Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

नेपाली बाल साहित्यका अथक साधक सागर ‘मणि’ थापा !

September 24, 2017

Sagarmani Thapa

काठमाडौ । संसारमा सबैभन्दा महान् वर्ग छन् भने केवल चार वर्ग मात्र छन् । ती हुन्—
१. पुस्तक लेख्ने
२. पुस्तक छपाइ गर्ने
३. पुस्तक पढाउने
४. पुस्तक पढ्ने ।

एकछिनका लागि कल्पना गरौँ । यदि यी चार महान् वर्ग हुन्थेनन् भने आज यो विश्व कुन रूपमा गुज्रिरहेको हुन्थ्यो होला ? यदि त्यसो हुन्थ्यो भने मानिस र जनावरमा केही भिन्नता हुने थिएन । हो, तिनै चार महान् वर्गभित्र पाठकहरू पनि पर्नुहुन्छ ।

उपर्युक्त महान् वर्गलाई अक्षुग्ण राख्नका लागि— करिब तीस वर्षदेखि अनवरतरूपमा लागिरहने नेपाली साहित्यिक आकासका एक नक्षत्र तथा अथक साधक हुन्— सागर ‘मणि’ थापा ।

साहित्य रचना गर्नुलाई सुत्केरी व्यथाले छटपटाएकी महिलाले भोगेजस्तो पीडा भोग्नु हो भन्ने मान्यता राख्ने साहित्यकार थापाले त्यस्ता व्यथाहरू एक दर्जनभन्दा बढी पटक भोगिसकेका छन् । उनको २०५१ सालमा प्रकाशित कथासङ्ग्रह ‘छोरी—बुहारी जिन्दावाद’ लाई पहिलो पुस्तकाकार कृति मान्न सकिन्छ, भलै उनले विद्यालयको पढाइदेखि नै कविता, कथा आदि विधाहरूमा कलम चलाउन थालेका नै किन नहून् ।

साहित्य रचनाको पहिलो प्रेरणाको स्रोत महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, आँसु—कवि शम्भूप्रसाद ढुंग्याल, नाटककार बालकृष्ण सम, भीमनिधि तिवारी, आधुनिक कवि गोपलप्रसाद रिमाल, पारिजात, रमेश विकलजस्ता थुप्रै थुप्रै अग्रज साहित्यकारहरूलाई मान्ने गरेका साहित्यकार सागर ‘मणि’ थापाले रेडियो नेपालका विभिन्न कार्यक्रमहरू सुन्ने गर्दथे । उनी एक समयमा रेडियो नेपालबाट प्रसारण हुने फर्माइसी गीतहरूबाट अत्याधिक प्रभावित भई उक्त कार्यक्रमका लागि सयौँ पत्रहरू प्रेषित गरी मन परेका गीतहरू सुन्ने गर्दथे । त्यति मात्र होइन्, साहित्यकार थापाले तत्कालीन समयमा महिला कार्यक्रम, बाल कार्यक्रम, गीतिकथाजस्ता लोकप्रिय कार्यक्रमहरूमा रचना पठाउने गर्दथे र उनका दर्जनौँ रचनाहरू प्रसारण भई रेडियो नेपालले दिने पारिश्रमिकबाट पनि लाभान्वित हुने गरेका कुरा उनी गर्वका साथ बताउने गर्दछन् ।

आपूmलाई स्वच्छन्दवादी साहित्यकार भन्न रुचाउने साहित्यकार सागर ‘मणि’ थापाले विशेषगरी बालसाहित्य, कथा र उपन्यास विधामा कलम चलाउँदै आएका छन् । कल्पनाको डोरीमा मच्चिएर कहिल्यै नअघाउने, लेखेर कहिल्यै नथाक्ने, साहित्य अध्ययनबाट कहिल्यै वाक्कदिक्क नमान्ने श्री थापालाई पनि केही अग्रज साहियकारहरूको बिँडो नथामी भएन । फलतः उनले पनि आफ्नो नाम र थरको बीचमा उपनाम राखेरै छाडे— ‘मणि’ । उनी कसैलाई आफ्नो परिचय दिँदा मुक्तकशैलीमा दिन्छन् ।

उनी भन्छन्—
‘बागमती अञ्चल काठमाडौँ जिल्ला
कीर्तिपुर इटागोल हो मेरो घर
सागर मेरो नाम, मणि उपनाम
थापा खुलाल हो मेरो थर’

त्यसो त सागर थापा उक्त उपनाम राख्नुको श्रेय विद्यालय जीवनका एक मित्र कृष्ण खनाललाई दिन चाहन्छन् । २०४० सालतिर पाटन माध्यमिक विद्यालय, पाटन ढोकामा कक्षा १० मा अध्ययन गर्दा नेपाली विषयमा प्रखर भएकै कारण मित्र खनालले ‘मणि’ उपनाम राखिदिएका थिए, जसलाई सार्थक तुल्याउन सागर ‘मणि’ थापा अहोरात्र खटिएका छन्, साहित्य रचना गर्दै ।

