दैलेख र कालिकोटको सीमानामा रहेको कालीखोलातिर यहाँले जाने मौका पाउनु भएकोछ भने त्यहाँ यो दृश्य देख्नुहुनेछ । दुई बृद्धा आमाहरु आफूले पुस्तौंदेखि बस्दै आएको ओडारमा होटल संचालन गरिरहेका छन् । यहाँ खाना खान आउनेहरु पनि सन्तुष्ट देखिन्छन् ।
उखान नै छ, ‘जहां ईच्छा त्यहां उपाय’ यो जांगरिलाहरुको जिब्रोमा झुण्डिएको बोलिबचनको थेगो जस्तै बनेको पाइन्छ । सक्रिय जीवनका लोभलाग्दा संभावनाहरु वा सकारात्मक र प्रेरणादायी कामहरु यी आमाहरु जस्तै जाँगरीला व्यक्तित्वहरुले देखाउने गरेका छन् ।
उमेरले नब्बे र अस्सी काटेका बृद्धा आमाहरु सांच्चै सम्मान गर्न लायक स्वाबलम्वी देखिए । नब्बे काटेकी आमालाई यो ओडारको औधी माया लाग्छ रे । यस स्थानमा उनीहरुको पुर्ख्यौली सम्वन्ध पनि जोडिएको रहेछ । नब्बे काटेकी आमालाई पनि थाहा छैन यो अडारको पुस्तौनी इतिहास ! मात्र उनीहरुले यस स्थानलाई पैतृक सम्पतिका रुपमा स्वकार गरिरहेका छन् ।
घाँस दाउरा र मेलापात गर्न नसक्ने भएकाले गामबाट सडक छेउमा भएको पुर्ख्यौली ओडारमा उनीहरु झरेका हुन् । त्यसपछि आफ्नै पौरखले बाँच्नका लागि जोहो गरिरहेका छन् । यी दुई बृद्धाहरुले चलाएका होटलमा चिया खाजा खान आउनेहरु पनि आमाको प्रशंसा गरेर थाक्दैनन् । आफूले सकिन्जेल कसैको भार बन्न हुँदैन भन्ने राम्रोसँग बुझेका यी आमाहरु आफ्ना हातखुट्टा चलुन्जेल आफ्नो जीवनलाई आफै डो¥याउन चाहन्छन्, कसैको अगाडि हात फैलाउन चाहन्नन् ।
अक्कल भएका र हातखुट्टा चल्दै गरेका बृद्ध उमेरका धेरैजसोले अरु केही गर्न नसक्दा बाख्रा पालेका पनि देखेकी छु मैले । उनीहरुको बिचारमा बाख्राको स्याहार गर्न खासै समस्या नपर्ने, वरपरका पात पराल र घरकै खेर गएको खानेकुराले नै पेट भरिने हुनाले आम्दानीको सजिलो बाटोको रुपमा बाख्रा पालनलाई लिएको समेत पाएकोछु ।
यी बृद्ध आमाहरुको अनुसार आफ्नै पौरखमा बांच्न कोशीश गर्नेलेपरिवारमा समेत मान सम्मान पाउने गर्दछ । यो उहांहरुको आफ्नै अनुभव हो ।
आत्मनिर्भरका स–साना प्रयासले पनि आफ्नो जीवनमा आमूल परिवर्तन ल्याउने कुरामा सबैले हेक्का गर्नुपर्दछ भन्ने गर्दछन् यी आमाहरु । आफुहरु केही गर्न नखोज्ने तर घर परिवारले यस्तो गरे, उस्तो गरे भन्दै गाउंमा कुरा सुनाएर दिन बिताउनेहरुलाई सकुन्जेल आफ्नै पाखुरी चलाएर बाँच्नु पर्ने बताउँछन् यी आमाहरु ।
उहांहरुका बिचारमा पौरखीहरु कुरा कम गर्न रुचांउछन भने अल्छीहरु आफ्ना बारेमा कमै सोच्ने र अरुका टिका टप्पणीहरु बढी गर्ने स्वभावका देखिन्छन् । क्षमता र ठाउं अनुसार सबैले केही न केहि यसै गरी गर्नेहो भने बुद्धी नभएका सन्तानले पनि दुहुनु गाई सम्झेर कही न कही अटाउने ठाउ बनाउछन भन्छन्, यस्ता हिम्मत भएका बृद्धाहरु ।
त्यसकारण परिवारले यो गरेन र उ गरेन भन्नु भन्दापनि सकुन्जेल आफैले केही गर्नुपर्छ भन्ने मान्यताले आफूहरुको शरीरलाई शक्ति प्रदान गरिरहेको यी आमाहरुले बताए । यी बृद्धाहरुबाट काम पाइन वा गरिखान मेसो पाइन भन्नेहरुले पनि केही पाठ सिक्ने हो की ???
शारदा कँडेल
२८ असार २०७३, ५।००
वि.सं.२०७३ असार २८ मंगलवार २३:०२ मा प्रकाशित