Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, आश्विन ९ , २०७४  |  
Monday, September 25, 2017

यसकारण अर्बपति बनें : बिनोद चौधरी

March 5, 2016

Binod chaudhari

फोब्र्सले विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दा मेरोबारेमा एउटा टिप्पणी लेखेको छ-विनोद हु नेभर वेन्ट युनिभर्सिटी, रिमेन्स नेपाल वन्ली बिलिनियर (विनोद जो कहिल्यै विश्वविद्यालय गएनन्, जो नेपालका खर्बपती हुन्)। तपाईंहरूले जस्तै गाउनमा सजिएर मैले उच्च शिक्षा पूरा गरेको प्रमाण-पत्र लिन पाइनँ। सायद, फोब्र्सले यही कुरा दोहोर्‍याएर मलाई दीक्षान्त समारोहको महत्त्व सम्झाइरहेको होला।

तपाईंहरूका अगाडि उभिइरहँदा मलाई महसुस भएको छ- मेरो जीवनमा बाँकी रहेको यो अभाव पनि आज पूरा भयो। कलेजको शिक्षा त मैले उहिल्यै सकेको थिएँ। आज तपाईंहरूसँगै दीक्षित हुँदैछु। तपाईंहरूलाई धेरै-धेरै बधाई छ- नेपालको भोलिका बिलिनियरहरूको परिचय दिइरहँदा फोब्र्सले उनीहरू दीक्षित थिएनन् भनेर अब लेख्‍न पाउने छैन।

आजको विश्वमा को व्यक्ति कुन देशमा जन्मिएको हो? कुन परिवारमा जन्मिएको हो? वा कुन विश्वविद्यालयमा अध्ययन गरेको हो भन्ने कुराले गौण अर्थ राख्छ। सफलताको एकाधिकार कुन विश्वविद्यालयमा पढेको हो वा कुन डिग्री हासिल गरेको हो भन्नेसँग गाँसिएको हुँदैन। तपाईं के सपना देख्दै हुनुहुन्छ र त्यो सपनालाई विपनामा बदल्न कस्तो संकल्प लिनुहुन्छ भन्ने कुराको अहं महत्त्व छ। तपाईंहरूले विल गेट्स र स्टिभ जब्सको जीवनी पढ्नुभएकै छ, जसले विश्वविद्यालयको औपचारिक शिक्षा पूरा गरेनन् र पनि विश्वका सर्वाधिक सिर्जनशील सोचका उद्यमीका रूपमा पहिलो पंक्तिमा नाम लेखाए। उनीहरूको सपना र त्यसलाई कार्यान्वयन गर्ने दृढताका अगाडि दुनियाँ नतमस्तक साबित भयो। म यहाँ एकजना यस्तो व्यक्तिको नाम लिन चाहन्छु, जसको सपनाले विश्वलाई उनको पछाडि हिँडाउन सम्भव बनाएको छ। उनी हुन्- चिनियाँ नागरिक ज्याक मा. चीनको झेइज्याङ प्रान्तको हाङजोउमा उनी सामान्य परिवारमा जन्मिएका थिए। उनका बाबु-आमा परम्परागत कथा सुनाउने र बाजा बजाउने पेसामा थिए।

३३ वर्षको उमेरसम्म ज्याक माले कम्प्युटर देखेका थिएनन्। तर आज तिनै ज्याक मा इन्टरनेट बिजनेसका वादशाह अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष छन् र चीनको दोस्रो धनाढ्य। केही समयअघिको व्यक्तिगत भेटमा ज्याक माले आफ्नो इतिहास बताए- सन् १९९९ मा साथीहरूसँग ६० हजार डलर जम्मा गरेर अलिबाबा स्थापना गरिएको हो। ३३ वर्षमा कम्प्युटर देख्ने व्यक्ति इन्टरनेट बिजनेसको वादशाह बन्न त्यत्तिकै सम्भव भए होला? उनको सपना चानचुने थिएन। त्यो सपना पूरा गर्ने संकल्प पनि त्यत्तिकै दृढ। त्यसैले आज उनी विश्वका सर्वाधिक चर्चितमध्येका एक सफल उद्यमी बनेका छन्। आज तपाईंसँग सम्भावना नै सम्भावनाले भरिएको भविष्य छ। तपाईं सपना देख्नुस् र संकल्प लिनुस्। सफलता तपाईंको दास नबनी सुखै छैन। मलाई लाग्दैन, तपाईंहरूमध्ये कोही ज्याक माको भन्दा खराब पृष्ठभूमिबाट गुज्रिनु भएको होला।

