काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दर्ता भएर पनि लामो समयसम्म दर्ता शुल्क तथा वार्षिक शुल्क नतिरेका ७ वटा कम्पनीको दर्ता खारेजी हुने भएको छ ।
सेयर कारोबार गराउन भन्दै नेप्सेमा सुचिकृत भए पनि त्यस पछि दर्ता तथा वार्षिक शुल्क नबुझाएका ७ कम्पनीको दर्ता खारेजी गर्ने तयारी नेप्सेले गरेको हो । उल्लेखित शुल्क नबुझाएकै कारण निलम्बनमा परेका कम्पनीहरुलाई लगानीकर्ताको हितलाई ध्यानमा राखेर पटक पटक सबै शुल्क बुझाउन ताकेता गरिए पनि सम्पर्कमा नआएका कारण खारेज गर्न लागिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार दर्ता खारेजीको तयारीमा परेका कम्पनीहरुमा बुटवल स्पाइनिङ मिल, याक एन्ड यती होटल, विराट सुज, नेपाल ट्रेडिङ, फ्लुयर हिमालयन लिमिटेड, अरुण वनस्पति उद्योग, नेपाल बिटुमिन तथा ब्यारेल उद्योग रहेका छन् । सबै कम्पनीहरुले ५ देखि १० वर्षसम्मको शुल्क नबुझाएको नेप्सेले जनाएको छ ।
२१ जेठ २०७३, १०.००
वि.सं.२०७३ जेठ २१ शुक्रवार ११:१४ मा प्रकाशित