् । तर, देश र जनताको हितमा हामीले काम गरिरहेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्री बदल्ने काम दुर्भाग्यपूर्ण हुन्छ । प्रधानमन्त्री, राष्ट्रपति वा मन्त्रीहरु बदलेर देश बन्दैन् ।

प्रधानमन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ ? सम्माननीय प्रधानमन्त्रीज्यूले क्वालिटीको काम गर्नुभएको छ । भ्रष्टाचार निर्मूल पार्छु भन्नुभएको छ । प्रमाणसहित आए उहाँले कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको छ ।’ उनले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरे । उनले भने,‘उहाँको नेतृत्वको वर्तमान सरकारले स्मुथ्ली काम गरिरहेको छ । यस्तो बेलामा सानातिना कुरामा अल्झिनु हुँदैन् ।’

वर्तमान प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिररहेको पनि उनको भनाई छ । ‘नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मतीमा पारित गराउने कुरा हेर्नुहोस, उहाँले पूर्ण बहुमतले पारित गराउनुभयो, सबै दलको यसमा समर्थन रह्यो, यो आफैंमा ऐतिहासिक काम हो, उहाँ कसैसँगपनि डराउनुभएन, उहाँले दृढ संकल्प लिनुभयो ।’–उनले भने ।

नेपालले संसदबाट नयाँ नक्सा पारित गरेपछि भारतले नेपालसँगको सम्बन्ध टुटाउनेबारे भ्रामक कुरा बाहिर आएको पनि उनले टिप्पणी गरे । दुगडले भने,‘भारतले कहिल्यैपनि त्यस्तो काम गर्दैन् । नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ । सानो–सानो कुराले दुई देशबीचको सम्बन्ध टुट्दैन् । नाकाबन्दी लगाउँछ भन्नु भ्रामक कुरा हो ।’ नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा जनस्तरमा द्धेष उत्पन्न गराउने काम कतैबाट पनि हुन नहुने उनको आग्रह छ ।

उनले नेपाल र भारतबीचको सम्बन्ध बिगार्ने काम गर्न नहुने जिकिर गरे । दुई देशबीच धार्मिक, सांस्कृतिक, सामाजिक समानता भएकोले द्धिपक्षीय सम्बन्धमा खलल वा आँच पुर्याउने काम गर्न नहुनेतर्फ उनले सचेत गराए ।

उनले भारतसँगको सिमा विवाद समाधान गर्न वार्ता हुने स्पष्ट पारे । उनले भने,‘निश्चय नै भारतसँग वार्ता हुन्छ । वार्ताको विकल्प छैन् । अहिलेपनि वार्ता भैराखेको छ । केही स्तरमा वार्ता अहिलेपनि भैराखेको छ । उच्चतम स्तरमा, प्रधानमन्त्रीको तहबाटै वार्ता हुनुपर्छ ।’ नेपाल कहिल्यैपनि कसैको अधिनमा नबसेको र सधैं स्वतन्त्र, अखण्ड र स्वाधिन देश भएको उल्लेख गर्दै आफूहरु कसैसँगपनि दबिएर नबस्ने उनले विश्वास दिलाए ।

सरकारप्रति जनताले असन्तुष्टि पोख्नु स्वभाविक भएको उनको तर्क छ । वर्तमान सरकार गठन भएको अढाई वर्ष पूरा हुन लागेको र सरकारप्रति जनताको ठूला–ठूला आशा र अपेक्षा रहेको उनले उल्लेख गरे । उनले भने,‘जनताले नेकपालई झण्डै दुई तिहाई बहुमत दिएका छन् । सरकारप्रति जनताको हाई एक्सपेक्टेशन हुनु स्वभाविक हो । ईतिहासमै पहिलोपटक नेकपालाई यो अवसर प्राप्त भएको छ ।

बलियो सरकारसँग जनताको अपेक्षा र आशा हुनु स्वाभाविक हो ।’ उनले सरकारले पनि आफ्नो तर्फबाट सकेको काम गरिरहेको सुनाए । उनले भने,‘आजको भोलि नै समृद्धि हाँसिल गर्न सकिँदैन् । सरकारसँग जादुको छडी त छैन । तर, सरकारले राम्रो काम गरिराखेको छ ।

स्टेप–बाई–स्टेप सरकारले देश र जनतासामू आएका चूनौति र समस्याहरु समाधान गर्दै गैरहेको छ । केहीको त काम मात्रै सरकारको आलोचना गर्ने छ ।’

उनले सरकारको कामबाट के उद्योगी तथा व्यवसायीहरु खुशी छैनन् त ? भन्दै उल्टै प्रश्न गरे । उनले भने,‘हिजोजस्तो परम्परागत शैलीमा काम गर्ने कुरा परिवर्तन भएको छ । कालाबजारी र मूल्यवृद्धि रोकिएका छन् ।

सरकारले चूनौतिका बावजदुतपनि सकारात्मक काम गरिरहेको छ ।’ सरकारले कोरोना महामारीको संकटको बावजुद बजेटपनि सन्तोषजनक ल्याएको उनले दाबी गरे । उनले भने,‘बजेटले विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । उद्योग, धन्दा, कलकारखाना जारी छन् । बजेटमा देश समृद्ध बनाउने परिकल्पना छ ।’ तर, केहीले बजेटमाथि पनि दोषारोपण गरिरहेको उनको गुनासो छ । ‘जस्तै राम्रो बजेट आएपनि ठीक छैन भन्ने प्रवृत्ति छ, यो गलत हो । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्नुपर्छ ।’–उनले थपे ।

