नयाँ दिल्ली । मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीले अनौठो घोषणापत्र जारी गरेको छ । भारतको उत्तर प्रदेशमा आगामी फ्रेबुअरीमा विधानसभाको चुनाव हुँदैछ । सो चुनावमा मोदीको पार्टीसँग प्रतिस्पर्धा गर्नका लागि उसले कांग्रेस आइसँग चुनावी गठबन्धनसमेत गरेको छ ।
मुख्यमन्त्री अखिलेशको समाजवादी पार्टीको घोषणापत्रमा कुनै व्यक्तिले अपाङ्ग महिलासँग विवाह गरेमा त्यो जोडीलाई सरकारले एउटा घर र दुई लाख रुपयाँ प्रदान गर्ने आश्वासन दिइएको छ । साथै अपाङ्ग तथा जेष्ठ नागरिकहरुका लागि खाने तथा बस्ने व्यवस्था सरकारले गर्नेसमेत घोषणा गरिएको छ ।
समाजवादी पार्टीले चुनाव जितेमा गरिव महिलाहरुका लागि खाना पकाउने प्रेसर कुकर प्रदान गर्ने पनि घोषणापत्रमा उल्लेख छ । त्यस्तै सार्वजनिक यातायातमा महिलालाई ५० प्रतिशत छुटको व्यवस्था गर्ने भनिएको छ ।
त्यसैगरी माध्यमिक तहका छात्राहरुलाई स्कुल जानका लागि साइकल प्रदान गर्ने घोषणा पत्रमा उल्लेख छ । विद्यार्थीहरुका लागि लोडसेडिङबाट मुक्त गराउन सोलार वत्ती बाँड्ने आश्वासन दिइएको छ । जेहेन्दार विद्यार्थीहरुका लागि ल्यापट तथा अन्य सहुलियत दिने घोषणासमेत गरिएको छ । यादवको पार्टीले अल्पसंख्यक समुदायका लागि धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गर्नेसमेत घोषणा गरेको छ ।
त्यति मात्र नभएर चुनाव जितेमा कृषकहरुका लागि सस्तो ब्याजरदमा ऋण दिने प्रतिवद्धता समेत घोषणापत्रमा गरिएको छ ।
१० माघ २०७३, १।००
वि.सं.२०७३ माघ १० सोमवार १२:५६ मा प्रकाशित