back
NMB ad

बोर्डका उपाध्यक्ष रिजालको नजरमा यी हुन् पर्यटन क्षेत्रमा तत्काल सुधार्नुपर्ने पक्ष

Kumari bank ad

नेपालको पर्यटन क्षेत्र विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ ले गर्दा धेरै नै थला पारेको छ । कोरोनाका कारण अन्यको तुलनामा पर्यटन व्यसायीहरु बढी मारमा परेका छन् । कोरोनाका कारण देशमा जारी लकडाउनले मानिसहरु एक ठाउँबाट अर्को ठाउँसम्म जान पाएनन् । आवत-जावत गर्नका लागि विभिन्न सवारी साधन, सबै एयरलाइन्स बन्द हुन पुगे । जसलेगर्दा विदेशी पर्यटक आउन सकेनन् ।

स्वदेशमै पनि एक ठाउँबाट अर्को ठाउँसम्म जान सक्ने अवस्था भएन । होटल, रेष्टुरेण्ट, ट्राभल, ट्रेकिङ लगायत पर्यटन क्षेत्रसँग जोडिएका सबै प्रडक्टहरु बन्द भए । यी क्षेत्रहरु बन्दपछि व्यवसायसँग आश्रित मजदुर यसको मारमा परे, धेरै जना बेरोजगार पनि हुनुपर्यो । कोरोनाले देशको अर्थतन्त्र चलायमान हुन सकेन । त्यही बेला सरकारले व्यवसायीसँग कर असुली गर्यो, तै पनि पर्यटन व्यवसायीले सरकारबाट पाउनुपर्ने लाभबाट बञ्चित हुनुपर्यो । हामीले महामारीमा यो मात्रै नभएर अन्य कयौं खालका समस्या झेल्नु पर्यो ।

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ ? यो विषयमा अब नयाँ ढंगले सोच्नुपर्ने समय भएको छ । कोभिडबाट थिलोथिलो भएको पर्यटन व्यवासयलाई कसरी छिटोभन्दा छिटो पुनर्उत्थान गर्न सकिन्छ ? यसमा सरकारले बढी चासो लिएर छलफल र कार्यान्वयन गर्नु आवश्यक छ । अब अन्तराष्ट्रिय र आन्तरिक रुपमा यसको प्रवद्र्धन गर्न तर्फ लाग्नु पर्ने देखिएको छ ।

हामीलाई कोभिडले एउटा पाठ सिकाएको छ । महामारी, प्राकृतिक विपत्ति र विभिन्न खालका रोगहरु कति बेला आउँछन् र कति समय रहन्छन् भन्ने निश्चित हुँदैन । कोभिड पनि त्यही रुपमै नेपालमा छिर्यो । महामारीका बीचमै आन्तरिक पर्यटनलाई चलायमान बनाउन सकिने स्थिति थियो । अन्तर्राष्ट्रिय आवागमनलाई बन्द गरिए पनि आन्तरिक रुपमा पर्यटनलाई चलायमान बनाउन सकिने अवस्था रहन सक्थ्यो ।

सरकारले व्यवसायीसँग कर असुली गर्यो, तै पनि पर्यटन व्यवसायीले सरकारबाट पाउनुपर्ने लाभबाट बञ्चित हुनुपर्यो । हामीले महामारीमा यो मात्रै नभएर अन्य कयौं खालका समस्या झेल्नु पर्यो

अन्तर्राष्ट्रिय क्षेत्रका हवाई र स्थल मार्गहरु रोक्दिएपछि पनि पर्यटन व्यवसाय चलाउन सकिन्थ्यो । तर किन चल्न सकेन भने हाम्रो आन्तरिक पर्यटन व्यवस्थित थिएन । त्यसकारण पनि बन्द हुने अवस्थामा पुग्यो । पर्यटनलाई गतिशिल र चलायमान बनाउका लागि एक जिल्लाबाट अर्को जिल्ला आवत–जावतलाई रोक्ने तर आन्तरिक रुपमा भने संचालन गर्नुपर्ने थियो । टाढाको जिल्लाको नसकेपछि छिमेकी जिल्लालाई चलायमान बनाउन सकिने थियो ।

