Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017

यसकारण बैंकमा पैसा आउन सकेन : विश्लेषण

प्रा.डा पुष्पराज कँडेल

December 22, 2016

Pusparaj kandel pps ize pic

करिब ७ वर्षपछि नेपालको वित्तीय प्रणालीमा तरलता संकुचन देखिन थालेको छ । बैंकसँग नयाँ कर्जा दिन पर्याप्त पैसा छैन । निक्षेपको वृद्धिभन्दा कर्जाको वृद्धिदर लामो समयदेखि दोब्बर अन्तरले बढिरहेको छ । कर्जाको मागमा कमी नआएको, तर निक्षेपको वृद्धि सुस्ताएकाले वित्तीय प्रणालीमा तरलता अभाव देखिएको हो । यो अवस्था लामो समय कायम रहने हो भने अर्थतन्त्रमा धेरै नकारात्मक परिणाम निम्त्याउने आँकलन विश्लेषकले गरेका छन् । तरलता अभाव किन हुँदै छ र यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भन्नेबारे टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा. पुष्पराज कँडेलले यसरी बताए :

  • न्यून सरकारी खर्च र नोटबन्दी

सरकारको विकास खर्च कम भयो । त्यसले गर्दा पैसाजति सरकारी ढुकुटीमै थन्किएर बस्यो । जनताको हातमा पैसा जान पाएन । जनतासँग पैसा पुगेको भए त्यही पैसा बैंकमा फर्किएर आउने थियो । त्यसो हुन नसकेपछि बैंकमा जम्मा हुने पैसा कम भयो । निक्षेप कम आएपछि बैंकले लगातार कर्जा बढाइरहन सकेनन् । अहिले त्यही समस्या देखिएको हो । अर्को कुरा भारतीय नोटबन्दीले पनि काम गरेको छ । यसले बजारमा शंका र त्रास पनि जन्माएको छ । नोटबन्दीले नेपालमा आर्थिक क्रियाकलाप कम गराएको छ । हाम्रो अर्थतन्त्रको करिब एकतिहाइ अनौपचारिक अर्थतन्त्र कायम छ भन्ने अध्ययनले देखाएको छ । त्यस्तो आर्थिक क्रियाकलाप बन्द हुँदा वित्तीय प्रणालीमा आउने निक्षेपको वृद्धिलाई प्रभावित पारेको छ । बजारमा पैसै नभएको स्थिति त होइन । लगानी पनि भइरहेको छ । तर, जति मात्रामा चाहिने हो, त्यति मात्रामा छैन भन्ने हो ।

  • राजनीतिक अस्थिरता

हामीले खुला सीमा राखेर उदार अर्थतन्त्रको अभ्यास गरिरहेका छौँ । देश सानो छ र अर्थतन्त्र पनि सानो छ । आर्थिक वृद्धि कम छ । राजनीतिक अस्थिरता छ । लगानीको वातावरण बन्न सकेको छैन । सरकारको खर्च गर्ने क्षमता पनि सधैँभरि कमजोर हुँदा यसले नयाँ पुँजी सिर्जना गर्नमा अवरोध पुर्‍याइरहेको छ । निजी क्षेत्रको क्षमता चाहेजस्तो बढ्न सकेको छैन । विदेशी सहायताको परिचालनमा पनि कैयौँ समस्या छन् । राजनीतिक अस्थिरताले यी सबै समस्यालाई अझ लम्ब्याउँदै लगेको छ । राजनीतिक वृत्तमा देखिएको टकराव र यसकै कारण सिर्जित समस्याले जनतालाई बजार प्रणालीप्रतिको विश्वास कम गराएको छ । राजनीतिक द्वन्द्वले बैंकमा पैसा राख्नुभन्दा आफूसँगै राख्नु वेश हुन्छ भन्ने धारणा पनि बलियो बन्छ । त्यसकारण राजनीतिक अस्थिरताले पनि बैंकिङ प्रणालीमा तरलता घटाउन सहयोगी भूमिका खेलेको छ । यो अवस्था लामो समयसम्म कायम रह्यो भने अर्थतन्त्रलाई दूरगामी असर गर्न सक्छ । अर्थतन्त्रलाई राजनीतिले कसरी डोर्‍याउँछ भन्ने सबै लगानीकर्ताको चासोको विषय हुन्छ । जहाँसुकै लगानी गर्नेले पनि राजनीतिक वातावरणलाई सबैभन्दा पहिले नियाल्छ । आफ्नो खल्तीको पैसा कसैले पनि हावामा उडाउनका लागि लगानी गर्दैन । त्यो जोखिम लिन लगानीकर्ताले अर्थ राजनीतिक वातावरणलाई नियाल्छ ।

