back
NMB ad

सेयर बजारमा छिर्दै हुनुहुन्छ ? कसलाई हेर्नुहुन्छ ?

Kumari bank ad

सामाजिक सञ्जालहरूमा सेयर बजार परिसूचक नेप्से यो वा त्यो अंकमा आउँछ भन्ने अनुमानहरू व्याप्त छन्। धेरैले १२ सयसम्म झर्छ भनेका छन्। केहीले अहिलेलाई न्युनतम विन्दु भनेको एक हजार हो भन्छन्। अर्काथरी अझै निराश हुँदै आठ सयसम्म झर्छ भन्छन्।

यस्ता अनुमानका पछाडि ठोस तर्क र तथ्य छैनन्। केहीले प्राविधिक विश्लेषण गरेका छन्। बजारमा पाइने सफ्टवेयरहरूको प्रयोगमार्फत् गरिएका यस्ता विश्लेषण प्रयासलाई सराहनीय मान्न सकिन्छ। ती विश्लेषकले निष्कर्षमा पुग्न केही मेहनत गरेका छन्। तर, प्राविधिक विश्लेषणको विधि आफैंमा जोखिममुक्त र शतप्रतिशत भरपर्दो हुँदैन। त्यसैले, विद्वानहरू ‘बजारलाई होइन, आफ्नो व्यवहार’ लाई हेर भन्छन्।

बजारको चाल अविश्वसनीय हुन्छ। बजारको उतारचढाव सधैं तर्कसंगत हुँदैन। हाम्रो व्यवहारबाट बजार निर्देशित हुन्छ। हामीमध्ये धेरैले खरिद गर्ने निर्देशन दियौं भने बजार बढ्छ, बिक्री गर्न भन्यौं भने घट्छ। मान्छे तर्कशील विवेकी प्राणी हो भनिन्छ। खरिदबिक्री गर्ने हाम्रो आफ्नै निर्णय भने विवेकसम्मत नहुन सक्छ। भावनामा बहकिने सम्भावना धेरै हुन्छ।

पहिले सेयर बजारमा निर्धारण हुने मूल्यमा यससम्बन्धी सूचना समायोजित हुन्छ भन्ने मानिन्थ्यो। लगानीसम्बन्धी निर्णय गर्न सर्वसाधारणलाई आवश्यक पर्ने सूचना बजार मूल्यमा प्रतिबिम्बित हुन्छ भन्ने सिद्धान्त लोकप्रिय थियो। उदाहरणका लागि कुनै कम्पनीले केही नयाँ काम गर्यो, जसले उसको व्यवसाय वा नाफा बढ्ने पक्का छ भने त्यस्तो सूचना बजारमा पुगिहाल्छ अनि उक्त कम्पनीको सेयर मूल्य सोही अनुपातमा बढ्छ भन्ने सार ती सिद्धान्तको थियो।

लगानीकर्ताले थप मेहनत गर्नै पर्दैन, बजारले ठहर्याएको मूल्य सही हो, त्यसमै किनबेच गरे हुन्छ भन्ने सिफारिस ती सिद्धान्तले गरेका थिए। जुन बजारमा त्यस्ता सूचना जुन तीब्रताका साथ समायोजन हुन्छ त्यति नै मात्रामा त्यो बजार चुस्त ९एफिसिएन्ट० हुन्छ भन्ने दाबी गरिएको हुन्थ्यो। यस्तो सिद्धान्तको जगजगी ७० दशकको पूर्वाद्धदेखि ८० दशकको उत्तराद्र्धसम्म रहिरह्यो।

कसैकसैले यस्तो तत्वज्ञान नभएर पहिलेपहिले वित्त बजारमा संकट आएको थियो पनि भने। यो सिद्धान्तमा खोट छ भनेर चुनौती दिनेहरूको खासै सुनुवाइ भएन। बजार उकालो लागिरहेको थियो, धेरै जना धनी भइरहेका थिए, नकारात्मक कुरा सुन्ने फुर्सद कसैलाई थिएन।