हाम्रो देशमा आधुनिक विकसित र ट्र्याकिङ सिस्टम नहुनाले पनि हामीले पर्यटनलाई चलाउन नसक्ने स्थिति सृजना उत्पन्न भएको हो । यस्ता खालका सिस्टमको अब विकास गर्नुपर्छ । अब सरकार, नेपाल पर्यटन बोर्डले यसतर्फ विस्तारै दीर्घकालिन रुपमा सोच्नुपर्छ, त्यसको लागि अहिलेदेखि नै लाग्नुपर्छ । किनभने, यो त मानव जातिमा भइरहने कुरा हो, कहिले पनि रोकिने कुरा होइनन् । यस्ता रोगहरु, विभिन्न घटनाहरु रोकिँदैन । यो घटनाले हामीलाई सचेत गराएको छ ।

अब पर्यटन क्षेत्रलाई तत्काल पुनरउत्थान गर्नुपर्छ । हिजोसम्म के-के भए, के गरियो भन्दा पनि पुराना, विगतलाई सम्झेर बस्ने होइन कि अब कसरी नयाँ बाटो जाने भन्ने विषयमा लाग्नुपर्ने समय आएको छ । कोभिडले ग्रसित भएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि राहत प्रदान गर्नुपर्छ । सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्छ । राज्यस्तरबाट यसलाई मुख्य प्राथमिकतामा राखेर काम गर्न लाग्नुपर्छ । बजेटमा मात्र आएर पनि हुँदैन । चालु आ.व.को बजेटमा भएको योजना कार्यान्वयनको पाटो मुख्य हो ।

बजेट अरु कुनै क्षेत्रमा खर्च भएन भने पर्यटन क्षेत्रमा रकमान्तर गरेर भए पनि काम गर्न आवश्यक छ । जसले पर्यटन क्षेत्रलाई छिटो राहत मिल्छ । व्यवसायसँग जोडिएका मजदुरलाई बचाउनुपर्यो, उसलाई टिकाउन पर्यो । एउटा सक्षम, योग्य मजदुर विदेशीने अवस्था आयो भने पर्यटन व्यवसाय बन्द हुन्छ । दक्ष नागरिक विदेशीएको खण्डमा त्यस्तै दक्ष नागरिक उत्पादन गर्न समय लाग्छ । जनशक्तिलाई यहीं नै रोक्न र मजदुरलाई बाँच्ने आधारहरु सरकारले तय गर्नुपर्छ । यसको लागि सहुलियत ऋणको सुविधा होस् अथवा अरु राहतका प्याकेजहरु नै किन नहोस तत्काल ल्याउनुपर्छ ।

कोरोनाको समयमा मजदुरले खान पाएनन् । त्यो बेला जति समस्या थियो तर त्यो भन्दा अप्ठयो अवस्था अहिले सृजना भएको छ । पर्यटन क्षेत्रले जुन समयमा राहत आवश्यक थियो त्यो समयमा पाएन । कसलाई कति समस्या भयो भनेर थाहा पाउनको लागि हामीसँग तथ्याङक छैन । तल्लो तहका मजदुरदेखी व्यवसायीसम्मलाई बचाउनु पर्ने समय आएकोे छ । अब सरकारले बजेटका मुलभुत सिद्धान्तलाई ननाघिकन रकमान्तर गरेर राहत दिनु पर्छ । अहिले सरकार र पर्यटन बोर्डको ध्यान त्यसतर्फ पनि गएको छ ।

मजदुरलाई बचाउनुपर्यो, मजदुरलाई टिकाउन पर्यो । एउटा सक्षम, योग्य मजदुर विदेशीने अवस्था आयो भने पर्यटन व्यवसाय बन्द हुन्छ । दक्ष नागरिक विदेशीएको खण्डमा त्यस्तै दक्ष नागरिक उत्पादन गर्न समय लाग्छ । जनशक्तिलाई यहीं नै रोक्न र मजदुरलाई बाँच्ने आधारहरु सरकारले तय गर्नुपर्छ 

