back
NMB ad

युरोपमा शिशिरको जाँतो जस्तो जिन्दगी !

Kumari bank ad

शिक्षण पेशामा आवद्ध शिशिर बिहान देखि बेलुका सम्म ब्यस्त छ । शिशिर भाइ बहिनी सँग काठमाण्डौंमा बसोबास गर्छ । काठमाण्डौंको भाइ बहिनीले खाने बस्ने सबै खर्चको केन्द्र बिन्दु शिशिरको आयस्रोत हो । अनि गाउँमा आमा बुबाको औषधी उपचार पनि शिशिरको आम्दानी नै हो ।

शिशिर परिश्रमी, जेहन्दार अनि आफ्नो पेशाप्रति निष्ठावान छ । जति नै ब्यस्त भए पनि अलिकति समय निकालेर अनलाइन बस्ने, फेसबुकमा राखेका फोटाहरु हेर्ने, लाइक कमेन्ट गर्ने उसको रुचिको बिषय हो ।

शिशिरका केही साथीहरु युरोपमा छन्, कोही अमेरिकामा छन् । कहिलेकाँही युरोपका साथीहरुको मनमोहक दृश्यले भरिएको फोटाहरु हेर्दा शिशिरको मन पनि हावाले पिपलको पात फर्रफराएको जस्तै हुन्थ्यो ।

सधैं जसो आफ्नो मनलाई नियन्त्रणमा राख्ने उसलाई यस पटक चाहिँ आफ्नो मनलाइै नियन्त्रणमा राख्न निकै गाह्रो परेको छ । दुई चार दिन देखि उसको मनलाई युरोपको सपनाले फलामलाई चुम्बकले ताने जस्तै तानिरहेको छ ।

विवाह गर्ने, भाइबहिनीलाई पढाउने, बुवा आमालाई औषधि उपचार सबै परिपुर्ति गर्नाको लागि आर्थिक स्थिति मजबुत चाहिन्थ्यो । तर शिशिरले जति परिश्रम गरे पनि उसलाई खर्च धानेर महिना कटाउन धौ धौ पथ्र्यो । यो अवस्थाले उसलाई निर्णय लिन सघाउ पुर्यायो । पाँच बर्ष युरोप गएर दुःख गर्ने, परिवारलाई युरोपबाट खर्च पठाउने अनि केही बचत गरेर नेपाल आएर विवाह गर्ने !

सपना देख्नलाई त के भयो र ? देखिहालिन्छ, यसको कुनै नियम हुँदैन । दिउसो सपना देख्न थाल्यो शिशिरले । उसले आफ्ना सबै सपना र योजना बुवा आमालाई सुनायो । अब शिक्षक अनि परिपक्व छोराले भने पछि बुवा आमाले नमान्ने कुरै भएन । उसले सहजै अनुमति पायो ।

हुन पनि अहिलेको युवाहरुको जीवन निर्वाहको अर्को विकल्प भनेको वैदेशिक रोजगार पनि हो । केही समयको अथक प्रयास पछि शिशिरको युरोप को भिसा लाग्यो । उसले आफूले शिक्षण पेशा अंगालिरहेका क्याम्पसहरु क्रमिक रुपमा छोड्न थाल्छ । केही समय साथीहरू आफ्न्तहरुसँगको भेटघाट अनि किनमेल सकेर शिशिर आफ्ना डिग्रीका प्रमाण पत्र गुटमुटु बनाएर युरोप उड्छ ।

शिशिरको मिल्ने साथी युरोपमै थियो । त्यही भएर उसको साथीले आफ्नो व्यस्त समयबाट बल्ल बल्ल समय निकालेर शिशिरलाई लिन विमानस्थलमा पुग्छ । शिशिर रंगीचंगी र छुट्टै संसार देखेर दंग हुन्छ । त्यहाँबाट कोठामा शिशिरलाई छोडेर ऊ काममा जान्छ । त्यतिबेला शिशिरलाई नराम्रो लाग्छ, ऊ मनमनै दुःखी हुन्छ । म भने सात समुद्र पार गरेर यहाँ आएँ, यो भने म आएको दिन पनि काममा जान्छ भन्ने सोच्छ । तर, उसलाई के थाहा बिदेशमा जति बेला पनि कामको चटरो हुन्छ । त्यहाँ नेपालको जस्तो १० देखि ५ भन्ने हुँदैन । अनि सिलौटोमा लोहोरो घोटिए जस्तै गरी घोट्ने बाध्यता ! शिशिरलाई के थाहा विदेशमा जीवन रंगीचंगी देखिएको सपना जस्तो सन्दर हुँदैन, गमला सजाएर राखिएको सुन्दर फूल जस्तो हुँदैन ।