त्यसपछि वित्त बजारमा संकट देखा पर्न थाल्यो। फेरि बजारको समीक्षा हुन थाल्यो। पहिले ‘वाहियात’ भनिएका कुराले महत्व पाउन थाल्यो। त्यसैमध्येका थिए दुई मनोवैज्ञानिक डेनियल कानेमान र अमोस ट्वेभस्र्की। उनीहरूको सोधले अहिले आएर बृहत ‘बिहेभिअरल इकोनोमिक्स’ को रूप लिएको छ। ज्ञानको यो क्षेत्रमा मानवीय व्यवहारको आलोचनात्मक विश्लेषण गरिन्छ। विवेकशील भनिएका मान्छेको व्यवहार विवेकी नै हुन्छ भन्ने निश्चित छैन। त्यस्ता अविवेकी व्यवहारको योगले संकट जन्माउँछ। मान्छेले जान्दाजान्दै लोभ, डर, इष्र्या, अहंकार लगायत भावनात्मक कारणले गलत काम गरिरहेको हुन्छ।

बिहेभिअरल इकोनोमिक्समा उठान गरिएका मूल मनोवैज्ञानिक विषयमध्ये ‘एन्करिङ’ अहिलेको हाम्रो सेयर बजारको अवस्थासँग मिल्दोजुल्दो छ। एन्करलाई नेपालीमा अंकुश भन्न सकिन्छ। यो यस्तो मनोवैज्ञानिक अंकुश हो जसले हामीलाई एउटा विन्दुमा अड्याएर राख्छ। हाम्रो अवचेतनले निर्धारण गरेको सीमाभन्दा अगाडि बढ्न वा पछाडि हट्न रोकेको हुन्छ।

एउटा चलेको उदाहरण छ, साइकल सिक्ने सिकारुको। एउटा ठूलो चौरमा ऊ साइकल चलाउन सिकिरहेको हुन्छ। चौरको कुनै कुनोमा एउटा सानो ढुंगा हुन्छ। साइकल चलाउनेले त्यो ढुंगा देखेको हुन्छ। त्यो ढुंगामा अल्झिएर लडिन्छ कि भन्ने उसलाई लाग्छ। नभन्दै साइकल चलाउँदै जाँदा ऊ त्यही ढुंगामा परेर लड्छ।

यो एउटा उदाहरण मात्र हो भन्ने लाग्न सक्छ। हाम्रो दैनिक जीवनमा यस्ता कयौं घटना हुन्छन्। कानेमन र ट्वेभस्र्कीले १९७४ मा एउटा प्रयोग गरेका थिए। उक्त प्रयोगमा सहभागीहरूको अगाडि एकदेखि सयसम्म अंक भएको एउटा पांग्रा घुमाइन्थ्यो। त्यो पांग्रा १० मा आएर रोकिन्थ्यो अनि सहभागीहरूलाई सोधिन्थ्यो, ‘राष्ट्रसंघमा सदस्य अफ्रिकी मुलुकहरूको हिस्सा कति छरु’

उनीहरूको जवाफ हुन्थ्यो औसतमा २५ प्रतिशत। यसैगरी सहभागीहरूको अर्को समूहलाई पांग्रा घुमाएर ६० मा रोकिएपछि उही प्रश्न सोधिन्थ्यो अनि उनीहरूको जवाफ हुन्थ्यो औसतमा ४५ प्रतिशत।

यहाँ सहभागीहरूको मनोग्रन्थीमा अंकुश लागेको थियो। अंक १० देखेका सहभागीले नजिकैको अंक २५ बताएका थिए भने ६० देखेकाले नजिकैको ४५। जबकि, घुमाइएको पांग्रामा उल्लेख भएको अंक र राष्ट्रसंघमा सदस्य अफ्रिकी मुलुकको अनुपातबीच कुनै सम्बन्ध नै थिएन, छैन।

यस्तै खालको मनोवैज्ञानिक कमजोरी सेयर बजार लगानीकर्तामा पनि हुन्छ। लगानीकर्ताहरूले कुनै सम्बन्ध नै नभएको अंक वा आँकडालाई आधार बनाइरहेका हुन्छन्। उदाहरणका लागि धेरै लगानीकर्ता छोटो समयमा निकै घटेको सेयरमा लगानी गर्न उद्यत हुन्छन्। उनीहरूको दिमागमा हालसालै उक्त सेयरले हासिल गरेको उच्च मूल्यको अंकुश लागेको हुन्छ। उनीहरूलाई लाग्छ, सेयरको मूल्य अब निकै तल झरिसकेको किन्ने बेला यही हो।

स्वाभाविकै हो, मूल्य घटेकै बेला सेयर किन्नुपर्छ। बजार ओरालो लागेको बेला केही सेयरको भाउ निकै तीव्र गतिमा घट्ने गर्छन्। कहिलेकाहीँ सेयरमा अन्तर्निहित आधारभूत कारणले पनि त्यसको मूल्यमा गिरावट आएको हुन्छ। अघिल्लो वर्ष उच्च नाफा गरेकाले सेयरको भाउ बढेको कम्पनीको यस वर्ष त्यत्तिकै नाफा गर्न नसक्दा घट्न पनि सक्छ। यस खालको पूरापूर विश्लेषण गर्न हामी चुकेका हुन्छौं।

stock share confusion

यस खालको अंकुशे प्रभाव बजार घट्दा वा बढ्दा दुवै अवस्थामा देखा पर्न सक्छ। एकताक बजारमा हल्ला थियो, नेप्से अब २५ सय पुग्छ भन्ने। त्यस्तो हल्लाका पछाडिको आधार के थियो कसैले सोधखोज गरेन। बजार बढ्दै गयो, १८८२ सम्म पुगेर थामियो। त्यसपछि घट्न थाल्यो, घट्दै गएपछि फेरि १२००, हजार र आठ सयका आँकडा आएका छन्।

अंकुशे प्रभावबाट बच्न लगानीकर्तामा आलोचनात्मक दृष्टिकोण हुनुपर्छ। सेयर खरिदबिक्रीको निर्णय गर्दा कुनै असान्दर्भिक आँकडाकोे प्रभावमा परिएको त छैन भन्ने विचार गर्नुपर्छ। बजार परिसूचक वा सेयरको बजार मूल्य मात्रै लगानीका लागि आवश्यक निर्णायक आधार हुँदैनन्। सेयर किनबेच गर्न लागिएको कम्पनीको विविध पक्षबाट समग्रतामा अध्ययन गर्नुपर्छ।

‘अंकुशे’ जस्तै थुप्रै मनोवैज्ञानिक पूर्वाग्रह हुन्छन्, जसले हाम्रो लगानी निर्णयलाई प्रभाव पारिरहेको हुन्छ। अर्को हो, मनोगत लेखांकन। कमाई गरेको पैसा र कुनै काममा खर्च गर्ने पैसालाई मानसिक रूपमा अलग्याउने हाम्रो बानी हुन्छ। तलब, ज्यालाजस्ता नियमित स्रोतबाट आएको पैसा खाने–लाउने, घरभाडा तिर्ने, केटाकेटीको पढाइमा खर्च गर्नेजस्ता नियमित काममा लगाउने र आकस्मिक रूपमा पाएको पैसा फुर्माइस गर्ने गर्छौं वा त्यसैअनुसारको योजना बनाउँछौं। नियमित वा आकस्मिक स्रोतबाट प्राप्त भएको होस्, नियमित वा फुर्माइसमा खर्च गर्ने होस्, पैसा भनेको पैसै हो भन्ने बिर्सिन्छौं।

वित्त बजारमा लगानी गर्दा पनि यस्तै खालको त्रुटि गरिन्छ। जोखिमयुक्त र कम जोखिमयुक्त क्षेत्रमा अलग्याएर लगानी गरिन्छ। पहिलेपहिले अर्थशास्त्री यस्तै सुझाउँथे। धेरैलाई यो रणनीति बजारलाई जित्ने अचुक अस्त्र हो भन्ने विश्वास छ। तर, कम वा बेसी जुनसुकै मात्राको जोखिमयुक्त क्षेत्र होस् लगानी खराब पल्टियो भने प्रतिफल कम भई नै हाल्छ।

पुष्टीकरण र भूतदर्शी पूर्वाग्रहले पनि हामीलाई राम्ररी झुक्याउँछ। हामीले जे देख्न वा सुन्न चाहेका हौं त्यही देख्ने वा सुन्ने गर्छौं। यस्तो मानसिक समस्या थोरबहुत धेरैमा हुन्छ। लगानीकर्तालाई कुनै कम्पनीको सेयर किन्न मन लागिरहेको छ। उसले कम्पनीको बारेमासोधखोज थाल्छ। यस क्रममा कम्पनी नराम्रो हो भन्ने पुष्टी हुने बलियो र ठोस प्रमाण फेला नपारेसम्म उसले कम्पनीका बारेमा राम्रा कुरा मात्रै टिप्दै जान्छ, नराम्रा कुरा छाड्दै जान्छ। र, निष्कर्षमा पुग्छ, कम्पनी राम्रो हो।

यहाँनेर कम्पनी राम्रो भएर उसले राम्रा कुरा थाहा पाएको होइन। बरु पहिल्यै एक किसिमको धारणा बनाएर सोधखोज गरिएकाले राम्रो हो भन्ने पुष्टि हुन गएको हो।

‘यस्तो हुन्छ भन्ने त मलाई पहिल्यै थाहा थियो’ भन्ने किसिमको अभिव्यक्ति भूतदर्शी पूर्वाग्रह हो। संसारभर विभिन्न समयमा ठुल्ठूला संकट आएका छन्। त्यस्ता संकटको एउटा पक्ष हुँदाहुँदै मान्छे त्यसबाट मुक्त थिए र त्यसको जानकारी आफूलाई पहिल्यै थियो भन्ने स्वांग पार्छन्। जस्तो, नेप्से यतिउति विन्दुमा पुग्छ, घरजग्गा कारोबार घट्छ, ब्याज दर बढ्छ वा घट्छ भन्ने मलाई पहिल्यै थाहा थियो भनेर पछि ठोकुवा गर्ने मान्छे थुप्रै हुन्छन्।

जुवाडे त्रुटि अर्को मनोवैज्ञानिक समस्या हो। लंगुरबुर्जामा लगातार पाँचपटक झन्डा डबल देखा पर्यो भने अर्कोपल्ट पनि झन्डा डबल नै पर्छ भनेर दाउ लगाउने कुरालाई मनोवैज्ञानिकहरूले जुवाडे त्रुटि भनेका छन्। हाम्रो दैनिक जीवनमा, हाम्रा टोलछिमेकमा यस्ता कयौं पात्र फेला पर्छन्। सेयर बजारमा लगातार चार दिन बढेको कम्पनीको सेयर पाचौं दिन पनि बढ्छ भन्ने मानसिकताले काम गरेको हुन्छ। समय विभाजनको आधार भने दिन, साता, महिना वा वर्ष कुनै पनि हुन सक्छ।

‘यत्रा मान्छे लागिपरेका छन्, ठिकै त गरेका होलान् नि’ भनेर भिडलाई पछ्याउने प्रवृत्ति लगानीकर्तामाझ आम रूपमा देखिने अर्को मनोवैज्ञानिक समस्या हो। लोभलालचले भ्रमान्ध बनाएपछि हामी यस्तो व्यवहार गर्छौं। सेयर बजारमा मात्र नभएर हाम्रो गलैंचाको व्यापार, पस्मिनाको निर्यात, घरजग्गा कारोबार, वैदेशिक रोजगारलगायत क्षेत्रमा यस्तै प्रवृत्ति देखा परेको थियो, छ। यस्तो पूर्वाग्रहपीडित मान्छेले वास्तवमा कुनै चीजले कसरी काम गरिरहेको छ भनेर भित्री कुरा बुझ्ने कष्ट गर्दैन्।

अति आत्मविश्वासबाट प्रभावित भएर पनि सेयर बजारमा धेरै गल्ती हुन्छन्। कुन सेयर किन्ने, कुन बेच्ने, कहिले किन्ने, कहिले बेच्ने भन्ने अरूलाई भन्दा मलाई बढी थाहा छ भन्ने अतिविश्वास केही लगानीकर्तामा हुन्छ। विकसित बजारहरूमा गरिएका अध्ययनअनुसार यस्ता लगानीकर्ता पटकपटक सेयर किनेबच गर्छन् र यसरी बारम्बार किनबेच गर्दा कारोबार लागत बढ्छ र प्रतिफल कम हुन्छ।

केही लगानीकर्ता नयाँ सूचनामा तीव्र प्रतिक्रिया जनाउँछन्। नकारात्मक समाचार आए बेचिहाल्ने र सकारात्मक समाचार आए किनिहाल्ने बानी यिनीहरूको हुन्छ। यस्ता लगानीकर्ताले बजार ह्वात्तै बढाउने र ह्वात्तै घटाउने गर्छन्। यो वर्गका लगानीकर्ताले पनि बजारबाट पूरा लाभ उठाउन सक्दैनन्।

हालसालैको घटनाबाट अति प्रभावित हुने र केही समयपछि त्यसलाई पूरै बिर्सिदिने मनोवैज्ञानिक समस्या पनि लगानीकर्तामा हुन्छ। सवारी चलाउनेले सधैं हिँडिरहने बाटोमा कुनै दिन दुर्घटना देख्दा अर्को दिन त्यही ठाउँमा अलिक सचेत भएर सवारी चलाउँछन। घटना पुरानो हुँदै जाँदा ठाउँ पनि बिर्सिइन्छ र सतर्क हुन पनि छाडिन्छ। यस्तो समस्या भएका लगानीकर्ता अल्पकालीन लगानीमा रमाउँछन्। यिनीहरूमा दीर्घकालीन लगानी दृष्टिकोणको सर्वथा अभाव हुन्छ। यसले उनीहरूलाई दीर्घकालीन लगानीबाट प्राप्त हुने सहज तथा सुरक्षित लाभबाट वञ्चित बनाउँछ।

ओलम्पिक पदक विजेताहरूमाथि अध्ययन गर्दा स्वर्ण विजेता खुसी हुने नै भए। तर, रजत विजेताभन्दा काँस्य विजेता बढी खुसी भेटियो। रजत विजेतालाई आफू दोस्रो भएकोमा खुसी हुनुको सट्टा पहिलो किन भइनँ भन्ने पीडा भएको फेला पर्यो। कास्य विजेताहरू भने चौथो, पाचौंभन्दा अगाडि भएकोमा निकै खुसी रहेको पाइयो। यसबाट मनोवैज्ञानिकहरूले के निष्कर्ष निकाले भने मान्छेले उपलब्धिलाई भन्दा नोक्सानीलाई बढी भार दिन्छन्। यस्तै अध्ययन सेयर बजारमा गर्दा लगानीकर्ता नराम्रो सेयर लामो समयसम्म लिएर बस्ने र राम्रो सेयर आत्तिएर बेच्ने गरेको पाइयो। मान्छे नाफा बढाउनेभन्दा नोक्सान कम गर्नेतर्फ बढी केन्द्रित हुँदा यस्तो हुन गएको निष्कर्ष अध्ययनकर्ताले निकालेका छन्।

share market confusion

मनोवैज्ञानिक पूर्वाग्रहरूबाट मुक्त भएर लगानी गर्दा पनि बजारभन्दा बाहिरको कारणले हाम्रो धन कमाउने आकांक्षामा अंकुश लाग्न सक्छ। बजारको काबुबाहिर त्यस्ता अनेकौं राजनीतिक तथा सामाजिक कारण हुन्छन्। त्यसैले, विद्वानहरूले बजारलाई होइन, आफूलाई हेर्नुपर्छ भनेका हुन्। बजार कसैको काबुमा हुन सक्दैन। बरु आफ्नो व्यवहार र लगानीलाई नियन्त्रणमा राख्न सकिन्छ। कमाउने र गुमाउने सीमा निर्धारण गर्न सकिन्छ।

मुराहरि पराजुली,  [email protected]

११ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ११ बुधवार ११:११ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...