  • सेयर र घरजग्गा कारोबार

सेयरबजार एउटा उच्च बिन्दुमा पुगेर ओरालो लाग्न थालेको छ । घरजग्गा कारोबार पनि एउटा चक्रमा एकपटक माथि जाने र केही समय स्थिर रहने गरेको छ । अहिले यो बढ्दो क्रममा छ । वित्तीय प्रणालीमा तरलता अभाव हुँदा यी क्षेत्रमा गएको कर्जामध्ये केही फर्किन सक्छ । तर, अहिले सेयरबजार उचाइमा पुगेर ओर्लिन थालेकाले मानिसको आकर्षण सेयरबाट घरजग्गातिर स्थानान्तरण भएको छ । हिजो बढेको सेयरबजारमा मान्छेले धेरै पैसा कमाए । त्यो पैसा अहिले घरजग्गामा लगानी गर्न थालेका छन् । यसले घरजग्गा कारोबार बढ्दो क्रममा देखिन्छ । बिस्तारै घरजग्गा कारोबार पनि स्थिरतातिर जान सक्छ । सेयरबजारलाई राजनीतिक स्थिरताले पनि धेरै अर्थ राख्छ । भोलिका दिनमा राष्ट्रिय राजनीति कता जान्छ भन्ने कुराले सेयरबजारमा असर पार्ने हुन्छ । यसलाई वित्तीय प्रणालीले भन्दा राजनीतिले बढी प्रभावित पार्ने गरेको देखिन्छ ।

  • पुँजी वृद्धिको प्रभाव

बैंकको चुक्ता पुँजी बढाएपछि लगानी क्षमता बढ्ने होइन कि जोखिम वहन गर्ने क्षमता मात्रै बढ्छ । त्यसै आधारमा ठूला परियोजनामा लगानी गर्ने बैंकको आँट बढ्छ भन्ने मान्यतामा पुँजी बढाइएको हो । ऋण मात्रै लिएर धेरै लगानी गर्न सकिँदैन । आफ्नो पुँजी भएमा ठूला पूर्वाधार परियोजनामा लगानी गर्न पनि बैंकलाई सजिलो पर्छ भन्ने आशा गरिएको थियो । अहिले बैंकको जोखिम वहन गर्ने क्षमता केही बढे पनि पर्याप्त तरलता नहुँदा लगानी गर्ने क्षमता भने पर्याप्त बढ्न नसकेको देखियो । हिजो मानिसले  बैंकमा निक्षेप राखेका थिए । अहिले त्यो सेयरमा लगानी गर्नुपर्ने भयो । हकप्रद, एफपिओजस्ता नयाँ सेयर किन्नुपर्दा मानिसले बैंकबाट पैसा बाहिर निकाल्ने र त्यसको कारोबार शृंखलाले तरलता कम गर्न सहयोग गरिरहेको हुन सक्छ । निक्षेपको पुँजीकरण हुँदा यस्तो रकम भने घट्न पुग्यो । यसरी पुँजी वृद्धिका कारणले पनि वित्तीय प्रणालीमा तरलता अभाव हुन सहयोग गरेको छ ।