साहित्यकार सागर ‘मणि’ थापाको बोलाइमै कविताको भाव झल्किन्छ । उनी साहित्यका नवै रसमा रचना गर्न मन पराउँछन् । उनको साहित्य रचनाको प्रवृत्तिलाई केलाउने हो भने निकै बेरसम्म घोत्लिनुपर्ने हुन्छ । खासमा उनी नारीवादी लेखक हुन् । त्यो किन भन्न सकिन्छ भने, उनले प्रकाशित गरेको पहिलो कथाकृतिको शीर्षक नै छोरी—बुहारी जिन्दावाद राखिदिए । त्यसभित्र बीस थान कथाहरू सङ्ग्रहीत छन्, जसमा नारीवादसँग सम्वन्धित कथाहरूकै बाहुल्यता रहेको छ । त्यसैगरी उनको पहिलो उपन्यास तथा दोस्रो कृतिको शीर्षक पनि नारीसँगै सम्वन्धित रहेको छ — ‘मैले बैँस भोगेकी छैन ।’ उक्त उपन्यासकी प्रमुख पात्र नारी नै छिन्, सन्ध्या । सन्ध्याले आफ्नो परिवारको उन्नति र प्रगतिका लागि कति सङ्घर्ष गरिन् र आपूm बूढी—कुमारी रहेरै पनि भाइहरूको जीवन सुधार्न पछि परिनन् भन्ने कुराको उजागर गरिएको छ ।

तर त्यसपछिका उनका कृतिहरूमा विचरण गर्दै जाने हो भने उनी नारीवादलाई चटक्कै बिर्सेर स्वच्छन्दतावादतिर बुर्कुसी मारेको भान हुन्छ । त्यो किन पनि जरुरी होला भने, अचेल सहरमा नारी—पीडाका स्वरहरू त्यति सुनिन्न बरू नारी स्वच्छन्दतावाद र नारी—छाडावादले सहर आक्रान्त छ । त्यसका बाछिट्टाहरू काँठतिर पनि पुगेको पाइन्छ । सागर ‘मणि’ थापा काँठकै एक बासिन्दा हुन् र उनका सबैजसो रचनाहरूमा काँठेसुगन्ध पाइन्छ ।

साहित्यकार सागर ‘मणि’ थापा आपूmलाई अथक साधक प्रमाणित गराउन लगाताररूपमा कृतिहरू प्रकाशित गराइरहेका छन्, जसको साक्षी प्रमाण तल दिइएको उनको परिचयबाट प्रष्टसँग खुल्दछ । पोहर साल मात्र उनका दुई कृतिहरू प्रकाशित भएका थिए— ‘सागरको साझा आइमाई’ (उपन्यास) र ‘भड्किँदो वर्तमान’ (कथासङ्ग्रह) ती दुवै कृतिले नेपाली पाठकहरूको मनलाई उथलपुथल पार्न सफल भएको थियो । साहित्यमा उनको यति लगाव छ, प्रकाशकहरूको मात्र भर परेर बस्ने उनको बानी छैन । अतः पहिलो कृतिमाभैmँ बाईस वर्षपछि आएर उनले आफ्नै लगानीमा ‘सागरको साझा आइमाई’ जस्तो गहकिलो औपन्यासिक कृति दिए, नेपाली समाजलाई !
भनिन्छ, साहित्यकारहरू जून—पूmल—नशा (जपूmन) सँग एकाकार हुन चाहन्छन् । केही महान् अग्रज साहित्यकारहरूमा त्यस्तो प्रवृत्ति देखिएकै हो । ती तीन चीजको आवद्धताले नै उनीहरू अझ प्रखर भए भन्ने धारणा पनि नभएको होइन । यद्यपि, नशा सेवनले कसैलाई पनि भलो गर्दैन, गरेको छैन । त्यसै भएर होला युवा साहित्यकार सागर ‘मणि’ थापा पनि उपर्युक्त भनाइको एक अपवाद भएका छन् । सर्जकलाई मध्यपान र धूमपानको आवश्यकता पर्दैन भन्ने कुराको एक प्रमाण हुन्— साहित्यकार थापा ।

साहित्यकार थापाको नयाँ कृति बजारमा आउनै लागेको छ— ‘चलखेल’ (उपन्यास), बाह्रौँ अवतारको रूपमा । थापाको विश्लेषणलाई सापटी लिएर भन्ने हो भने उक्त उपन्यास स्वेरकाल्पनिक कृति हो । यद्यपि, त्यसलाई राजनीतिक उपन्यासको रूपमा पनि लिन सकिन्छ । लगभग दुई दशकभित्र नेपाली राजनीतिमा आएका उतारचढाव र लोकतान्त्रिक गणतन्त्रको प्रादुर्भावका आयामहरूको एक दस्तावेज हो भन्छन् लेखक उक्त उसन्यास (चलखेल) लाई । उनी उक्त उपन्यासलाई आफ्नो महत्वाकाङ्क्षी कृति हो भन्न हिचकिचाउँदैनन् र उक्त कृतिले गतिलै पुरस्कारको बाजी मार्छ भन्ने कुरामा पनि ढुक्क छन् !

यस वर्ष श्री थापाका कम्तीमा ६ कृति प्रकाशित हुने सम्भावना देखिन्छ । उनी बालसाहित्य रचना गर्न पनि आतुर देखिन्छन् । आपूmले बाल्यकालमा पाएको पीडाहरू भुल्न र आजका बालबालिकाहरूको बौद्धिक ज्ञानका लागि साहित्यकार सागर ‘मणि’ थापा बालसाहित्यकार भनिन पनि लोभ पालेर बसेका छन् । हालै मात्र उनको बालकाथासङ्ग्रह मुरलीको टुरुटुर प्रकाशित भएको छ । साहित्यकार सागर ‘मणि’ थापाका आगामी दस वर्षसम्मका लागि साहित्यिक खुराक पाइप लाइनमा छन् । यही कुराले नै प्रमाणित गर्दछ, सागर ‘मणि’ थापा नेपाली साहित्यका एक अथक साधक हुन् ।

प्रकाशित मितिः २०७४ असोज ८

Sagar Mani Thapa
September 27, 2017 at 10:30 am

अर्थतन्त्र परिवारलाइ धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु