Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

अबको राजनीतिक कार्यदिशा : आर्थिक विकास पहिलो प्राथमिकता

October 7, 2017

khem lohani

हरिशरण न्यौपाने ।

वि.स. २०१७ सालमा धादिङको चैनपुर गाविस ३ मा मध्यम किसान परिवारमा खेमप्रसाद लोहनीको जन्म भएको हो । उनको बाल्यकाल विद्यालय पढ्न जाने, बिहान बेलुका घरको काम गर्ने, बिदाको दिन घाँस काट्ने, गोठालो जाने, भारी बोक्ने, खेताला जाने, पौडी खेल्ने लगायत काम गरेर बित्यो । उनी १० वर्षको छँदा आफ्नी आमाको न्यानो काख खोसियो ।

धादिङ, चैनपुरको श्री ज्वाला प्राथमिक विद्यालयमा ५ कक्षासम्म अध्ययन गरेका लोहनीले ज्वाला सालबास मिडिल स्कूलमा कक्षा ८ सम्म पढे । ९ र १० गोरखा जिल्लाको आरुघाटमा अवस्थित भिमोदय माध्यमिक विद्यालयमा अध्ययन गरेर २०३४ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । २०३५/३६ मा महेन्द्ररत्न क्याम्पसबाट आई एड गरेका उनले बि एड र एम एड भने त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट गरेका हुन् ।

कलेज पढ्दा पढ्दै उनी पार्टीको जनपक्षिय राजनीतितर्फ लागेका थिए । २०३६ सालमा रेड गार्ड अर्गनाईजेसन, युथलीग, क्याम्पस कमिटी हुँदै राजनीतिमा सक्रिय उनी २०४२ सालमा पार्टीको काम गर्न धादिङ जिल्लातर्फ फर्किए । २०४३ सालमा गाउँ कमिटीको सदस्य, त्यसपछि उपसचिव, सचिव, इलाका कमिटीको सदस्य हुँदै जिल्ला कमिटीमा उपसचिव, अध्यक्ष हुँदै अहिले नेकपा एमाले केन्द्रिय कमिटीको वैकल्पिक सदस्य छन् ।

राजनीति गरेको रहरले …

राजनीति गर्दा त्यसलाई अप्ठेरोको रुपमा नहेर्ने लोहनीलाई द्वन्दको समयमा माओवादीहरुले आफ्नै साथीहरुको अपहरणपछि हत्या श्रृङ्खलाले निस्सासिंदो बनाएको थियो । पंचायती काल (२०४२–२०४६) सालसम्म अर्धभूमिगत भएर राजनीति गर्दा भन्दा लोहनीलाई माओवादी द्वन्दमा साह्रै गाह्रो भएको थियो । त्यस्तै बिद्यार्थी राजनीतिमा सक्रिय छँदा प्रहरीले निलडाम हुने गरी पिटेर थुन्ने, अमानवीय ढंगले यातना दिने गरेको क्षण सम्झँदा आज पनि उनी पिडाबोध गर्छन् ।

एकचोटी त्रिचन्द्र क्याम्पसमा प्रहरीले जीउ निलडाम हुनेगरि पिटेर हनुमानढोका थुन्न लैजाँदा उनलाई साह्रै पिडाबोध भएको थियो । अर्काे त्यस्तै त्रिचन्द्रबाट भागेर असनको एक घरमा पुग्दा प्रहरीले चारै तिर घेरा हालेको देखेर घरको दोस्रो तल्लाबाट फाल हानेर भाग्नुपर्ने अवस्थामा पुगीसकेका थिए । तर त्यस घरकी बुढीआमाले उनी सहित साथीहरुलाई सुरक्षित गराईदिएर खान, बस्न दिएपछि भने उनी जोगिएका थिए । दिनभर त्यहि घरमा लुकेर साँझ त्यहाँबाट भाग्नुपरेको थियो । यदि त्यो घरबाट हाम फालेको भए शिशै शिशा फालिएको इनारमा खस्ने डरलाग्दो अवस्था थियो । त्यो दिन सम्झँदा आज पनि लोहनीको मन सिरिङग हुने गर्दछ ।

अनेरास्ववियुमा रहँदा पोष्टर टाँस्ने, प्रचार गर्न निस्कँदा प्रहरीबाट भागेरै आफुलाई जोगाउने काम गर्दथे । त्यतिबेला तत्कालिन नेकपा माले हालको एमालेको प्रचारमा वाल पेन्ट गर्ने काम साह्रै चुनौतिपूर्ण थियो । त्यति बेला नै इलामका रत्नकुमार वान्तवाको हत्या भएको थियो । रत्न कुमार वान्तवाको हत्याको बदला लिन्छौं लिन्छौं भनेर तत्कालिन माले पार्टीले धेरै ठाउँमा वाल पेन्ट गरेको थियो । ती वाल पेन्ट गर्नेहरुलाई प्रहरीले भेट्यो भने धेरै यातना र पछि मार्ने सम्मको स्थिति रहन्थ्यो । ती सबै चुनौतिलाई अप्ठेरो नमानि उनले सहज पुरा गरे । कामलाई अप्ठेरो माने अप्ठेरो, सजिलो माने सजिलो ठान्ने उनी नडराउँदा सबै काम बन्न सक्छ भन्ने निडर स्वभावका व्यक्ति हुन् ।

पार्टीको बैठक बस्न जाँदा भैसी किन्न हिड्या भनि झुक्याउँथ्यौं ….

