मोरङ । सुन्दा अचम्म लाग्न सक्छ । तर यो बास्तविक घटना हो । मोरंगको एउटा विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन गराउन कागती खेती सुरु गरिएको छ ।
मोरङकोे बुढीगंगा गाउँपालिका–६ मा रहेको कोयलपुर गछिया खोला किनारमा लटरम्मै कागती फल्न सुरु गरेका छन् । झण्डै दुई वर्ष पहिला सिरुघारी रहेको यो खोला किनारमा यसरी कागती फल्दा भनेर कमैले सोचेका थिए होलान् । तर अहिले कागती लटरम्मै फल्न थालेको छ । यसरी कागती फल्नुमा एकजनाको मात्र भूमिका छैन । यसमा १८ जना गाउँका सर्वसाधारणको हात र साथ छ । श्रृष्टी कृषक समूह बनाएर १८ जना सदस्यले यो कामलाई निरन्तरता दिँदै आएका छन् ।
जंगल र झाडीमा रहेको श्री सरस्वती उच्च माविको जग्गालाई श्रृष्टी कृषक समूहले कसरी सदुपयोग गर्ने भनेर विद्यालयसँग पटक पटक छलफल गरेको थियो । एक वर्षको १५ हजार रुपैयाँ समूहले दिने विद्यालयलाई दिने गरी जग्गा भाडामा लियो ।
विद्यालयलाई १२ वर्षपछि खाली जग्गामा वृक्षारोपण गरेर दिने भनेर सहमति भएपछि श्रृष्टी कृषक समूले जग्गा १२ वर्षको लागि आफ्नो स्वामित्वमा ल्याएको थियो । सिरुघारी रहेको जग्गालाई राम्रो जग्गा बनाउनको लागि १८ जनालाई २२ दिन लाग्यो । १८ जना किसान यसको आम्दानीबाट विद्यालयको शिक्षकलाई तलव खुवाउने अनि गाउँको विद्यालयको शिक्षालार्ई अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने सोचमा छन् ।
किसानको मेहनत देखेर तीनसय ६० बिरुवा निशुल्क वल्र्ड भिजन र एमडिएमएसले दियो । पछि किसानहरु आफैले ५० बिरुवा थपेर ४ सय बिरुवा बनाए । २ बिगाहा १४ कट्ठा जग्गामा किसानलाई कागती फलाउन जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गर्यो ।
यसमा सांसद अमनलाल मोदीले एक लाख रुपैयाँ सहयोग गरे । साबिकको सिसवनी गाबिसले ९० हजार रुपैयाँ, कृषि विकास कार्यालयले २५ हजार रुपौयाँ, सभासद कोषबाट एक लाख रुपैयाँ, सरस्वती उच्च माविले ६ हजार रुपैयाँ, वल्र्ड भिजन र एमडिएमएसले एकलाख ६५ हजार रुपैयाँ सहयोग गरे । श्रृष्टी कृषक समूहका सबै सदस्य मिलेर एक लाख २५ हजार ८ सय ६४ रुपैयाँ नगद र एक लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको श्रमदान गरेर यो अवस्थामा आएको समूहका अध्यक्ष बोधनारायण सिक्दार बताउँछन् ।
‘हामीले त विद्यालयको खाली जग्गालाई सदुपयोग गर्नको लागि यसरी विद्यालयको हितको लागि नै सहयोग गरेका हौं’ सिक्दारले भने ‘हामीले जग्गा लिएको नै तीन वर्ष हुन लागि सक्यो । अब ९ वर्ष बाँकी छ । यो अवधिमा हामीले कागतीको फाइदाबाट विद्यालयको पठन पाठनलाई गुणस्तरीय बनाउनु मात्र छैन । १२ वर्ष पछि ५ सय रुख बनाएर स्कूललाई हस्तान्तरण गर्नुछ ।’
समूहका अर्का सदस्य सत्यनारायण चौधरी आगामी दिनमा बिरुवा उत्पादन गरेर सहुलियत रुपमा बिक्रि बितरण गर्ने सोच बनाएको बताउँछन् । ‘कागती खेती गर्नको लागि मेहनत गर्न समस्या नभए पनि भुईमा झारेका कागती खेर जाने समस्या छ, समूहकी कोषाध्यक्ष सुशीला भगतले भने । ‘झारेका कागतीलाई संकलन गरेको भए पनि त्यसलाई कसरी अचार बनाउने भन्ने ज्ञान नहुँदा समस्या छ ।’
किसानले सुरु गरेको नयाँ अभियानबाट किसानले मात्र फाइदा लिने छैनन् यसको फाइदा विद्यालय, विद्यार्थी अभिभावकसँगै विद्यालयको पठन पाठनमा सुधार हुँदा समग्र बुढीगंगा गाउँपालिकाले नै लिने छ । तर किसानले प्राविधिक समस्या रहेको बताएका छन् । न्यूजएग्रोबाट
प्रकाशित मितिः २०७४ असो २
वि.सं.२०७४ असोज २ सोमवार ११:०२ मा प्रकाशित