काठमाण्डौं । सुर्योदय लघुवित्तको १ करोड २० लाख रुपैंयाको साधारण सेयरका लागि ३ दिनमा १ अर्ब ८५ करोड ७५ लाख ४४ हजार ५ सय ५० रुपैंयाको आवेदन परेको छ । आइतबार सर्वसाधारणका लागि शेयर निष्काशन गरेको सुर्योदय लघुवित्तको साधारण सेयरमा ३ दिनमा १ सय ५४ गुणा बढी आवेदन परेको हो ।
अत्यधिक बढी सेयर आवेदन परेपछि बजार आज बुधबारबाटै बन्द हुने भएकोछ । माग गरिए भन्दा धेरै गुणा बढी आवेदन परे पछि आवेदकहरुलाई कति सेयर बाँडफाँड होला भने प्रश्न उब्जिएकोछ । यस कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार र सोमबार लघुवित्तको साधारण सेयरमा ९५ करोड ३० लाख १५ हजार ८ सय रुपैंयाको आवेदन परेको थियो ।
सेयर निष्काशन भएको पहिलो दिन आइतबार मात्र लघुवित्तको साधारण सेयरका लागि ३७ करोड ४१ लख १३ हजार ३ सय रुपैंयाको आवेदन परेकोमा दोस्रो दिन सोमबार ५७ करोड ८९ लाख २ हजार ५ सय रुपैंयाको आवेदन परेको हो । तेस्रो दिन मंगलबार मात्र अघिका २ दिनको भन्दा धेरै अर्थात ९० करोड ६५ लाख ९६ हजार ८ सय ५० रुपैंयाको आवेदन परेको क्यापिटलले जनाएको छ ।
स्याङ्जाको पुतली बजारमा मुख्य कार्यालय रहेको संस्थाले निष्काशन गरेको १ लाख २० हजार कित्ता सेयर मध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको १ लाख ९ हजार २ सय कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका हुन् ।
सूर्योदयले नेपाल राष्ट्र बैङ्कबाट २०७० असार ६ मा ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा कारोवार गर्न स्वीकृति प्राप्त गरेको छ । केन्द्रीय कार्यलय स्याङ्जाको पुतलीवजारमा रहेको लघुवित्तले कार्यक्षेत्र बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पा जिल्लामा २४ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
१५ भदौ २०७३, ११।००
वि.सं.२०७३ भदौ १५ बुधवार १२:३८ मा प्रकाशित