back
NMB ad

हुस्सु र तुसारोले तरकारी बालीमा क्षती

Kumari bank ad

महोत्तरी । लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले महोत्तरीका तरकारी किसान हैरान भएका छन् ।

पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसँगै रोग बढाएपछि यहाँका किसानको हैरानी बढेको हो ।

पछिल्लोपटक गत पुस २७ गतेयता गत आइतवार मध्याह्नपछि र सोमवार मात्र घाम देखिएको थियो । त्यसपछि फेरि बाक्लो हुस्सुसँगै तुसारो बढेपछि तरकारीबालीको स्याहार केही गर्न नपाइएको यहाँका किसानले बताएका छन् ।

“खेतबारीमा बोट नै नदेखिने गरी तुसारो छ, लगातारको शीतलहरले बोट पहेँलिएका छन्, फल आफैँ कुहिएर झर्दैछ”, मौसमका कारण तरकारीको स्याहार र उपचार पनि गर्न नपाएको चिन्ताले बिरक्तिएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान रामविनोद महतोले भने, “आँखाभरि बिजोग हेरेर बस्नुपरेको छ, अब उत्पादन हात पर्ने आस मर्यो ।”

परवल, सिमी, करेला र बोडीसहितका बेला (लहरा) आफैँ पहेँलिएका र भण्टा, कोभी, टमाटरसहितका बोट क्रक्रिएर फल कालो हुँदै कुहिएर झर्ने गरेको किसान बताउँछन् ।

झारले तरकारीका बोट छोपिसक्दा पनि मौसमको प्रतिकूलताले गोडमेल गर्न नपाइएको र उपचारले काम नगरेको रामविनोदकै छिमेकी अर्का तरकारी किसान जवाहर महतो बताउछन् । “हेर्नोस् न, उ टमाटर कुहिएर बग्रेल्ती झरेका”, टमाटर बारीतिर देखाउँदै जवाहरले भने, “मौसम उघ्रेर घाम नलागी न बारी पस्न सकिन्छ, न उपचार नै काम लाग्छ ।”

यसपालि मङ्सिर अन्तिम सातामै शुरु भएको शीतलहर पुस मध्यताका हटे पनि पुसकै अन्तिम सातामा फेरि बढेको हो । माघ लागेपछि बाक्लो हुस्सु र तुसारो पर्ने क्रम रोकिने आस पनि पहिलो साता बित्दासम्म पूरा हुने छाँट नदेखिएको किसान अड्कल गर्छन् । “आइतवार दिउँसो घाम देखिँदा अबचाहिँ उघ्य्रो भन्ने परेको थियो, सोमबार त बिहानै घाम देखियो पनि” भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवार भन्छन्, “हामीले सोचेकोजस्तो किन हुन्थ्यो, सोमवार साँझैदेखि फेरि बाक्लो हुस्सुले ढाकिहाल्यो ।”

बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीको बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ । “भरसक्दो त उपचार गरियो नि १” दनुवारकै छिमेकी किसान बहुरा महतोले भने, “तरकारी खेती त गयो गयो, उपचार गर्दा गरिएको खर्चको ऋणमा समेत परियो ।” यस्तो चिन्ताबीच सरकारी निकायका कुनै कृषि प्राविधिक सल्लाह, सुझाव र सहानुभूतिकै लागि पनि नभेटिएका किसानको थप गुनासो छ । “खै कृषि हेर्ने सरकारी अड्डा त छन् भन्छन्, हाम्रो दुःख कसले बुझ्ने रु कोही हामीलाई हेर्न आउँदैनन्”, महतोले भने ।

हिउँदे तरकारीका बोटले लामो समयसम्म घामको ताप नपाउँदा उपचार नलागेको कृषि विज्ञको भनाइ छ । “दुइ-चार दिनको अघिपछि घाम देखिएको भए उपचार लाग्ने थियो, यहाँ त झण्डै बाक्लो तुसारो परिरहेको १५ दिन हुन लाग्यो”, लामो समय कृषि विज्ञको सरकारी सेवा (सहसचिव) मा रही हाल सेवानिवृत्त भएका भङ्गाहा–५ कै बासिन्दा रामबहादुर भुजेल किसानकै भनाइमा लय मिलाउँदै भन्छन्, “लगातार बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारो पर्ने क्रम रोकिएन, उपचारका लागि गरिएको प्रयत्न त्यति फलदायी भएन ।”

जिल्लाका बर्दिवास नगरपालिकाका पशुपतिनगर, बिजलपुरा, भङ्गाहा नगरपालिकाका रामनगर, राजपुर, हतिसर्वा, बलवा नगरपालिकाका धमौरा, बनौटा, गौशाला नगरपालिकाका बेलगाछी, लक्ष्मीनियाँ र भरतपुरलगायतका बस्ती तरकारी बालीका पकेट क्षेत्र मानिन्छन् ।

यी बस्तीमा पाँच हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती लगाइने गरिन्छ तर प्राकृतिक प्रकोपको निदान र खेतबारीमा सिँचाइको प्रबन्ध नहुँदा कहिल्यै ठिक समयमा बाली लगाउन, रोगको निदान एवम् उपचार गर्न नसक्दा अपेक्षित उत्पादन लिन नसकिएको तरकारी किसान दुखेसो छ ।

आफूहरुको यो मर्का सरकार र सम्बद्ध दलहरुले बुझिदिनुपर्ने किसानको माग छ । कहिल्यै समयमा बीउबिजन र मल नपाउने, सिँचाइको प्रबन्ध नहुनु, रोगव्याधि र प्राकृतिक प्रकोप निदानको पूर्वतयारी र विज्ञको अवलोकन नहुँदा आफूहरुको खेती ‘दैवकै भर’ हुने गरेको किसान बताउँछन् ।

वि.सं.२०७७ माघ ७ बुधवार ११:५६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...