म फेरि दोहोर्‍याऊँ ? तपाईं कति धनी परिवारमा जन्मिनुभयो, गरिब परिवारमा या कति कुलिन परिवारमा जन्मिनुभयो भन्ने कुराको आडम्बरले भविष्य निर्धारण गर्न सम्भव छैन। तपाईंसँग कति सिर्जनशील सोच छ र त्यसलाई कार्यान्वयन गरेरै छोड्ने धैर्य भन्ने कुराले नै तपाईंको भविष्य निर्धारण गर्छ। १५ वर्षअगाडि सन् २००० को फोब्र्स अर्बपतिको पहिलो १० जनाको सूचीमा कार्लोस स्लिम, अमानसियो ओर्टेगा, चाल्र्स कोच, डेभिड कोचहरूको नाम भेटिँदैन। तर सन् २०१५ मा आइपुग्दा उनीहरूले आफूलाई यो सूचीमा उभ्याएका छन्। त्यतिबेला यो सूची ओगट्नेहरू अहिले पछाडि पर्दै गएका छन्। नेपालमै हेरौं न, १५ वर्षअगाडि नेपालका प्रमुख औद्योगिक घराना भनेर चिनिनेहरू अहिले परिदृश्यमा पुगेका छन् भने नयाँ सोचका साथ व्यवसाय गर्नेहरू ‘फ्रन्टलाइन मा। त्यसैले तपाईंको हजुरबुबा के हुनुहुन्थ्यो वा बुबा के गर्नुहुन्थ्यो भन्ने कुराले तपाईंको भविष्य निर्धारण गर्दैन। तपाईं आफ्नो सिर्जनाले मात्रै जीवनमा नयाँ रङ भर्न सक्नुहुन्छ।

तपाईंहरूले थाहा पाइसक्नुभयो- त्यो केटा मै हुँ, विनोद चौधरी। चौधरी ग्रुपको अध्यक्ष। मसँग मनग्गे पैसा भएर यो सबै सम्भव भएको होइन। सपना देखेर मात्रै सम्भव भएको हो। जतिबेला मैले सपना देख्न सुरु गरें, त्यतिबेलाको मेरो वित्तीय हैसियत अहिले तपाईंहरूको जस्तो छ सायद्, त्योभन्दा खासै फरक थिएन। त्यसैले म फेरि भन्छु- सपना देख्नुस्। र, सपना पछ्याउनुस्। पैसाको अभावमा तपाईंको सपना मर्नै सक्दैन।

आजको विश्व तपाईंहरूकै हो। तपाईंकै पुस्ताको हो। अझ प्रस्ट रूपमा भनूँ, तपाईंहरूको सिर्जनशीलता (इनोभेसन) को हो। तपाईंहरूका समकक्षी ३० वर्षभन्दा कम उमेरका युवाको सिर्जनशीलताले संसार हल्लाइरहेको छ। मैले देखिरहेको छु, अहिले मलाई सुनिरहँदा पनि तपाईंहरू यस कार्यक्रमका गतिविधि फेसबुक र ट्विटरमा अपडेट गरिरहनुभएको छ। तपाईंका औंला मोबाइलको कि-प्याडमा दौडिरहेका छन्, गुगलमा कुनै सामग्री खोज्न। तपाईंहरू जस्तै विश्वविद्यालयको कलिलो विद्यार्थी मार्क जुकरवर्गले फेसबुकको सिर्जना गरी अर्बपतिको पहिलो लहरमा नाम लेखाउँदा उनी जम्मा २३ वर्षका थिए।

