काठमाण्डौं । अर्थ समितिको आज मंगलबार बिहान बसेको बैठकबाट नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित भएको छ । केही विवादित विषयलाई टुंग्याउनुका साथै दफा ४१ संशोधन सहित यो विधेयक पारित भएको हो ।
बचत खर्च गर्ने विषयमा सरकारले अंकुश लगाउन खोजेपछि ऐनमा सामान्य विवाद देखिएको थियो । समितिले यो खण्ड नै हटाएको छ। समितिले गभर्नर र डेपुटी गभर्नर सेवा निबृत्त भएको तीन वर्ष पछि अन्य बैंक तथा वित्तीय सस्थामा काम गर्न पाउने व्यवस्था पनि गरेको छ। ऐनको मस्यौदामा पाँच वर्षसम्म काम गर्न नपाउने प्रावधान राखिएको थियो।
त्यस्तै, ऐनको मस्यौदामा तीन जना डेपुटी गभर्नर राख्न संशोधन प्रस्ताव परेको थियो। समितिले यो संशोधन प्रस्ताव पनि खारेज गरेको छ। प्रस्ताव खारेज भएपछि राष्ट्र बैंकमा दुई मात्रै डेपुटी गभर्नर कायम रहनेछन् । त्यस्तै सभासद्ले राखेको मौद्रिक नीति समिति बनाउने प्रस्ताव पनि खारेज भएको छ।
२१ असार २०७३, १।००,
वि.सं.२०७३ असार २१ मंगलवार १३:४६ मा प्रकाशित