उनले तत्कालिन अवस्थामा अधिकाँश पार्टीको काम संधै राति नै सक्काउँथे । त्यसमा नै उनी रमाउने गर्दथे । तर कहिल्यै दुःख मानेनन् । राजनीति गर्ने दौरान २/३ दिन भोकभोकै हिंड्ने काम समेत गरे पनि उनी कहिल्यै दुःखीत भएनन् । साँझ उनको घर चैनपुर बेसीबाट सालबासमा पुगेपछि गुरु बुर्लाकोटीलाई लिएर नलाङको अर्चलेमा रहेको जगन्नाथ तिमल्सिनाको घरमा राति नौ÷दश बजे बैठक बस्न पुग्ने गर्दथे । राति बैठक सकेर बिहान हुनासाथ घरतिर फर्कने गर्दथे । बाटोमा कोही मानिसले भेटे भने भैंसी, गोरु किन्न जान लाग्या भनेर ढाँट्दै उनीहरु बैठकमा सहभागी हुने गर्दथे । तल्लो घरको भन्दा माथिल्लो घरको भैसीले बढि दुध दिन्छ भन्दै बाटो काट्ने गर्दथे । यदि कसैको आँखा छक्याउन सक्यो भने दिसा पिसाब आएको बाहाना पारेर बाटो छोडिदिने गर्दथे । ती दिनहरुलाई पनि उनी मज्जाको रुपमा हेर्दछन् ।

एकचोटी राजेन्द्र पाण्डे र उनी गुम्दीको इदु भन्ने ठाउँमा इन्द्र सिंखडाको घरमा खाना खाएर सुत्न ठिक्क परे । पछि सल्लाह गरेर हैन यहाँ नसुतौं, तल्लो गाउँ जाउँ भनेर हिंडे । तल्लो गाउँ, तल्लो गाउँ भन्दै कटुञ्जेको टोड्के भन्ने ठाउँ आइपुगे । तर राति गाउँ सुनसान थियो । त्यसपछि अब कसलाई बोलाउने भनेर राति साँढे ११ बजे धादिङबेसी पुगेर बास बसेका छन् ।

एकचोटी कार्तिक महिनामा उनी टुथ ब्रस, मञ्जन, टर्चलाइट, कलम र डायरी बोकेर साथीहरुसँग लापा गएछन् । साह्रै जाडो थियो । त्यहाँका तामाङ र गुरुङ जातीका मानिसहरु जाडोले गर्दा रातभर अगेना छेउमै जम्मा भएर रात कटाउने रहेछन् । लोहनी र उनका साथीहरु पाहुना भएका हुनाले त्यहाँका स्थानीयले ओढ्न र ओछ्याउन राडीपाखी दिए । तरपनि जाडोले लोहनी र उनका साथीहरु सुत्न सकेनन् । चिसोका कारण भोक लाग्ने, जति पनि खानेकुरा खान सक्थे । तर एकै दिनमा हजारौं पटक वायु विकार भएको सम्झेर उनी आजपनि मज्जाले हाँस्दछन् । तर यी सबै परिस्थितिलाई उनी रमाइलो नै मान्दछन् ।

धादिङ जिल्लाको सभापति रहँदा गरेका विकास…

२०५४ सालमा लोहनी जिल्ला विकास समिति धादिङको सभापतिमा निर्वाचित भए । त्यतिबेला केन्द्रमा काँग्रेसको सरकार हुँदा धम्की दिने र सकेसम्मको काम अड्काउने गर्दथ्यो । तापनि जिल्लामा पार्टीको बहुमत भएको हुनाले उनलाई काम गर्न सहजै थियो । त्यस्तै माओवादी द्वन्दले पनि सबैलाई त्रसित बनाएको थियो । माओवादीहरुले उनीसँग पनि बेला बेला चन्दा माग्ने गर्दथे ।