आज विश्वका एक अर्बभन्दा धेरै मानिस बरु एक छाक छोड्न तयार होलान् तर फेसबुक छोड्न तयार छैनन्। इन्टरनेट सर्च इन्जिनको वादशाह गुगलको स्थापना गर्दा यसका संस्थापक लारी पेज २५ वर्ष र सरगेई ब्रेन २४ वर्षका मात्रै थिए। इन्टरनेट दुनियाँमा उनीहरूले जबर्जस्त शासन गरिरहेका छन्। आज पनि उनीहरू भ्लादिमिर पुटिन, बाराक ओबामा, सी जिनपिङसँगै विश्वका सर्वाधिक शक्तिशाली १० व्यक्तिको हैसियत राख्छन्। यसको अर्थ हो, आजको दुनियाँलाई काबुमा राख्न रसिया, अमेरिका वा चिनियाँ राष्ट्रपति नै हुनुपर्छ भन्ने होइन रहेछ। नयाँ सिर्जनाले पनि उनीहरू बराबरकै हैसियत राख्न सकिन्छ।

कुरा अमेरिका, युरोपको मात्रै होइन, हाम्रा छिमेकी मुलुक चीन र भारतमा ३० वर्षभन्दा कम उमेरमा कर्पोरेट दुनियाँमा आफूलाई स्थापित गर्नेहरूको सूची निकै लामो छ। विवेक नायर र कुनाल शाह यस्तै दुई भारतीय युवा हुन्, जसले ३० वर्षभन्दा कम उमेरमा दमास्कस फोर्चुनको कार्यकारी र गोल्डम्यान स्याक्सको प्रबन्ध निर्देशकका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। चाई की, चेन फाङवी, गावो पेङछेङ जस्ता ३० वर्षभन्दा कम उमेरका युवाले चीनका चर्चित इन्टरनेट टेक्नोलोजी कम्पनीका कार्यकारी प्रमुखको हैसियत राख्छन्। ख्याल राख्नुस्, अधिकांश युवाको सफलता सूचना प्रविधिका क्षेत्रमा निकै लोभलाग्दो छ। फोब्र्सको एक वाक्य म यहाँ उल्लेख गर्न चाहन्छु- तपाई संसार परिवर्तन गर्न चाहानुहुन्छ भने तपाई तीस वर्षको कम उमेरको हुनु सकारात्मक हो। यो मौका नेपाली युवाले गुमाउनुपर्छ भन्ने केही छ र? ‘तपाईंले यो मौका गुमाउनु भएन?’, मलाई यो प्रश्न सोध्न चाहिरहनु भएको छ भने मेरो उत्तर हुनेछ- अहँ गुमाइनँ।

म तपाईंहरूसँग मेरो जिन्दगीको बारेमा बताउनुअघि एउटा कथा सुनाउन चाहन्छु, ‘सपना’ शीर्षकमा। काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो। ऊ आफूलाई काठमाडौंको रैथाने मान्थ्यो, नेवारी भाषा पनि फररर बोल्ने। तर केही मानिसहरू उसलाई रैथानेको दर्जा दिन हिच्किचाउँथे, कतै आफ्नै भाग खोस्ने हो कि जस्तैगरी। उसका हजुरबुबाले न्युरोडमा एउटा कबल भाडा लिएर कपडा पसल चलाउँथे। बाबुले त्यसलाई डिपार्टमेन्टल स्टोरमा रूपान्तरण गरे, अरुण इम्पोरियम नाममा। बाबु चाहन्थे, छोरो त्यही स्टोरभित्र बसेर हिसाबकिताब दुरुस्त राखोस्। तर छोरो भने डिपार्टमेन्टल स्टोरलाई कसरी देशकै सबैभन्दा प्रख्यात स्टोर बनाउने भन्ने सपना देख्थ्यो। उसले अरुण इम्पोरियमलाई त्यो तहमा पु:याएरै छोड्यो। बाबु चाहन्थे, छोरोले डिपार्टमेन्टल स्टोर धानेर बसोस्, तर छोरो भने डिपार्टमेन्टल स्टोर त छँदैछ नि अब डिस्को खोल्नुपर्छ भन्ने सपना देख्थ्यो र दरबारमार्गतिर दौडिन्थ्यो।

