back
NMB ad

नटेर्ने कोषाध्यक्षलाई न्यायिक कठघरामा उभ्याउँछौं : महासचिव लामा

Kumari bank ad

पर्वतीय तथा पदयात्रा पर्यटनको क्षेत्रमा विकास गर्न स्थापित ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) यतिबेला कार्यसमितिकै दुई पक्षकाहरुको खिचातानीको मारमा परेको छ । पछिल्लो समय टान केन्द्रिय कार्यसमितिको मतभेद सतहमा आएको छ ।

प्रस्तुत छ, टानको पछिल्लो विवाद र आगामि कार्यदिशाका सम्बन्धमा टानका महासचिव कर्णबहादुर लामासँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादित अंश :

टानको पछिल्लो गतिविधी बताइदिनुस न !

प्रतिबद्धता जाहेर गरेर हामी छानिएर अनि चुनिएर आएका हौं । चुनावताका गरिएका प्रतिबद्धता र पर्यटनको विकासमा सबैका प्रतिबद्धतालाई समेट्दा साधारणसभाबाट ६१ वटा बुँदालाई पारित गरिएको छ । त्यसैले निर्देशित गरे अनुसार हामी क्रियाशिल भयौं । सामुहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीमा जानुपर्छ र व्यवसायीक राजनीति गर्नुपर्छ भनेर अगाडि बढ्यौं । हामी चाहन्थ्यौं सचिवालय चुस्त दुरुस्त होस् । बरु बढि छलफल होस् । तर टानको कार्यसमिति बैठकमा नोट अफ डिसेन्ट निकाल्ने वातावरण नबनोस् भनेर सुरुवातदेखि यसैमा लाग्यौं । बैधानिकता पुर्याएर निर्णय लिन सकौं र कार्यान्वयनमा जाँदा इमान्दारीता देखाउने भनेर हामी लाग्यौं । यो बिच ९ महिनामा आन्तरिक समस्या धेरै भयो ।

सुरुमा विगतका कार्यसमितिले गर्दा कार्यालयमै केहि बाधा अबरोध झेलियो । विगतको टान कार्यसमितिले सहुलियत दिएर कर्मचारीलाई छाडा गरिदिएको रहेछ । कर्मचारीले आफ्नो जिम्मेवारी नै निर्वाह गरेको पाएनौं । आफुले चाहेको काम गर्ने, अरु काम नगर्ने, कार्यालय आए पनि हुने नआए पनि हुने जस्ता लापरबाही गरेको पाईयो । हामीले यो गलत भयो भन्यौं । र कार्यसमितिका निर्णय मान्न नसक्नेहरु राजीनामा गरेर गए । आर्थिक क्षेत्रसँग सम्बन्धित कुराहरु आन्तरिक लेखापरिक्षणले हेर्नेछ त्यसपछि थाहा होला ।

जब हामीले निर्णय गरेर कार्यसमितिमा गयौं । कोही कोहीलाई पाच्य भएन । यो कार्यसमितिले सफलतापूर्वक कार्यसम्पादन गरे भने सफलताको जस पाउँछन् भन्ने कारणले यिनीहरुलाई काम गर्न दिनुहुन्न भनेर केहि व्यक्तिलाई गाईडेड (दिशानिर्देश) गरियो । जसले गर्दा टानले गतिशिलता लिन सकेन । हामीले न्यायोचित ढंगले टानको स्रोतको सदुपयोग गर्नुपर्छ । बिधान, आर्थिक नियमावलीले व्यवस्था गरे अनुसार ऐन संगत ढंगले हामीले खर्च र त्यहि अनुरुपमका निर्णय गरेका छौं । त्यो भूमिका निर्वाह गरेका छौं । गरेका जति पनि निर्णय, खर्चहरु र अन्य गतिबिधि टानका आम सदस्य एजेन्सीहरुलाई पठाउने गरेका छौं ।

कर्णबहादुर लामा, महासचिव, ट्रेकिङ एजेन्सिज एसोसियसन नेपाल(टान)
कर्णबहादुर लामा, महासचिव, ट्रेकिङ एजेन्सिज एसोसियसन नेपाल(टान)

भनेको कार्यसमितिले जति निर्णय गर्छ त्यो सबै सदस्यहरुलाई पठाउनुहुन्छ ?

हो हामीले पठाएका छौं । तर बिडम्बना भनौं ती समूह, जमात आफ्नो समयमा, आफ्नो कार्यकालमा गरेका गलत कार्यको ढाक छोप गर्नको निम्ति कसैलाई गाईडेड गरियो ।

ती जमात भनेको को ?

ती जमात भनेको विगतको कार्यसमिति जसका कार्यहरु छानविनको दायरामा छ । आन्तरिक लेखापरिक्षण, नेपाल पर्यटन बोर्डबाट खटाएको लेखापरिक्षकबाट गरिएको आर्थिक वर्ष २०६९÷७०, ७०÷७१ र ७१÷७२ जुन आन्तरिक लेखापरिक्षण गरियो । टिम्स र टानको त्यसमा बेरुजु र कैफियत त्यहाँ उठान गरिएको छ ।

बेरुजु र कैफियतको अवस्था के रहेछ ?

ठ्याक्कै अहिले भन्न मिलेन । त्यहाँ उठान गरिएका एउटा सैद्धान्तिक बेरुजु, दोस्रो बैधानिकता नपुर्याएर गरिएका खर्च, तेस्रो कुनै–कुनै बिल नभएको, कुनै–कुनै खर्च गर्न नमिल्ने शिर्षकमा खर्च गरिएको छ । यसले गर्दा नै अहिले हामीले पाउनुपर्ने टिम्सको रकम पर्यटन बोर्डबाट पाइएको छैन ।

जसले यो भूमिका निभाए उहाँहरु प्रति हाम्रो कुनै पूर्वाग्रह थिएन । चुनावका बेला देखि नै टानको गलत गतिबिधी त्यसलाई छानबीन गर्छाैं, हामी पारदर्शी ढंगले अगाडि बढ्छौं भन्दा खेरी साथीभाईलाई आशंका जन्मियो । ती साथीभाईले वर्तमान कोषाध्यक्षको प्रयोग गरेर उनीहरु पूर्वाग्रही ढंगले हामीहरु विरुद्ध लागिरहेका छन् । त्यसो भएको कारणले तिमी (वर्तमान कोषाध्यक्ष)ले पनि यीनीहरुलाई काम गर्न नदेउ भनेर गाईडेड भएका व्यक्तिले अहिले हामीलाई कार्यसम्पादनमा अबरोध सिर्जना गरेको हाम्रो ठहर छ ।

karna lama taan 1 2
कर्णबहादुर लामा, महासचिव, ट्रेकिङ एजेन्सिज एसोसियसन नेपाल(टान)

विगतको कार्यसमितिको पालक भनेर आरोप लगाउन खोज्नु भएको हो ?

जस्तो लाग्छ, यसो हेर्दा खेरी हो पनि । किनकि अहिले अख्तियार दुरुपयोगमा उजुरी पर्याइएको छ । अख्तियारबाट मन्त्रालय हुँदै सत्यतथ्य छानबीन गर्न हामीसँग राय मागेको थियो । त्यसमा हामीले किटान गर्न सक्दैनौं, जे छ आन्तरिक लेखापरिक्षण र पर्यटन बोर्डबाट खटाएको लेखापरिक्षणका कागजहरु नै बोल्छ । छानबीनको क्रममा हामीले केहि बुझाउन पर्छ भने हामी सहयोग गर्छाैं भनेका छौं । त्यसमा पछिल्लो समय पर्यटन बोर्डबाट ताकेता भयो । हामीले विगतमा टानले गरेका जति पनि टिम्ससँग सम्बन्धित तथ्य कागजपत्रहरु हामीले बुझाईसकेको छौं । यसो भएकोले कतै कारबाहीमा परिने पो हो कि भनेर शायद निर्देशित गरेको कारणले वर्तमान कोषाध्यक्ष लिलाबल्लभ दाहाल उहाँहरुको प्रतिनिधि पात्र यहाँ भूमिका निर्वाह गरिरहनु भएको छ । जसले गर्दा काम गर्ने अवस्थामा एक प्रकारले अबरोध खडा गरेको छ । यसो भन्दा फेरी उहाँले बजारमा विभिन्न भ्रम सिर्जना गरिरहनु भएको छ । हामी चाहन्थ्यौं सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारी । हामीले निर्णय यहि गर्ने हो त्यसलाई इमान्दारी बोकेर लागु गर्ने हो कार्यान्वयन गर्ने हो । उहाँ (कोषाध्यक्ष) टानमा आउनुहुन्न । उहाँ (कोषाध्यक्ष) फुर्सद निकाल्नुहुन्न । हामीले पटक पटक फोन गर्दा कहिले बिरामी भन्नुहुन्छ ।

यहाँ टानमा दैनिकि (चियापान, कर्मचारी, सामान्य मसलन्दका खर्च) चल्ने अवस्था पनि छैन । उहाँ आफ्नो घरायसी काम चलाएको जस्तो कुनै चेकमा सहि गर्ने, कुनैमा नगर्ने, हामी नीति बनाउने ठाउँमा गुनासा लिएर जानुपर्ने ठाउँमा सामान्य आर्थिक अभावका दुई÷चार साना समस्याले अल्झिनुपरेको छ । गन्तव्यको पहिचान, प्रबद्र्धन र विकास गर्न के गर्नुपर्छ भनेर अध्यक्ष, महासचिव, वा विभिन्न विभागिय भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा गर्न पाएको छैन ।

कस्तो गज्जब रहेछ है एक जनाले नै अल्झाउने ?

