काठमाडौं । आगामी मंगलबारबाट सेयर कारोबार खुल्ने भएको छ । सरकारले यहि आइतबारबाट अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने निर्णय गरेपछि आइतबार नेपाल स्टक एकचेञ्ज (नेप्स) ले लगानीकर्ताको विरोधका बाबजुत सेयर कारोबार खोल्ने निर्णय गरेको थियो ।
तर नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐनमा रहेको विशेष अधिकारको प्रयोग गर्दै सोमबारबाट पाँच दिनको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो ।
आगामी सोमबारबाट उक्त पाँचदिनको समय सकिने भएकोले परिस्थिति अहिलेकै अवस्थामा रहने हो र सरकारले अर्को कुनै निर्णय नगर्ने हो भने सेयर कारोबार खुल्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताउनुभयो ।
बोर्डले धितोपत्र सम्बन्धी ऐनको दफा ९०, उपदफा १ को घ लाई प्रयोग गर्दै ५ कारोबार दिनको लागि सेयर बजार बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त दफामा बोर्डको विशेष अधिकारको रुपमा ‘धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने’ उल्लेख छ । ऐनको उक्त व्यवस्थाअनुसार पनि बोर्डले पाँचदिन भन्दा बढी यर बजार बन्द गर्न सक्ने अवस्था देखिँदैन ।
वि.सं.२०७६ चैत १३ बिहीवार १०:२५ मा प्रकाशित