तपाई भान्छामा मसला राखेको खानेकुरा बनाउन रुचि राख्नुहुन्छ भने एमडीएच मसलाको नाम तपाईले पक्कै पनि सुन्नुभएको हुनसक्छ । एमडीएच मसला भारतकै प्रसिद्ध मसलाको नाम हो । जुन नेपालमा पनि सहजै किन्न पाइन्छ । यसको ब्राण्डले नै यसका मसलाहरुलाई प्रसिद्ध बनाएकोछ ।
यी मसलाका धुलोहरु पछाडिको कहानी पनि कम रोचक छैन । महाशय धरमपाल गुलाटीको जन्म शैलकोटमा भएको थियो । जुन अहिले पाकिस्तानमा पर्दछ । उनका आमा र बुवा आर्य समाज मान्दथे भने अत्यन्त धार्मिक पनि थिए । उनीहरुको गरिब परिवार थियो । त्यही भएका कारण नै बाल्यकालमा धरमपालले ५ कक्षासम्म मात्र अध्ययन गर्न पाए । ५ कक्षाको पनि परीक्षा दिन नपाउँदै उनले अध्ययन छाड्नुप¥यो ।
अध्ययन छाडेपछि उनी आफ्ना पितालाई सघाउँथे । घर खर्च धान्ने पैसाका लागि उनीहरुले ऐनाको व्यापार गरेका थिए । उनीहरुको पसल सानो थियो । धमरपाल त्यही बसेर आफ्ना पितालाई सघाउँथे ।
तर यो कामबाट पैसा नआएपछि उनले काठको व्यापार गर्न थाले त्यसबाट पनि सोचेजस्तो आम्दानी हुन सकेन । त्यसपछि उनले कपडाको व्यापार गरे । तर त्योबाट पनि केही उचित आम्दानी हुन सकेन । पछि उनले हार्डवेयर व्यापार पनि गरे तर त्यसमा पनि उनलाई मन लागेन । पछि फेरि चामलको ढुृवानी गर्ने काम गर्न थाले तर त्यसमा पनि धमरपालको मन भिजेन । यसरी विभिन्न व्यापार व्यवसाय गरेर पनि भनेजस्तो आम्दानी नभएपछि उनीहरु आफ्नो पुख्र्यौली पेशा फर्किए ।
उनीहरुको पुख्र्यौली पेशा भनेको खुर्सानीको व्यापार थियो । जुन देगी मिर्चका नामले चिनिन्थ्यो । त्यसमा उनले काम गर्न थाले । तर त्यति नै बेला देशमा राजनैतिक परिवर्तन आयो । भारत र पाकिस्तानको विभाजनले त्यहाँ तनाव ल्याएपछि धरमपाल भारततिर आए । त्यतिबेला उनका पिताले उनलाई १५ सय भारतीय रुपैयाँ दिएका थिए । त्यही लिएर केही काम गर्ने उदेश्यका साथ उनी दिल्ली आइपुगे ।
उनले आफूसँग भएको १५ सय रुपैयाँ मध्येबाट ६ सय ५० रुपैयाँमा टांगा किने । घोडाको सहायताले चल्ने टांगा चलाएर उनले दैनिक गुजारा गर्न पैसा आम्दानी गर्न थाले । त्यतिबेला उनी दिल्लीको न्यू दिल्ली रेल्वे स्टेशनबाट कताव रोड त्यसपछि कोरल वागबाट बारा हिन्दु रावसम्म जम्मा दुई आना पैसामा टांगा चलाउँथे । उनले यसरी केही दिनसम्म टांगा चलाए तर यसबाट हुने अन्त्यन्त न्यून आम्दानीले उनको घर खर्च चल्न सकेन ।
त्यसपछि उनले केही पैसा जम्मा गर्ने र व्यापार गर्ने विचार गरे । पछि उनले नयाँ दिल्लीको करोल वाग स्थित अजमल खान रोडमा सानो पसल खोले । जसको नाम उनले महाशय दी हाटी राखे र शैलकोटको देगी मिर्च वाले भनेर आफूलाई चिनाउन थाले । शैलकोटमा सानो सानो भाँडामा विभिन्न मसलाहरु कुटेर बेच्ने गरिन्थ्यो, त्यसमा पनि विशेष गरेर मिर्च अर्थात् खुर्सानी त्यतिबेला प्रसिद्ध थियो । यसले गर्दा उनलाई अलिकति भने पनि राहत मिल्यो ।
उनले आफ्ना मसलाको मिश्रणहरु त्यो ठाउँमा मात्र नभएर गाउँ गाउँमा पनि बेच्ने उपाय निकाले । त्यतिबेला विज्ञापन गर्नका लागि रेडियो टिभीमा गाह्रो हुन्थ्यो तर पनि उनले पत्रिकाहरुमा पनि आफ्नो मसलाको विज्ञापन गरे । उनी आफ्नो मसलाको विज्ञापनको ब्राण्ड एम्बेसडर आफै बने । उनका मसला त्यतिबेला विशेष गरेर बिहार उडिसा जिल्लाका गाउँ गाउँमा पुग्न थाले । यसले उनलाई बिस्तारै परिचित गराउँदै थाल्यो ।
हिजो १५ सय रुपैयाँ लिएर आएका उनले, टाँगा किनेर आफ्नो आधाभन्दा बढी पैसा खर्च गरे पनि पछि उनले आफ्नो पुख्र्यौली पेशा नै अंगाले र अहिले ५ सय करोडको कम्पनी बनाउन सफल भएका छन् । त्यति मात्र हैन उनले विभिन्न स्थानमा अस्पताल खोलिदिएका छन् भने विद्यालयहरु पनि खोलेका छन् । समाजलाई र संसारलाई आफ्नो उत्कृष्ट काम देऊ त्यसपछि तिमीले स्वतः पाउनेछौ भन्ने मान्यता राख्ने धमरमपाल हाम्रो लागि प्रेरणाको स्रोत हुनसक्छन् ।
विशेष गरी हामी अन्य ठाउँमा हात हाल्छौं, विभिन्न कामहरु गरेर हार मान्छौं तर पुख्र्यौली पेशामा पनि मेहेनत गरे पैसा र नाम छ भन्ने कुरा बिर्सन्छौं । यो कुरा हामी उनको जीवनीबाट सिक्न सक्छौं ।
१ चैत २०७३, ११।००
वि.सं.२०७३ चैत १ मंगलवार १२:१२ मा प्रकाशित