अहिले हामी आएको ९ महिना भयो । यो कालखण्डमा कोषाध्यक्षले कहिल्यै पनि आफ्नो विवेक पुर्याएर कार्यालयमा आएर सहि गरेको हामीले पाएको छैन । जहिले पनि हामीले निर्णय गरेको यो यो छ, हामीले तिनुपर्ने यो यो छ भनेर एकाउटेन्ट, प्रशासन र स्वयं मैले देखाएपछि केहिमा हस्ताक्षर गरेर हिड्ने, केहिमा हस्ताक्षर गर्नुहुन्न ।

अहिलेसम्म टानको वित्तिय अवस्था कस्तो छ, कहाँ लिनु छ, कहाँ दिनु छ भन्ने सम्म पनि कोषाध्यक्षलाई थाहा छैन । तर उहाँ बाहिर बाहिर यी सबै थाहा छ भनेर हिंड्नुहुन्छ रे ।

यीनीहरुले अनियमितता भ्रष्टाचार गर्न खोजेकाले मैले रोकेको हो भनेर रोकियो भन्नु भएको छ । भ्रष्टाचार गर्न त कोषाध्यक्ष पनि संलग्न हुनुपर्यो । नत्र भने हामीले निर्णय गरेको कुरालाई टेकेर हामीले भुक्तानी गर्नुपर्ने गर्ने हो ।

हामीले गर्ने भनेको पर्यटनको एक ठूलो संस्थाको जिम्मेवारी लिएपछि भूमिका पनि ठूलै हुन्छ । त्यो भएकाले उहाँले यो या त्यो बाहानामा कार्यसम्पादन गर्नको निम्ती आर्थिक पक्षबाट अबरोध खडा गर्दा टान र पर्यटन उद्योगलाई नै असर परेको छ ।

karna lama taan 3
कर्णबहादुर लामा, महासचिव, ट्रेकिङ एजेन्सिज एसोसियसन नेपाल(टान)

अब के हुन्छ ?

म भन्दै छु, भ्रष्टाचार रोक्छु भन्ने अफवाह फैलाउने कोषाध्यक्षले आर्थिकरुपमै भ्रष्टाचार गर्नु भएको छ । कार्यसमिति सदस्यहरुलाई पेश्की स्वरुप रकम दिएको र त्यो प्रदान गर्न पनि पाईन्छ । तर त्यो रकम टानको आर्थिक नियमावली अनुसार समयमै फर्छौट गर्नुपर्छ तर फर्छौट गरिएको छैन । त्यसको सट्टा त्यो भन्दा साँढे पाँच गुणाको बिल ल्याएर तेर्स्याईयो । कार्यसमिति बैठकले त्यो रकम तिर्न पर्ने वा नपर्ने बैधानिकरुपमा तिर्दा बेरुजु ननिस्कने गरि आर्थिक छानबिन गरियोस भनेर कोषाध्यक्षकै संयोजकत्वमा जिम्मेवारी दिइएको छ । माइन्युट छ । तर उहाँ त्यो काम गर्नुहुन्न । दोस्रो बैठकमा हामीले विगतमा कार्यसमितिले गरेका कुनै आर्थिक दायित्व निर्णय गरेर काम गरिसकेको तिर्नु भुक्तान गर्न खोज्दा त्यस्तै प्रकृतिका जो निर्णय नभएका बिल ल्याएर त्यसलाई पनि तिर्नुपर्छ भनेर उहाँहरु भन्नुहुन्छ । उहाँले चाहेको के ? उहाँ आफैं आर्थिक भ्रष्टाचार गर्न खोज्दै हुनुहुन्छ । त्यसलाई हामीले रोकेको हो । प्रमाण हामी सँग छ । प्रत्येक बिललाई पाउनुपर्ने व्यक्ति सँग बार्गेनिङ गर्नुहुन्छ । त्यसमा पनि कमिसन खाने गरेको प्रमाण भेटिएको छ । यो टान र पर्यटन उद्योगको हितमा छैन ।

मैले भने नि अब अगाडिको बाटो के ?