तर शिशिरलाई यो थाहा पाउन धेरै समय लाग्दैन । दुई चार दिन युरोप बसाइँमै उसले पनि थाहा पायो कि उसले देखेका सपनाहरु त धेरै टाढा थिए, बालुवाका घर जस्तै थिए । अब उसले आफ्नो संघर्षलाई अगाडि लग्नु पर्ने छ । काममा प्रवेश गर्नु अगाडि भाषा, सीप सिक्नुछ, सबैभन्दा पहिले त कामलाई पूजा गर्न सिक्नुछ । कुनै पनि कामलाई सानो ठूलो भनेर भेदभाव गर्नु हुन्न भन्ने सिक्नुछ । त्यो विरानो देशमा उसका डिग्रीका प्रमाणपत्रहरुले कुनै अर्थ राख्दैनन् । यहाँ परिश्रमको मात्र मूल्यांकन हुन्छ भन्ने उसले बुझ्नुपर्नेछ ।

समय बित्दै जान्छ शिशिरको आँखा वरिपरि नेपालमा साथीहरू सँग, परिवारसँग रहँदाका यादहरु अबिछिन्न रुपमा उसको आँखा अगाडि चलचित्र जस्तै नाच्न थाल्छन् । साथीहरुसँग चिया पसल लगायतका गफहरु, घर जाँदा आमाले कर लगाएर खुवाउनु भएको खानाहरु ! यो अब कल्पना मात्र हो उसको ।

सपना नराम्रो देखेर अनि समाचार नराम्रो सुनेर कति मुटु दुखाएर बाँच्नु पर्ने अनि जति बिचलित भए पनि काम मा त्यतिकै सतर्कता अपनाउनु पर्ने ! जिन्दगीलाई पसिनासँग बेच्दै आफ्नो अनेकौं रहरलार्इ आफू भित्र थुन्नु पर्ने बिबशता ।

पुस माघ महिनाको पारिलो घाममा बसेर खाएको सुन्तला र बदम त अब याद मात्र हो शिशिरको ! घाम त हेर्ने मात्र अनुभव लिने समय छैन उसँग । जति बेला जाँतो जस्तो बाध्यताको जिन्दगी ! जाँतोको बिँड जता घुमायो उतै घुम्नु पर्ने ! कैंयौं कुरा मनमै गुम्स्याएर भित्र भित्र जल्दै हिंड्न पर्ने ! मन भरिका आफ्नो चाहनालाई आफैले बन्दी बनाउन बाध्य हुनुपर्ने !

नेपाल रहँदा दुःख सुख साँटेका साथीहरू मध्ये कसैलाई घडी कसैलाई चस्मा कसैलाई मोबाइल उपहार पठाउन मन छ । तर, अपसोच शिशिर आफैले फेर्न सकेको छैन । अनि साथीहरुलार्इ टिसर्टले पनि सम्झिन नस्क्दा उ भित्र भित्र कराउँछ । जेनतेन परिवारको आधारभूत आवश्यकता पूरा गर्न समर्थ र आफू बाँचेको छ । अझै पनि कुनै महिना काम तल माथि भैहाल्यो भने भोकै बस्नु पर्ने उसको अबस्था छ । आफ्नो योग्यताको कदर नहुँदा, आफुले चाहेको काम नपाउँदा, बाध्यताको जीवन सँग सम्झौता गर्नु पर्दा, शिशिरले आफूले आफैलाई डस्नु बाहेक केही देख्दैन ।

उसले देखेको छ यो बाध्यता ऊ लगायत कयौं युवाहरुको हो । जो अनेकौं सपनाहरू सजाएर भएका अवसर गुमाएर विदेशिने अनि अनि हरेक पाइला पाइलामा आफूलाई अभागी ठानी आँखामा गाउँ घर लिएर हिंड्न बाध्य छन् । ऊ जस्ता कयौं युवाहरू प्रवासमा रहे पनि उनीहरुको मन राष्ट्र प्रेम र प्रत्यक्ष नेपाल सँग जोडिएको छ । सबै भन्दा बढी देश दुख्ने त प्रबासी नेपालीलाई नै हो । आफ्नो स्वपहिचान बिर्सेर कामको मेलोमा निरन्तर लाग्नु पर्ने, आफ्नो देशलाई भ्वाङ पारेर अरुको देशमा पैसा सँग श्रम बेच्नु पर्ने बिबसता !

आज हजारौं युबाहरु जति पनि विदेशमा छन् उनीहरुको सोच एउटै हुन्छ, चाहे सबै हुन परोस तर प्रवासी हुन नपरोस । हजारौं युवाहरूलाई आफ्नो देशबाट नचाहँदा नचाहँदै पनि पलायन हुनु आँखा चिम्लेर बिदेशीनु भनेको राज्यले यस्ता युवाहरुको सीप र योग्यतालाई कदर नगर्नु नै मुख्य कारण हो । सदैब राजनीति अस्थिरता हुनाले अवसरहरुको कमी हुनाले आज हजारौं युवाहरू बिदेशी भूमिमा भत्केको घरमा झुन्डिएको छाना जस्तै संघर्षको जीवन बिताउन बाध्य छन् ।

वि.सं.२०७३ जेठ ३ सोमवार ०८:३७ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...