मोटरका पार्टपूर्जा लगायतका विभिन्न उपकरणको व्यापार गर्दे आएको म्याक्स भिजन लिमिटेडले आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । यस प्रक्रियाका लागि कम्पनीले एन आई सी एसिया क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ५ करोड बराबरको ५ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी थालेको हो ।
मंगलबार दुई कम्पनीबीच सेयर निष्काशन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एन आई सी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा म्याक्स भिजन लिमिटेडका अध्यक्ष केशव प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।
हाल सेयरबजारमा बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत कम्पनीको मात्र साधारण शेयरहरुको धितोपत्र निष्काशन भइरहेको बेला व्यापार मुलक कम्पनी सेयरबजारमा भित्रन खोज्नु सकारात्मक पक्ष भएको एन आई सी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको भनाई छ ।
क्यापिटलले म्याक्स भिजन जस्तै अन्य इच्छुक निजि क्षेत्रका कम्पनीहरुलाई पनि सर्वसाधारणमा शेयर निष्कशन गर्न प्रोत्साहन गर्न सोही अनुरुप बिशेष पहल गरिरहेको खनालले बताए ।
म्याक्स भिजन लिमिटेडका अध्यक्ष केशव प्रसाद श्रेष्ठले आइपीओ जारी गर्न कम्पनीले पुरा गर्नुपर्ने प्रारम्भिक प्रक्रियाहरु पुरा गरेको जानकारी दिदै अर्को साता धितोपत्र बोर्डमा आवेदन दिने र छिट्टै सेयर निष्काशन गरिने बताए ।
प्रकाशित मितिः २०७३ बैशाख ६
वि.सं.२०७४ वैशाख ६ बुधवार ११:३६ मा प्रकाशित