काठमाण्डौं । दशैं सुरु हुन केही दिन बाँकी रहँदा घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका छन्।
महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले मङ्गलबार मात्र ७२ हजार २१४ जना बाहिरिएको बताए। उनले भने “अरु समयमा ६० देखि ६५ हजारको हाराहारीमा बाहिरिने गरेकामा केही दिनदेखि बढेको छ ।”
घर जाने यात्रु नठगिउन् भन्ने उद्देश्यले यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाको टोली दिनहुँ अनुगमनमा जाने गरेको मल्लले बताए। महाशाखाले यात्रुलाई सहज गन्तव्यस्थलसम्म पुर्याउनका लागि यातायात व्यवसायीसँग आग्रह गरेको छ।
महाशाखाले यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १२ स्थानमा नागरिक सहायता कक्षसमेत सञ्चालन गरेको छ।
प्रकाशितः २०७३ असोज १३
वि.सं.२०७३ असोज १३ बिहीवार १०:५९ मा प्रकाशित