आखिर उसले कपर ल्फोर नामको डिस्को खोलेरै छोड्यो। केटोले भर्खर १८ वर्षमा टेकेको थियो, बाबुलाई ‘हर्ट अट्याक’ ले कमजोर बनायो। उसले पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुप:यो। त्यसपछि उसले एकपछि अर्को सपना देख्न थाल्यो। यही विराटनगरमा पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिललाई उसले व्यावसायिक ढंगले अगाडि बढायो। एक दिन उसले अलि फरक सपना देख्यो, नेपालमा नुडल्स फ्याक्ट्री स्थापना गर्ने। जबकि त्यतिबेला नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम थिए। उसले वाईवाई नामको नुडल्स फ्याक्ट्री खोलेरै छोड्यो। वाईवाई कति लोकप्रिय बन्दै गयो भने विश्व नुडल्स बजारमा अहिले दुई प्रतिशतको हिस्सा ओगटेको छ। विश्वका ३२ देशमा यसका उपभोक्ता छन्।

२०५० सालको दशकमा माओवादी द्वन्द्व उत्कर्षतर्फ लम्किँदै थियो। लगानीकर्ता नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै यहाँबाट कुलेलम ठोक्दै थिए। त्यहीबेला केटाले अर्को सपना देख्यो-नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको औद्योगिक ग्राम बनाउन सम्भव छ भन्ने। उद्यमी व्यवसायीका नेताहरू सुरक्षा घेरामा रहेर काठमाडौंका पाँचतारे होटेलमा नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै भाषण गरिरहेका हुन्थे, त्यो केटो भने नवलपरासीमा ८० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बसाल्न दिनरात खटिइरहेको थियो। माओवादी द्वन्द्व जति चर्किंदै थियो, औद्योगिक ग्राममा पनि एकपछि अर्को उद्योग थपिँदै थिए। आखिरमा त्यो केटोले दक्षिण एसियाको एउटा नमुना औद्योगिक ग्राम निर्माण गर्ने सपना पूरा गरेरै छोड्यो। त्यहाँ अहिले एउटै कम्पाउन्डभित्र व्यवस्थित रूपमा दर्जनभन्दा धेरै उद्योग दिनरात चलिरहेका छन्। अहिले उक्त औद्योगिक ग्रामको स्याटेलाइटहरू पूर्वमा इनरुवा र पश्चिममा बर्दियामा बनाउने सपना कार्यान्वयन भइरहेको छ।

एक रात केटाले झनै फरक सपना देख्यो- नेपालमा विदेशी लगानीकर्ता आएर लगानी गर्न हुन्छ भने नेपालीले विदेशमा गएर लगानी गर्न किन हुँदैन? यो सपनाले केटालाई दिनरात पिछा छोडेन। आखिर उसले निर्णय लिएरै छोड्यो- विदेशी लगानीकर्ता नेपालमा आउन हुन्छ भने नेपाली पनि विदेशमा जान हुन्छ। उसले त्यो दिन बुझ्यो- सपनाको कुनै सीमा हुँदैन। त्यसपछि उसले नेपालमा लगानी विस्तार गरी नै रह्यो र विदेशका सम्भावना पछ्याउन थाल्यो। आज उसले अमेरिकाको जोन अफ केनेडी इन्टरनेसनल एअरपोर्टको अगाडि सानदार :याडिसन होटेल चलाइरहेको छ। ताज ग्रुपसँगको सहकार्यमा भारत, माल्दिभ्स, श्रीलंकालगायतका मुलुकमा विश्वविख्यात होटेलमा साझेदारी गरिरहेको छ। होटेल रिसोर्टमा उसले अहिले ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ नामक आफ्नै अन्तर्राष्ट्रिय ब्रान्ड स्थापित गरिसकेको छ, जसको एसियादेखि अफ्रिकासम्म विस्तार भइरहेको छ। होटेल एन्ड रिसोर्ट विस्तारका लागि ऊसँग मिसन- २०२० तयार छ, सन् २०२० सम्ममा विश्वमा दुई होटेल स्थापना गर्ने। त्यो मिसन रफ्तारमा कार्यान्वयनमा छ।

आज ऊसँग पाँचै महाद्वीपमा फैलिएका एक सय ५६ कम्पनी र विश्वविख्यात ८६ ब्रान्ड छन्। सन् २०१३ को मार्चमा फोब्र्सले घोषणा ग:यो- ऊ अब एक मात्र नेपाली डलर अर्बपति बन्यो। तपाईंहरूले थाहा पाइसक्नुभयो- त्यो केटा मै हुँ, विनोद चौधरी। चौधरी ग्रुपको अध्यक्ष।

मसँग मनग्गे पैसा भएर यो सबै सम्भव भएको होइन। सपना देखेर मात्रै सम्भव भएको हो। जतिबेला मैले सपना देख्न सुरु गरें, त्यतिबेलाको मेरो वित्तीय हैसियत अहिले तपाईंहरूको जस्तो छ सायद्, त्योभन्दा खासै फरक थिएन। त्यसैले म फेरि भन्छु- सपना देख्नुस्। र, सपना पछ्याउनुस्। पैसाको अभावमा तपाईंको सपना मर्नै सक्दैन।

व्यवसायका क्रममा म विश्वका विभिन्न देशका सहरहरूमा पुगिरहन्छु। प्राय: सबै सहरमा नेपालीसँग भेट हुन्छ। जब ती नेपाली मलाई भेट्छन्, उनीहरूका अनुहारमा भिन्न प्रकारको उत्साह, जाँगर र आत्मविश्वास भरिएको देख्छु। म उनीहरूको मनोभावना पढ्ने कोसिस गर्छु। सायद, उनीहरूको मनले भनिरहेको हुँदो हो- हामी नेपाली पनि कहाँ कम छौं र? नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका कर्पोरेटहरूसँग दाँज्न मिल्ने कर्पोरेट हाउस जन्मिसकेको छ। जब मैले विश्वभर छरिएका नेपालीको अनुहारमा यो भावना पढ्न पाउँछु, विश्वको सबैभन्दा उच्च महत्त्वको पुरस्कार पाएसरह खुसी हुन्छु।

आज मलाई तपाईंहरूसँग एउटा कुरा माग्न मन छ, के तपाईंहरू दिन तयार हुनुहोला? मिल्छ भने मलाई तपाईंहरू उमेर सापटी दिनुस्न, साँच्चै भनूँ, मलाई अर्को ४० वर्ष यसैगरी द्रूतगतिमा कुद्ने मन छ ताकि नेपालको आर्थिक विकासमा कायापलट गर्न सकियोस्। तर तपाईंहरू चाहेर पनि उमेर सापटी दिन सक्नुहुन्न होला? मलाई दिन नमिल्ने यस समयलाई तपाईंहरू आफैंले उपयोग गर्न त सक्नुहुन्छ नि। वास्तवमा मलाई तपाईंको उमेर सापटी चाहिएको होइन, तर तपाईंबाट आफ्नो यस स्वर्णिम समय खेर फाल्ने छैन भन्ने प्रतिबद्धता भने पक्कै चाहिएको हो। तपाईंहरू आज मसँग यो प्रतिबद्धता व्यक्त गर्न सक्नुहुन्छ, हैन?

(उद्योगपति चौधरीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा गरेको अन्नपूर्ण पोष्टमा प्रकाशित भाषण।)

Nawal gm
March 12, 2016 at 9:46 pm

Thank u Mr.Chaudhary for your inspiring words.I my self is a ceo of Gorkha Group n trying to do something in Dang by yr inspiration.

Reply
Nawal gm
March 12, 2016 at 9:53 pm

Yr words are always inspiring!!!

Reply
Raj sahani
July 15, 2016 at 4:22 pm

Tapaelai hand shop x sir, hami sampurn Nepali tapae mathi garv garxau ki sampurn Nepliko shir thado banaunu aayko ma r Nepal r sampurn Nepali lai bisaw samu chinaulai tapaelai muri muri dhanybad x sir tapaelai, tapaeko jun shrijanashil soch, bichar laganshilta mehant lai hami sampurnlai Nepali ko tarfbat r bisesh gari ma aafano begtigat tarfbat tapaelai dherai ………………………………………..dherai bad ae r dhaybad sir ma pani hajur ko bicharbat parvabit vay ma pani sapana dekhadai xu r sapanalai paxaudai xu thank u very much sir

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु