काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्ने निर्देशन दिएको छ । बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई आज शुक्रबार पत्र पठाएर सेयर कारोबार रोक्न निर्देशन दिएको हो ।
बोर्डमा आवेदन नै नदिई कम्पनीले सूचना जारी गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न बोर्डले निर्देशन दिएको हो । पहिले नै सूचना प्रकाशित गर्दा बजार मूल्यमा चलखेल हुनसक्ने र अनुमति लिने प्रक्रिया नै सुरु नगरी सूचना प्रकाशित गर्दा लगानीकर्ता ठगिन सक्ने भन्दै धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो ।
नेपाल लाइफले ३१ लाख कित्ता सेयर जारी गर्न लागेको बताएको थियो । जसका लागि प्रति कित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने जनाएको थियो । १०० रुपैयाँ अंकित दरको सेयरमा कम्पनीले २८५१ रुपैयाँ प्रिमयम जोडेको हो । कम्पनीले यस्तो सूचना सार्वजनिक गरेपछि पुँजीबजारमा सेयरको मुल्यमा प्रतिकित्ता चार सय रुपैयाँले बृद्धि भएको थियो ।
बोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारिक रुपमा मूल्य निर्धारण नगराई, बजारलाई प्रभावित गर्ने हिसावले सूचना दिएको कारण कारोबार रोक्नु पर्ने उल्लेख गरिएको छ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीको शेयर कारोबार आइतबारदेखि रोक्का हुने जनाएको छ ।
२८ जेठ २०७३, ५।००
वि.सं.२०७३ जेठ २८ शुक्रवार १७:०४ मा प्रकाशित