अब हामीले जो कार्यसमितिको १९ औं बैठकबाट उहाँलाई बिधानतः उहाँले कार्यसम्पादन नगरेको विषयलाई लिएर १४ बुँदे स्पष्टिकरण मागेको छौं । सात दिन भित्र भनेका थियौं । यो समय नाघिसक्यो । स्पष्टिकरण आएन । किन कार्यसम्पादन भएन ? उहाँले बैठकमा नोट आफ डिसेन्ट लेख्नुभयो । हामीले यी सबै कुरा सबै एजेन्सीलाई पठाएका छौं । त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालयलाई दिइसकेका छौं ।

अबको अगाडिको बाटो के त भन्दा उहाँ स्पष्ट भएर अब आईन्दा संस्थाको हित विपरित, बिधानले दिएको अधिकार विपरित कार्य गर्दिन, आफ्नो कर्तव्य इमान्दारिता पूर्वक गर्छु भन्ने पेश गर्नुहुन्छ भने ठिक छ । उहाँको प्रतिबद्धता आउनुपर्यो । त्यो प्रतिबद्धता पनि टानका आम सदस्य एजेन्सीहरु बीच जानुपर्यो । सबै सदस्य कम्पनीबाट मिलेर जानु भन्ने अनुमोदन हुनुपर्यो ।

प्रतिबद्धता आए त तपाईले भने जस्तो ठिकै होला, आएन भने के हुन्छ ?

प्रतिबद्धता आएन भने उहाँलाई न्यायिक कठघरामा उभ्याउनैपर्छ । उहाँको कर्तव्यलाई कसैले सम्झाई दिनुपर्यो भने यो जति दुःखद केहि पनि हुन्न । टान जिल्ला प्रशासनमा दर्ता भएर स्विकृति लिएर बिधान अनुसार काम गरिरहेका छौं भने हाम्रो सम्पूर्ण विषयलाई दर्शाएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन्छौं । प्रशासन कार्यालयमा विभिन्न संघ संस्थाको नजिर छ । त्यस्तै नजिर हामी पनि गराउँछौं । त्यो के भने हामी बैधानिक निर्णय गर्छाै, काम गर्छाै काम गरिसके पछि जसलाई बक्यौता तिर्नु छ, जसलाइ भुक्तान गर्नुपर्ने छ, भुक्तान गर्न चेकमा हस्ताक्षर गर्न उहाँ (कोषाध्यक्ष) जिल्ला प्रशासनमा धाईराख्नु पर्छ । निर्णय हामी टानमा गर्छाै, सबै काम हामी टानमा गर्छाैं, उहाँ भने चेकमा हस्ताक्ष्र गर्न जिल्ला प्रशासन जाने वातावरण सिर्जना गर्न त्यहाँ उजुरी गर्छाैं ।
हामी हाजिर टानमा गर्छाैं उहाँ(कोषाध्यक्ष) ले जिल्ला प्रशासनमा हाजिर गर्नु हुन्छ । हामी यो योजनामा छौं । त्यस्तै पदिय दुरुपयोग गर्ने कोषाध्यक्षविरुद्ध अख्तियारमा पनि उजुरी गर्छाैं । काम आफु नगर्ने, संस्थामा पैसा छैन भन्ने, पैसा छैन भन्ने उहाँलाई थाहा नै छैन । कतिवटा बैंक खाता छ, कति रकम मौजुदा छ, कति सदस्य नविकरण, कति सदस्यबाट भुक्तान गर्नुपर्ने र विज्ञापन बापत मिडियाहरुलाई तिर्नुपर्ने लगायतका विषय उहाँ (कोषाध्यक्ष) लाई थाहै छैन ।

प्रतिबद्धता गरेअनुसार तपाईहरुले अब के गर्नुहुन्छ ?

हामीले प्रतिबद्धताअनुरुप के गर्ने चार्ट बनाएका छौं, त्यो अनुसार काम गर्छाै । टानमा केहि समस्या देखिए पनि पर्यटन प्रबद्र्धन, विकास र पहिचानको निम्ति क्रियाशिल रहन्छौं । हामीले आर्थिक जोहो गरेर मात्रै सबै हुने होईन, हाम्रो उपस्थिति र क्रियाशिलता निरन्तर छ । भौतिक उपस्थिति पनि महत्वपूर्ण हुनेछ । समग्र पर्यटनको विकासमा हाम्रो भूमिका रहन्छ । हाम्रो रफ्तार जारी छ ।

प्रकाशित मिति : २०७२ साउन १० / ११ : २७

वि.सं.२०७३ साउन १० सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...