उनले मुलुकले शताब्दीमा नै नभोगेको कोरोना महामारीको संकट अहिले झेलिरहेको र यस्तो महासंकटको बेलामा पनि सन्तुलित बजेट ल्याईएको बताए । उनले बजेटमा विद्युतीय गाडीमा करको दायरा बढाएको विषय र चकलेटको विषयमा यो समसामियक भएन कि भनेर पनि गुनासो आएको उल्लेख गर्दै विद्युतीय गाडीको सवालमा विलाषीका गाडीमा मात्रै ट्याक्स बढाईएको स्पष्ट पारे । तर, यसमा पनि सरकारले संशोधन गर्नसक्ने उनले विश्वास दिलाए । नेपालमा विद्युत बढि हुने र बढि भएको बिजुली भारत, बंगलादेशलाई बिक्री गर्नुपर्ने बाध्यता सुनाउँदै यस्तो अवस्थामा नेपालले विद्युत खपतलाई बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले भने,‘हामीले अब विद्युत खपत बढाउनुपर्छ । पेट्रोलियम पदार्थमा निर्भरतालाई कम गर्नुपर्छ । विद्युतीय सवारीमा लगाईएको कर संशोधन गर्न सकिन्छ, यो बजेट त यही आर्थिक वर्षको लागि हो नि, अर्को वर्ष पनि बजेट आउँछ । त्यतिवेलापनि एमेन्डमेन्ट गर्न सकिन्छ । कहाँ–कहाँ कमिकमजोरी छ, त्यो सरकारले सच्याउँछ । त्यसको लागि हामी अहिले छलफल र सरसल्लाह गरिरहेका छौं ।

रकार रिजिड छैन् ।’ यसबारेमा आफूले पनि अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थसचिवसँग छलफल तथा कुराकानी गरिराखेको दुगडले जनाए ।  सरकारले उद्योगी तथा व्यवसायीहरुका समस्या समाधानको लागि काम गरेको पनि दाबी गरे । उनले भने,‘कर तिर्ने र बैंकको ब्याज तिर्ने समय बढाईदिएको छ । तर, सरकारलाई पनि राजश्व आवश्यक छ । अहिले आर्थिक गतिविधि बन्द छ । सरकारले राजश्व बढाउने सोचेको छ ।’

उनले प्रधानमन्त्री ओलीले देशमा रेल र पानीजहाज ल्याउँछु भन्दा यसलाई मजाक बनाईएकोमा गुनासो पोखे । उनले भने,‘उहाँले रेल र पानीजहाज ल्याउँछु भन्नुयो, अहिले कामपनि भैराखेको छ । बेसारको महत्वबारे एक ठाउँमा स्पिच दिनुभएको थियो, तर मजाक उडाउने काम भैराखेको छ ।’ उनले सरकारले गरेका राम्रा कामको प्रशंसा गर्न कञ्जुस्याँई भएको पनि आरोप लगाए । उनले भने,‘आलोचना गर्नुहोस । हामी आलोचना सुन्छौं । कमिकमजोरी भएका छन् भने सच्याउँछौं । तर, सरकारले गरेका राम्रा कामको पनि प्रशंसा गर्न कञ्जुस्याई गर्नुभएन् ।’

उनले कोरोना नियन्त्रण तथा रोकथामका लागि पनि सरकारले राम्रो काम गरेको जिकिर गरे । क्वारेन्टिनहरु भद्रगोल भएको भन्ने प्रश्नमा उनले ईतिहासमै नेपालले पहिलोपटक यस्तो महामारीको सामना गरेकोले अलि अलि व्यवस्थापनमा कमजोरी भएको स्विकारे । उनले सरकारले राम्रो काम गरेकै कारण कोरोनाबाट नेपालमा मानवीय क्षति कम भएको पनि दाबी गरे ।

उनले सरकार अहिले कोरोनाले निम्त्याएको संकट समाधानको लागि दत्तचित्त भएर काममा केन्द्रित भैराखेको सुनाउँदै रोजजारी सिर्जना गर्नुपर्ने, अर्थतन्त्रलाई गति प्रदान गर्ने लगायतका महत्वपूर्ण काम गर्नुपर्ने सुनाए । सरकारको तर्फबाट काम गर्दैगर्दा केही कमिकमजोरी भए त्यसलाई सच्याईने पनि उनले विश्वास दिलाए । एमसीसी पारित हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीले भनेको स्मरण गराए । तर, यसबारेमा अहिले व्यापक छलफल भैराखेको पनि उनले स्पष्ट पारे ।

‘कसैले एमसीसी हुबहु पारित गर्न हुँदैन् भनेर भनिरहेका छन्, कोही पारित गर्नुपर्छ भनिरहेका छन् । एमसीसीजस्तो परियोजना नेपालको समृद्धिको लागि आवश्यक छ । हामीलाई ट्रान्समिशन लाईन बनाउनको लागि यो परियोजना राम्रो हुन्छ । एमसीसीलाई लिएर बाहिर भएका विरोध तथा टिकाटिप्पणी र सल्लाहलाई सरकारले सुनिरहेको छ । हाम्रो पार्टीमा पनि छलफल भैराखेको छ । प्रधानमन्त्रीले पनि एकलौटी रुपमा पास गरौं भनेर भन्नुभएको छैन् ।’

उनले एमसीसी पारित गर्नुपर्छ भन्ने जनमत नै आफूले पाएको सुनाए । उनले केही कुरा संशोधन गरेर भएपनि यो पारित हुने आफ्नो विश्वास व्यक्त गरे । ‘यो नेपालको विकास र समृद्धिको लागि उचित प्रोजेक्ट हो । स्थायी कमिटीको बैठकपछि प्रधानमन्त्री निर्णायक मोडमा पुग्नुहुन्छ । उहाँले यसबारेमा संयमततापूर्वक निर्णय लिनुहुनेछ ।’–दुगडले भने ।

वि.सं.२०७७ असार १४ आइतवार १६:१८ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...