  • पुँजी पलायन, रेमिट्यान्स र व्यापार घाटा

अहिले पनि नेपालबाट पुँजी पलायन भइरहेको छ । अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक ९छाया० अर्थतन्त्रको रूपमा चलिरहेको छ । यस्तो बजारमा पैसा आउने र जाने क्रम जारी नै रहन्छ । रेमिट्यान्सस“ग तुलना गर्ने हो भने हाम्रो निक्षेप निकै कम छ । विदेशमा काम गर्ने अधिकांश नेपालीको औसत बचत दर नै निकै कम भएकाले यस्तो अवस्था आएको हो । बचत दर कम भएपछि निक्षेप पनि घट्छ । अहिले त रेमिट्यान्स पनि पहिलेजस्तो उच्च दरमा बढ्न सकेको छैन । यसले पनि वित्तीय प्रणालीमा तरलता अभाव सिर्जना गरेको छ । व्यापार घाटा बढ्दा ठूलो रकम उपभोगमा भुक्तानी भएको छ । बैंकमा आएको ठूलो पैसा बिदेसिएपछि हाम्रो प्रणालीमा निक्षेप कम हुनु स्वाभाविक हुन्छ । यस्तो समस्याले पनि तरलता अभावलाई सहयोग पुर्‍याइरहेको छ ।

  • दीर्घकालीन प्रभाव

लामो समयसम्म बैंकिङ प्रणालीमा तरलता अभाव कायम रह्यो भने लगानी कम हुन्छ । त्यसको साथै ब्याजदर बढ्छ । उच्च ब्याजदरमा लगानी गरेर उत्पादित वस्तुले बजारमा मूल्य प्रतिस्पर्धा गर्न सक्दैन । लागत बढ्दा कतिपय अवस्थामा लगानी निरुत्साहित पनि हुन सक्छ । परियोजनालाई खर्च धान्न कठिन हुन्छ । यस्तो अवस्थाले रोजगारी सिर्जना हुन सक्दैन । नयाँ रोजगारी सिर्जना हुन सकेन भने अर्थतन्त्रको विस्तार हुन सक्दैन । मानिसको जीविकोपार्जनमा पनि कठिनाइ उत्पन्न हुन्छ । हामी अहिले ठूला पूर्वाधार निर्माणको चरणमा छौँ । अझै पनि राज्यको तुलनामा निजी क्षेत्रको पूर्वाधारमा लगानी क्षमता कमजोर छ । तथापि, अर्थतन्त्रलाई चलायमान बनाउनेचाहिँ निजी क्षेत्रले नै हो । ब्याजदरको वृद्धि र तरलता अभावले निजी क्षेत्रमा जाने कर्जा अवरुद्ध हुन सक्छ । निजी क्षेत्रको सानोतिनो लगानी पनि अवरुद्ध हुँदा अर्थतन्त्रको गति नै धिमा हुन पुग्छ । यसरी तरलता अभावले अर्थतन्त्रमा नकारात्मक असर नै पार्छ ।

  • मुद्रास्फीति

तरलता अभावले मुद्रास्फीति ९औसत मूल्य वृद्धि०लाई कम गर्न सघाउ पुर्‍याउँछ । पैसा अभाव हुने भएकाले मान्छेले माग बढाउन सक्दैनन् र वस्तुको मूल्य बढ्न सक्दैन भन्ने मान्यता हुन्छ । तर, हाम्रो अर्थतन्त्र तुलनात्मक रूपमा निकै सानो र आयातमुखी भएका कारण हामी आफैँ मूल्य निर्धारण गर्न सक्दैनौँ । अरूले थोपरिदिएको मूल्यमा हामीले सामान खरिद गर्नुपर्ने व्यापार चक्रका कारण हामीलाई आफ्नो वित्तीय प्रणालीभित्र हुने परिवर्तनले खासै अर्थ राख्दैन । मूल्य वृद्धि फाइदा कि बेफाइदा भन्ने कुरामा तर्क गर्‍यो भने यो दुवै हो । मूल्य वृद्धिले फाइदा पनि छ, बेफाइदा पनि छ । मूल्य वृद्धि चुलियो भने मानिसको आम्दानीभन्दा खर्च निकै बढ्न सक्छ । त्यस्तो अवस्थाले जीविकोपार्जनमा नै गम्भीर असर पार्न सक्छ । मूल्य वृद्धि निकै कम भयो भने पनि उत्पादकहरूले आफ्नो आम्दानी बढाउन सक्दैनन् ।

स्रोत : enayapatrika.com

७ पुस २०७३

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु