Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017

सुदूरपश्चिमको खेलकुदः खेलाडी छन् तर पूर्वाधार छैनन्

January 8, 2017

sports

काठमाडौमा २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा महाकाली अञ्चलका लागि सुटिङ्गका खेलाडी डा हरेन्द्र विष्टले पहिलो स्वर्ण दिलाए । चालीसको दशकदेखि नै सुदूरपश्चिमाञ्चलले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको भए पनि पछिल्ला वर्षका परिणाम उत्साहजनका देखिएका छैनन् ।

सन् १९८८ को सियोल ओलम्पिकमा एउटा खेलाडीलाई पराजित गरेर कीर्तिमान कायम गरेका बक्सर विष्णुबहादुर सिंहदेखि तेक्वान्दोका ओलिम्पिक खेलाडी दीपक विष्ट सुदूरपश्चिमकै उत्पादन हुन् । पाँचजना ओलम्पिक खेलाडी जन्माएको सुदूरपश्चिमको खेल जगत् पछिल्लो समय खस्किँदै गइरहेको छ । “बक्सिङ, कबड्डी, भलिबल, ह्याण्डबललगायतका खेलमा पहिले सुदूरपश्चिमको स्तर राम्रै थियो,” कञ्चनपुरस्थित तेक्वान्दोका प्रशिक्षक मोहनप्रताप गुरुङले भने, “तर पछिल्लो अवस्थामा राष्ट्रियस्तरमा सुदूरको स्थान तल पर्दै गइरहेको छ ।”

पहिलोदेखि तेस्रो बृहत् राष्ट्रिय प्रतियोगिता हुँदासम्म नेपाली कबड्डी खेलको इतिहासमा नियमित स्वर्ण पदकमाथि कब्जा जमाउँदै आएको सूदुरपश्चिमको कबड्डीको स्तर पनि तल झरेको देखियो । पछिल्लो समय क्रिकेट, फुटबल, ब्याडमिन्टन, हक्की, तेक्वान्दो जस्ता खेलमा खेलाडी राम्रो उत्पादन भए पनि तिनको व्यवस्थापनमा भने खासै पहल भएको देखिँदैन । ‘हामीले जन्माएका खेलाडी सबै विभागीय टोलीमा छन्,’ कराँतेका प्रशिक्षक कर्मबहादुर सिंहले भने, “खेलाडी बाँच्नका लागि पनि विभागीय टिममा पस्नुको विकल्प छैन ।”

आवश्यक खेल सामग्री, नियमित प्रशिक्षण, भौतिक संरचनाको कमी र खेलाडीको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद्को बेवास्ता पनि यहाँको खेलस्तर खस्किनुका कारण हुन् ।

“खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न समेत यहाँ पूर्वाधारको अभाव छ,” जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भने, “खेलकुदमा लाग्ने खेलाडी आफ्नो बाँच्ने आधार नहुँदा खेललाई बेवास्ता गर्न पुग्छन् ।” पछिल्लो समय विभिन्न खेलका नयाँ खेलाडी उत्पादनमा पनि ¥हास आइरहेको छ । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँका धेरै खेलाडी भविष्य खोज्दै भारतलगायत तेस्रो मुलुक पलायन भइसकको बताए ।

“राम्रो प्रदर्शन गर्ने खेलाडी विभागीय टिमबाट खेल्न थाल्छन्,”  उनले भने, “खेलाडीका लागि जागिरदेखि खेल अवधिसम्म उचित व्यवस्थापनसहितको प्याकेज ल्याउन नसकिए स्तर बढ्ला भनेर आशा गर्नु  बेकारको कुरो हो ।” खेलाडीको हकहित भन्दा पनि पार्टीको विचार खेलकुदमा प्रचारका रुपमा प्रयोग गर्नु यहाँ अर्को समस्या देखिएको छ ।

“खेलकुद थाहा नभएका खेलकुद हाँक्न आउँछन्,” भीमदत्तनगरका एक राष्ट्रिय खेलाडीले भने – “पदाधिकारीको ध्यान खेलाडीलाई राम्रो गरौँ भन्दा पनि अन्यत्रतिर बढी केन्द्रित हुन्छ ।’ बक्सिङ ओलम्पिक खेलाडी डम्बरदत्त भट्टले खेलाडीलाई रोजगारीको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । “राम्रो गर्ने खेलाडीलाई प्रोत्साहान गर्दै जागिरलगायतका सुविधा दिनसके खेलप्रतिको आकर्षण र लगाव पनि बढ्छ ।” उनले भने, “खेलकुदमा लागेर जुत्ता समेत खरिद गर्न नसक्ने अवस्थामा खेलाडीले केही गर्न सक्दैनन् ।”

चेलीहरूले दिलाएका चार स्वर्ण

छोटो समयको प्रशिक्षण र न्यून भौतिक सुविधाकाबीच सुदूरपश्चिमका लागि हालै सम्पन्न सातौँं राष्ट्रिय खेलकुद प्रतियोगितामा चेलीहरुले चार स्वर्ण दिलाएका छन् । महिला हक्की र जुडोमा कञ्चनपुरकी सुनिता बोहरा, सेपोकटाक्रोमा कञ्चनपुरकै शर्मिला नेपाली र उसुतर्फ कैलालीका एलिना चौधरीले सुदूरलाई स्वर्ण दिएकी हुन् । वरियता क्रममा सबै भन्दामुनि आठौं स्थानमा रहेको सुदूरपश्चिमले सातौँं राष्ट्रियमा चार स्वर्ण, ११ रजत र ५९ कास्य गरी ७४ वटा पदक हासिल गरेको थियो ।

“सुदूरपश्चिममा अन्य समय भन्दा प्रतियोगिताका बेला मात्रै प्रशिक्षण बढी हुन्छ ।” महिला हक्कीका क्याप्टेन तुलसी डगौंराले भनिन्, “नियमित प्रशिक्षण र खेल सामग्रीको अभाव नभइदिए यहाँका खेलाडी पनि राम्रो स्थान ओगट्न सक्छन् ।”

एक हप्ताको प्रशिक्षणपछि आफूहरु सातौँं राष्ट्रियमा स्वर्ण चुम्न सफल भएको बताउँदै डगौँराले आफ्नै खर्चमा प्रतियोगितामा जानुपरेको गुनासो गरिन् । तेस्रो राष्ट्रिय प्रतियोगितासम्म अञ्चलबाट प्रतिनिधित्व गरेर खेलाडीहरु राष्ट्रिय स्तरका खेलमा प्रदर्शनका लागि जान्थे । तर अञ्चलस्तरसम्म सहभागी हुँदा महाकाली अञ्चलले कुन खेलमा, कुन खेलाडीले स्वर्ण वा अन्य पदक दिलाएको थियो भन्ने तथ्याङ्क जिल्ला खेलकुद विकास समितिमा छैन ।

सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिसँग पनि सुदूरका खेलाडीले हालसम्म पाएका पदकको कुनै लेखाजोखा छैन । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताको संस्करण सकिसक्दा पनि यहाँका खेलकुद विकास समितिले पदक जित्ने खेलाडी, पदकको अभिलेख राख्नसम्म चासो राखेको देखिँदैन । छैठौँ प्रतियोगितासम्मको सुदूरपश्चिमको स्वर्णको अभिलेख  माग्दा सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले अध्यावधिक अभिलेख नभएको स्वीकार गरे ।

सातौमा एउटै विद्यालयबाट दश खेलाडी

यहाँको भीमदत्तनगर–१५ खैरभट्टी लक्ष्मी माविका दशजना विद्यार्थी हालै पूर्वाञ्चलमा सम्पन्न सातौँं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका छन् । “खो खो र कबड्डीमा सहभागी खेलाडी पदकसहित फर्किए,” विद्यालयका खेल शिक्षक तथा कबड्डीका राष्ट्रिय खेलाडी तर्कराज भट्टले भने, “सातौंमा दुई छात्र र आठजना छात्रा खेलाडी सहभागी थिए ।” विद्यालयले दशजना खेलाडी उत्पादन गरेर सातौं राष्ट्रियसम्म पु¥याएको श्रेय खेल शिक्षक भट्टलाई नै दिएका छन् ।

“म अढाई वर्ष पहिले स्कुलमा जाँदा कुनै खेल हुँदैन्थ्यो,” पाँचवटा राष्ट्रिय कबड्डी प्रतियोगिताको अनुभव लिइसकेका खेल शिक्षक भट्टले भने, “नियमित प्रशिक्षणपछि विद्यार्थी अध्ययनसँगै खेलकुदमा पनि अब्बल हँुदै गएका छन् ।” त्यसैगरी, खेल सिकाउन थालेको पहिलो वर्षमै विद्यालयकी छात्रा रेखा थापाले १२ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साफ)मा खो खोमा कास्य पदक जितेकी छन् । रासस

प्रकाशित मितिः २०७३ पुस २४

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु