संखुवासभामा निर्माण हुने माथिल्लो अरुण जलविद्युत आयोजना ७ सय मेगावाट क्षमतामा निर्माण हुने भएको छ । ३ सय ३५ मेगावाटको आयोजना नेपाल विद्युत प्राधिकरणले क्षमता बढाएर बनाउन लागेको हो ।
प्राधिकरणले आयोजना निर्माण गर्न ‘अप्पर अरुण हाइड्रो पावर कम्पनी’ समेत गठन गरेको छ । बढी क्षमतामा निर्माण गर्न त्यहीअनुसार प्रक्रिया पुर्याएर विद्युत विकास विभागमा आवेदन दिएको सञ्चालक विश्वध्वज जोशीले बताए ।
‘सुरुको अध्ययनमा ३ सय ३५ मेगावाट क्षमता कायम भएको थियो,’ उनले भने, ‘पछिल्ला अध्ययले क्षमता बढ्ने देखिएको छ । यसका लागि सामान्य डिजाइन परिवर्तन गर्नुपर्नेछ ।’ विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि नयाँ डिजाइन आउने जोशीले जानकारी दिए ।
कम्पनीका अनुसार अहिले आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न परामर्शदाता छनोट प्रक्रिया भइरहेको छ । आगामी ७ महिनामा सबै काम पूरा गरी कार्तिकसम्म वातावरणीय प्रभाव र पहुँचमार्ग अध्ययन गर्न परामर्शदाता छनोट हुने जोशीले बताए ।
२०७५ असारभित्र आयोजनास्थल पुग्ने पहुँचमार्गको विस्तृत डिजाइन पूरा गरी २०७७ असारमा निर्माण सम्पन्न गर्ने योजना छ । पहुँचमार्गमध्ये १.८ किलोमिटर सुरुङ निर्माण हुनेछ ।
२०७५ माघदेखि २०७६ मंसिरसम्म आयोजना र पहुँचमार्ग निर्माण गर्न चाहिने जग्गा अधिग्रहणको काम सम्पन्न गर्ने योजना छ । यस्तै, २०७७ जेठमा आयोजनाको वित्तीय व्यवस्थापन र २०७८ वैशाखबाट निर्माण गर्न ठेकेदार परिचालन गर्ने प्रारम्भिक तालिका तयार गरिएको छ । निर्माण सुरु भएको ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।
आयोजनामा प्राधिकरणको ७८ प्रतिशत, आयोजना प्रभावित स्थानीयको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजनामा कार्यरत कर्मचारीको ५ प्रतिशत र आपांग व्यक्तिका लागि २ प्रतिशत सेयर लगानी हुनेछ ।
आयोजनाले वार्षिक ३५ सय देखि ३८ सय गिगावाट घन्टा विद्युत उत्पादन गर्ने अध्ययनमा छ ।
अर्धजलाशय मोडलमा निर्माण हुने आयोजनाको लागि करिब १ खर्ब रुपैयाँ अनुमान गरिएको छ । यद्यपि, डिपिआर तयार भएपछि मात्र वास्तविक लागत थाहा हुने जोशीले बताए । कम्पनीले माथिल्लो अरुणसँगै ३० मेगावाटको इक्वाखोलाको निर्माण पनि सुरु गर्ने भएको छ ।
सन् १९९१ मा यूएनडीपीको सहयोगमा अमेरिकी कम्पनी एमकेई कर्पोरेशन, जर्मनको ल्यामेयर इन्टरनेशनल, जापानको टोकियो इलेक्ट्रिक पावर र नीपकोन कम्पनीले सयंयुक्तरुपमा सम्भाव्यता अध्ययन गरेका थिए ।
आयोजनाबाट उत्पादित विद्युत वर्तमान बजार मूल्यअनुसार २ रुपैयाँ १० पैसा पर्ने र सन् २०२० पछि २ रुपैयाँ ७४ पैसा पर्ने अध्ययनमा उल्लेख छ । सञ्चालनको ३० वर्षसम्म आयोजनाबाट सरकारलाई ३१ अर्ब ८९ करोड ६७ लाख रुपैयाँ रोयल्टी आम्दानी हुने र थप राजस्वका रुपमा करसमेत प्राप्त हुनेछ ।
अध्ययनअनुसार आयोजनाको लागत ४७ करोड ९० लाख अमेरिकी डलर अनुमान गरिएको थियो । तर, प्राधिकरणले उक्त अध्ययनको पुनर्अध्ययन गर्दा ४४ करोड ५५ लाख ४० हजार अमेरिकी डलर कायम गरेको छ । आयोजना संखुवासभा जिल्लाको किमाथांका, चेपुवा, हटिया र पाथीभरा गाविससँग जोडिएको छ । उर्जाखबरबाट
प्रकाशित मितिः २०७४ जेठ २३
वि.सं.२०७४ जेठ २३ मंगलवार १२:३० मा प्रकाशित