काठमाडौं । अघिल्लो साता कारोबारको पाँचै दिन उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता कारोबारको पहिलो दिन भने फेरि घटेको छ ।
आइतबार नेप्से परिसूचक ४ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ६७ दशमलव ८६ अंक कायम भएको छ । आइतबार १ सय ७२ वटा कम्पनीको २० लाख ७२ हजार २ सय ३६ कित्ता सेयर ९ हजार ५ सय ५१ पटक खरिदबिक्री हुँदा ६८ करोड ६० लाख ७६ हजार १ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ८ अंकले बढेर २ सय ५५ दशमलव ६७ अंकमा कायम भएको छ । बैंकिङ, व्यापार र अन्य समूहको उपसूचक क्रमशः २ दशमलव ८२, १५ दशमलव ९२ र २ दशमलव २९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ सय ५१ दशमलव ९२ अंकले घटेको छ । आइतबार एनएमबी बैंकको सेयर मात्रै ६ करोड ३५ लाख १५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
बढी कारोबार हुने अरु कम्पनीहरुमा नविल बैंक लिमिटेडको ४ करोड ५४ लाख ८२ हजार, स्वावलम्बन विकास बैंक लिमिटेड प्रमोटर सेयर ३ करोड ८५ लाख ६१ हजार, एनआइसी एसिया बैंकको २ करोड ६१ लाख ४९ हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा शेर्पा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ४ प्रतिशतका दरले गुमाएका छन्।
२०७६ मंसिर २९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २९ आइतवार १५:३४ मा प्रकाशित