back
NMB ad

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : यो हप्ता सकिंदै जटिल काम, भौतिक प्रगति ९९ .५ %

Kumari bank ad

काठमाडौं । सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति मात्रै भएन सम्पन्न नै हुने चरणमा पुगेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार कुल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२ दशमलव ५ मिटर मात्रै बाँकी छ ।

गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न हुन लागेको हो । कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी शुक्रवारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सकिनेछ ।

तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ । प्राप्त विवरणअनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २८७ दशमलव ५ मिटरमा पाइप जडानको काम भइसकेको छ ।

प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२ दशमलव ५ मिटर मध्ये २० मिटर शुक्रवारसम्म काम सम्पन्न गरिनेछ । बाँकी रहने २ दशमलव ५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ ।

‘सम्पन्न भएको स्थानमा कंक्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढ्छ । एउटा सकारात्मक अवस्थामा हामी पुगेका छौं, लकडाउनको समयमा सहज रुपमा काम हुनु आफैमा खुसीको विषय बनेको छ’, प्रवक्ता न्यौपानेले भने ।

माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइपनै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ ।
चालू आव सकिने दिनसम्म आयोजनाको काममा उल्लेख्य प्रगति हासिल हुने विश्वास लिइएको छ ।

कोरोना कहरका बीचमा घरभित्रका नागरिकलाई आशाको सञ्चार भर्ने काम आयोजनाले गरेको छ । विपद्सँग जुध्दै भएका कामले नेपालीलाई एक खालको आत्मविश्वास भरिदिएको छ ।

लाखौं नेपालीको आशा र भरोसाको केन्द्रविन्दुमा रहेको माथिल्लो तामाकोशीले लकडाउनमा दिएको सन्देश घरभित्रै बस्न बाध्य भएका नेपालीलाई हर्षित तुल्याउने खालको छ ।
आयोजनामा लगानी गर्ने शेयरधनी १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करीब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।

लकडाउनपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखियो । यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करीब रू.५ करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो । भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

यस्तै आयोजनाको सुरुङको तेर्सो स्थानमा जडान हुने केही पाइपको पनि जडानको काम अगाडि बढाउने र घुमेको पाइप जडानको काममा समेत गति दिन लागिएकाले एकाध दिन भित्रै सम्पन्न हुनेछ ।
सुरुङमा क्रंक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गत वैशाखमानै परिक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ ।

विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कुल छ ओटा विद्युत् उत्पादन गर्ने युनिट छन् ।

सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । पछिल्लोपटक यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेका कारण सहज भएको प्रवक्ता न्यौपानेको भनाइ छ ।

आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आईसोलेशनमा बसेजस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्य रूपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिने वित्तिकै उपचारको प्रबन्ध गर्ने व्यवस्था गरिएको छ ।

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सवस्टेशनको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

कुल २२० केभी क्षमताको प्रसारणलाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले बताएको छ ।

वि.सं.२०७७ असार ८ सोमवार १४:४६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...