उनको कार्यकालमा धादिङमा विकासको निम्ति पूर्वाधार तय गर्यो । ठूलो संख्यामा सडक संजाल विस्तार भयो । सडक संजालले जिल्लाको समग्र विकासलाई सहज बनाएपनि अझै सबै स्थानमा १२ महिना चल्ने सडक बनाउन बाँकी नै छ । बिजुलीको व्यवस्था, खानेपानी, सिंचाई, गैरसरकारी संस्थाहरुलाई जिल्लामा प्रवेश गराएर विकासमा लगाउने काम पनि उनकै पालामा भयो । धादिङबेसी मलेखु सडक (कालुपाँडे राजमार्ग) मा पिच गर्ने, त्रिशूली नदीमा पक्की पुलको व्यवस्था गर्ने कामले धादिङको सबै क्षेत्रलाई जोड्ने काम गरेको थियो । त्यसअघि भने धादिङ क्षेत्र नं ३ र २–१ का साथै सदरमुकाम छुट्टै थियो । सदरमुकाम जानलाई झोलुङ्गे पुल तरेर जानुपर्ने अवस्था थियो ।

आबधिक योजना बनाउँदा ʽदुध, फलफूल, तरकारी, गाँस, बास, कपास रोजगारीʼ भनेर त्यहि अनुकुल जिल्लाको विकास कार्यक्रमलाई अगाडि बढाएका थिए । त्यतिबेला माओवादीले भने एमालेलाई प्रतिष्पर्धि ठानेर सकेसम्म विकासका कार्यमा अबरोध पुर्याउने गर्दथ्यो । माओवादीले सबैभन्दा बढि १ नम्बर क्षेत्रमा अबरोध गर्ने गर्दथे । विकासका कार्यक्रम, पैसा, निर्माण सामाग्रीहरु पठाउँदा यो लगानी गरिस्, लागु गरिस् भने कारबाही गर्छु भनेर जनप्रतिनिधिलाई लागू गर्न नदिने र अबरोध गर्ने काम गर्दथे । कति ठाउँमा विकासका योजना सडक बनाउन पठाएको पैसा माओवादीहरुले खोसेर नै लिए । कांग्रेस र माओवादीको अबरोधको बाबजुत पनि उनले धादिङमा विकासका पूर्बाधार खडा गर्ने काम गरे ।

जब २०५९ मा जिविस छाडे त्यसपछि माओवादीले उनलाई सुराकी लगायत विभिन्न आरोप लगाउँदै आरोप पत्र घरमा टाँसेर भौतिक आक्रमण गर्ने धम्की दिन थाल्यो । त्यतिबेला त्यस्तै किसिमको धम्की दिंदै उनका साथीहरु धादिङ १ नम्बर क्षेत्रका जयराम श्रेष्ठ सहित नवराज सुवेदी, बच्चु अर्याल, खिनबहादुर थापा लगायतलाई माओवादीले अमानवीय ढंगले हत्या गरेको थियो । यसले उनलाई साह्रै दुःखीत बनाएको थियो ।

राजनीति समाजसेवा गर्ने मौका…

राजनीतिमा मज्जा मान्ने भएकाले जिविस सभापति छाडेपछि पनि उनी राजनीतिमै सक्रिय रहे । समाजसेवा गर्ने, सबैका अगाडि चिनिने, यो व्यक्तिले पनि समाजमा केहि काम गर्छ भनेर देखाउने स्वभाव भएरै उनी निरन्तर राजनीतिमा सक्रिय छन् ।

अबको राजनीतिक योजना…

केन्द्रिय कमिटिमा भर्खरै पुगेका उनी राजनीतिक आन्दोलन समाप्त भईसकेको र अब आर्थिक विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँछन् । समग्र विकासलाई अगाडि बढाउन धेरै मेहनत गर्नुपर्ने र राजनीतिक मानिसहरु सँग व्यवसाय गर्ने, आर्थिक विकास गर्ने विचार नभएको भन्दै उनीहरुलाई व्यवसायीक विचार दिनुपर्ने तर्क गर्छन् । सबै राजनीतिक पंक्तिलाई व्यवसायीक बनाउने र राजनीतिक नेतृत्वले आर्थिक विकास गर्नुपर्ने उनको धारणा छ । दश÷दश मीनेटमा फरक हावापानी पाईने प्राकृतिक र जैविक बिबिधताले भरिपूर्ण देश नेपालमा दश मीनेट तल गर्मी, दश मीनेट माथि मध्यम हावापानी र एक घण्टा माथि गयो हिमाल पुग्न सकिने भएकाले यही नेपालको बरदान रहेको उनी बताउँछन् । ठूला सडकका परियोजना, र केहि ठूला जलबिद्युत् आयोजना अगाडि बढाएर बाँकी सबै साना–साना कामले नै नेपाललाई सुन्दर देश बनाउन सकिने उनको ठम्याई छ ।

कुराकानीमा आधारित

प्रकाशित मिति : २५ असर २०७३ / १ : ३५ : २९, पुनः प्रकाशन : २१ असोज २०७४

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु