मोरङ । महँगो शुल्क तिरेर निजी क्षेत्रका मन्टेसोरी स्कुलमा आफ्ना बालबालिका राख्न नसक्ने अभिभावकका लागि खुसीको खबर छ । अब शुल्क नै नतिरी मन्टेसोरी स्कुलमा बालबालिका पढाउने हो भने यस क्षेत्रकै सबैभन्दा पुरानो सरकारी स्कुल आदर्श माविमा गए हुन्छ ।
तपाईं त्यहाँ पुग्नुभयो भने बाहिरपट्टि चौरको रोटेपिङमा बालबालिका खेलिरहेका देख्न सक्नुहुन्छ । पछिल्तिर चिटिक्क परेका शीतल कक्षाकोठा । भित्रपट्टि भुँइमा ओछ्याइएको कार्पेटमाथि बालमैत्री गोलो टेबलमा ढल्केर केही बालबालिका रमाएर पढिरहेका हुन्छन् । कोही तोतेबोलीमा गीत गुनगुनाइरहेका हुन्छन् त कोही नाच्दै ।
कक्षा ५ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा कक्षा सञ्चालन गर्दै आएको उक्त विद्यालयले यही शैक्षिक सत्रदेखि मन्टेसोरीसमेत सञ्चालनमा ल्याएको छ । यो कक्षामा कुनै वर्ग विभाजन छैन । हुने खानेदेखि हुँदा खानेसम्मका बालबालिका एकै थलोमा जम्मा भएका छन् । यो कक्षामा अहिले २२ जना भर्ना भइसकेका छन् ।
‘हामी ४० जनासम्म लिन सक्छौं,’ शिक्षक अञ्जना श्रेष्ठले भनिन् । विराटनगरकै प्रीति सेठियाले आफ्नी छोरी नम्रतालाई मन्टेसोरीमा भर्ना गराएकी छन् । ‘शुल्क मात्र महँगो भएर हुँदैन,’ उनले भनिन्, ‘वातावरण र पढाइ प्रमुख कारण हो त्यसैले मैले सक्ने भएर पनि यहाँ ल्याएकी हुँ ।’
विराटनगर– ११, देवकोटा चौककी ज्योति वर्णबालले राम्रो पढाइ भइरहेको सुनेर छोरोलाई आदर्शमै भर्ना गराएकी छन् । निजी विद्यालयमा पढ्दै आएका छोरालाई यहाँ भर्ना गराउँदा उनी निकै खुसी छन् । ‘यस विद्यालयमा शिशु कक्षादेखि ३ सम्म अंग्रेजी माध्यममा पढाइ सुरु भएको थाहा पाएपछि जेठाजुको सल्लाहमा छोरालाई कक्षा १ मा भर्ना गराएँ,’ उनी भन्छिन्, ‘निजी विद्यालयमा मासिक ११ सय शुल्क तिरेर पढाउँदासमेत राम्रो पढाइ थिएन तर यसमा निःशुल्क पढाउँदा पनि राम्रो पढाइ भइरहेको पायौं ।’
सामान्य मजदुरदेखि सम्पन्न परिवारका बालबालिकासमेत भर्ना हुन आएको प्राचार्य दुर्गाप्रसाद चुडालले बताए । ‘यहाँका अभिभावकको मागअनुसार नै मन्टेसोरी कक्षादेखि माथिल्लो सबै कक्षा अंग्रेजी माध्यममा सञ्चालन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘कक्षा ५ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन भइरहेको छ, तर यस वर्षदेखि ३ कक्षासम्मलाई पनि अंग्रेजी माध्यममै सुरु गर्यौं ।’
‘कक्षाकोठा, खेलमैदानको सजावटको काम हुँदै छ, डेकोरेसनको काम पूरा भएपछि बालबालिकालाई आकर्षित गर्ने बाहिरी वातावरण तयार हुन्छ,’ उनले थपे, ‘बालकेन्द्रित शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न प्रत्येक कक्षाकोठामा पर्याप्त शैक्षिक सामग्री, एलसीडी, प्रत्येक शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।’ कान्तिपुर दैनिकबाट
फाईल फोटो
प्रकाशित मितिः २०७४ बैशाख १७
वि.सं.२०७४ वैशाख १७ आइतवार १३:४२ मा प्रकाशित