काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भई ११ अर्ब ९६ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.२ प्रतिशतले वृद्धि भई १२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.५ प्रतिशतले वृद्धि भई १ खर्ब ८० अर्ब १० करोड पुगेको छ ।
२०७७ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ । चालु आवको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.९ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.६ प्रतिशत, ८९.९ प्रतिशत र २९.७ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।
वि.सं.२०७८ वैशाख २९ बुधवार १६:५१ मा प्रकाशित