काठमाडौ। सन् २०१७ को पहिलो चन्द्रग्रहण आज सोमबार लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ ।
यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न नहुने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । तर, बालक, जेष्ठ नागरिक र बिरामीलाई भने भोजन बर्जित हुनेछैन ।
ग्रहणमा के-के नगर्ने ?
चन्द्रग्रहण लागेको बेला मांगलिक कार्य गर्नु हुँदैन । चन्द्रग्रहणमा गरेको मांगलिक कार्यबाट फल प्राप्त नहुने धार्मिक विश्वास छ । त्यसैले आज परेको जनैपूर्णिमा यही साउन १३ गते नागपञ्चमीकै दिन मनाइसकिएको छ ।
ग्रहणको पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।
ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।
प्रकाशित मितिः२०७४ साउन २३
वि.सं.२०७४ साउन २३ सोमवार १०:५३ मा प्रकाशित