बोर्डले अब मजदुरदेखि व्यवसायीसम्मलाई इच्छाशक्ति बढाईदिने, सबैलाई विश्वासको बातावरण बनाउने काम पर्यटन बोर्डले गर्नुपर्छ र गर्ने नै छ । यसो गर्ने हो भने भोलिका दिनमा यो व्यवसाय फष्टाउँछ । अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई पनि केन्द्रित गर्न सकिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न जादाँ एशियन मार्केटलाई बढी केन्द्रित गर्न सकिन्छ ।

अब नेपालको पर्यटन व्यवसाय हिजोको त्यो पुरानो शैलीले चल्दैन, यो धेरै महँगो भयो । अब हामीले नयाँ शैली अपनाउन आवश्यक छ । अब हामीले एशियन मार्केट (बंगलादेश, भारत, चीन, श्रीलंका) जस्ता देशहरुमा गएर हामीले पर्यटक ल्याउने वातावरण बनाउनुपर्छ ।

अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनलाई व्यवस्थित ढंगले मार्केटिङ गर्नुपर्छ । हिजोका प्रचारात्क शैलीहरु बदल्नुपर्छ । त्यसको विषयमा अध्ययन, अनुसन्धान गर्नुपर्छ । जस्तो कि सामाजिक सञ्जाल अथवा कुन मिडिलाई बढी फोकस गर्ने, कुन समूहलाई बढी फोकस गर्ने भन्नेमा ध्यान दिने बेला भएको छ । हामीले तिनीहरुलाई प्रचारात्मक ढंगले केन्द्रित गर्ने, विभिन्न माध्यमबाट नेपालमा पर्यटन भित्र्याउन सकिने वातावरणहरु छन् । त्यो जात जाति होस्, धर्म नै किन नहोस । हामीले धर्मका हिसाबले पनि पर्यटक लिन सक्छौं । स्वास्थ्य पर्यटनलाई प्रवद्धर्न गर्न सक्छौँ । अहिले त स्वास्थ्य पर्यटनको पनि प्रवल सम्भावना छ । नेपालमा स्वास्थ्य पर्यटनका लागि धेरै विषय रहेका छन् ।

नेपालमा धेरै राम्रा अस्पतालहरु छन्, एशियन मुलुकमा उपाचारका विधिका हिसाबले नेपालमा धेरै छन् । विभिन्न देशहरुबाट पनि पढ्न विद्यार्थी आइरहेका छन् । पाकिस्तान, बगंलादेश लगायतका देशहरुबाट नेपाल आएर अध्ययन गरिरहेका छन् । विद्यार्थीहरुका लागि अध्ययन गर्ने भ्रमणका हिसाबले, अनुसन्धानका हिसाबले पनि हेर्न र त्यतातिर केन्द्रित हुनुपर्छ ।

नेपाल पर्यटन बोर्डले सरकारको कुरालाई आधार बनाए कन्भिन्स गर्ने हो । मजदुर, व्यवसायीले भोगेका समस्या समाधनतिर अलि बढी ध्यान दिएर जानुपर्छ । यसतर्फ ध्यान दिने हो भने छिटो भन्दा छिटो रिकोभरी हुन सकिन्छ । जसका लागि कार्यतालिका बनाउनुपर्छ । त्यसको लागि हामी पर्यत्नरत छौ ।

अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनलाई व्यवस्थित ढंगले मार्केटिङ गर्नुपर्छ । हिजोका प्रचारात्क शैलीहरु बदल्नुपर्छ । त्यसको विषयमा अध्ययन, अनुसन्धान गर्नुपर्छ 

हिजोका दिनमा बोर्डमा समस्या थियो । नयाँ नियम कानून बनाउने, आर्थिक पारदर्शीका विषय, अन्तर्राष्ट्रिय बजारमा जाने कुरा, विगतका कुरालाई समिक्षा गर्ने कुरा वा त्यसलाई विट मार्ने अनि नयाँ कानून बनाउने काम आवश्यक छ । नयाँ गन्तव्यमा कसरी जाने अथवा नयाँ ठाउँमा जान के गर्ने भनेर सोचेर अगाडि बढ्नुपर्छ । हिजो पर्यटन गन्तव्यका रुपमा सगरमाथा, अन्नपूर्ण हिमाल थिए, अब नयाँ थप्नुपर्छ । यसको लागि गणेश लगायतका हिमाल तथा अन्य पदयात्राका गन्तव्यहरुलाई राख्नुपर्छ । त्यहाँ अध्ययन गर्नुपर्छ । नयाँ हाइकिङ एरियालाई पनि प्रवद्धर्न गर्नुपर्छ ।

पर्यटन बोर्डले कर्मचारी संयन्त्रलाई व्यवसायिक ढंगले अगाडि बढाएको छ । कर्मचारीहरुलाई पनि सातै प्रदेशमा लैजानको लागि अनुसन्धान तथा पुनसंरचना गर्न थालेको छ । अब बोर्ड प्रदेशमा पनि जान आवश्यक छ । पर्यटन बोर्डलाई पुर्नसंरचना गर्नुपर्ने बेला भएको छ । मुलुक संघीय संरचनामा गईसक्यो । वि.स. २०५३ मा बनेको ऐन अहिलेसम्म कायमै छ । अब यसलाई परिवर्तन गर्नुपर्छ ।

पर्यटनका गन्तव्य पनि फेरिँदै आएका छन् । मुलुकको समग्र क्षेत्रमा पर्यटनको विकास गर्नुपर्छ । त्यसमा अब फोकस गर्नैपर्छ । अहिले होमस्टेहरुको प्रचलन बढेको छ । विगतमा यसको अवधारणा नै थिएन । विगतमा पदयात्रा क्षेत्र, ट्राभल र केही मात्रामा होटल मात्रै थिए । अब नयाँ गन्तव्य, नयाँ–नयाँ अवधरणाहरु आएका छन् । पर्यटनमा अहिले नयाँ–नयाँ क्षेत्रहरु आएका छन । जस्तैः क्यानोनिङ्, मोटर ट्राभल, बञ्जिजम्प पनि रहेका छन् । अब यी सबै क्षेत्रहरुलाई समेटेर ऐन बनाएर अगाडि बढ्नुपर्छ ।

ऐनमा सबैलाई समेटनुपर्छ । यसलाई पर्यटन बोर्डले नै गाइड गर्नुपर्छ । पर्यटन व्यवसायीले पनि आफ्नो ऐन तथा आफ्नै संरचना बनाउने काम अब चाँडै नै पुरा हुनेछ । पर्यटन बजार अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा पनि छिटो द्रुत गतिमा विकास गर्न सकिन्छ । छिट्टै राहत लिन सकिन्छ । पर्यटनले सकारात्क दृष्टिकोण दिन सक्नुपर्छ । सधै राजनैतिक झगडा, सांस्कृतिक झगडा तर्फ लाग्नु हुँदैन । मुलुकलाई अगाडि बढाउनका लागि हामी विभिन्न जाति भाषा, धर्म। संस्कृतिका मानिसहरुमिलेर बसेका छौं भन्ने संदेश दिनुपर्छ । थोरै लगानी गरेर धेरैलाई रोजगारी दिने क्षेत्र पनि हो पर्यटन । एउटा पर्यटक नेपाल आउँदा धेरै फाइदा हुन्छ ।

नेपालमा उत्पादित सबै प्रकारको सामग्रीहरुको विक्री पनि हुन्छ । त्यसले हाम्रो आम्दानी बढाउन मद्दत पुग्छ । एउट पर्यटकले नेपालमा खर्चिएको रकम राज्यको विभिन्न ठाउँमा जान्छ । पर्यटन क्षेत्रलाई अलि बढी महत्व दिनुपर्छ । पर्यटन क्षेत्र रोकिन चाहँदैन । पर्यटकलाई सुरक्षा पनि उत्तिकै आवश्यक छ । एउटा पर्यटक स्वतन्त्ररुपमा सुरक्षित तरिकाले घुम्ने खालको वातावरण सृजना गर्नुपर्छ । सही गन्तव्य, सही समय आवश्यक हुन्छ । त्यसैले हामीले विशेष रुपमा पर्यटकको सुरक्षा र गन्तव्यलाई बढी प्राथमिकतामा राख्नुपर्छ । घुमफिर गर्ने भनेको साहसिक मान्छेले हो, र उसलाई सुरक्षाको अनुभुति हुनेगरी भ्रमण गर्ने वातावरण सृजना गर्नुपर्छ ।

अब पुरानो शैली र गन्तव्यले मात्रै नेपालको पर्यटन बिक्दैन । नयाँ पर्यटक कसरी ल्याउन सकिन्छ त्यस तर्फ हामी केन्द्रित हुनुपर्छ । मात्रात्मक रुपले मात्र बढेका छन् गुणात्मक रुपले छैनन् 

नेपालमा पर्यटक ल्याउँदा खर्चको सिमितता पनि छैन, त्यो बनाउनु पनि हुँदैन । यसो गरियो भने खासै पर्यटक आउँन खोज्दैन् । यसको विषयमा पोलिशी पनि बनाएका छैनौ । पर्यटन बोर्डले पनि कुनै अनुसन्धान बिना त्यो गर्न उपयुक्त हुँदैन । अब यस विषयमा बार्डले विभिन्न तरिकाले अध्ययन अुनसन्धान गुर्नपर्छ ।

विदेशी पर्यटकलाई नेपाल भित्र्याउन फरक तरिकाले प्रचार–प्रसार गर्न पनि आवश्यक छ । विगतका शैलीलाई फरक बनाएर जानुपर्ने भएको छ । हिजोका दिनमा हामी हिमालय दृश्यलाई मात्र प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्यौँ । अब नयाँ क्षेत्रहरुलाई नयाँ ढंगले प्रचार गर्नुपर्ने भएको छ । जस्तैः हाइकिङ गर्दा पनि काठमाडौं उपत्यका वरिपरिमात्र गरिन्थ्यो अब नयाँ गन्तव्यहरु खोज्नुपर्छ ।

नयाँ पर्यटक कसरी ल्याउन सकिन्छ त्यस तर्फ हामी केन्द्रित हुनुपर्छ । मात्रात्मक रुपले मात्र बढेका छन् गुणात्मक रुपले छैनन् । नयाँ पर्यटकहरुलाई आकर्षित गर्नका लागि उनीहरुको शान्ति, सुरक्षाको ग्योरेन्टी गर्नुपर्छ । देशमा राजनैतिक स्थिरता, कर्मचारीहरुको स्थिरता हुनुपर्यो । राज्यका सबै निकाय स्थिर हुनु आवश्यक छ ।

नेपालमा अनुसन्धानमा आधारित पर्यटन क्षेत्र विकास हुन सकेको छैन् । अब यसतर्फ सरकार, संघ-संस्था र व्यक्ति पनि केन्द्रित हुनुपर्छ । किनकी पर्यटनको महत्व अनुसन्धानमा आधारित हुन्छ । अब पुरानो शैली र गन्तव्यले मात्रै नेपालको पर्यटन बिक्दैन । नेपालको सबैभन्दा बढी समस्या भनेको फोहोर व्यवस्थापन नहुनु हो । हाम्रा पर्यटनका गन्तव्यमै फोहोरका थुप्रोहरु छन्, बाटाहरुको हालत पनि उस्तै छ । चाहे त्यो पैदल यात्रामा होस्, हाइकिङमा होस या त बास बस्ने होटेल होस्, शौचालय जताततै फोहोरको समस्या छ । त्यसकारण अब हरेक क्षेत्र, हरेक ठाउँ सुन्दर र सफा बनाउन तर्फ लाग्नुपर्छ । यसो गरियो भने पर्यटक पनि सहज रुपमा ल्याउन सकिन्छ, अर्को तर्फ रोगव्याधीको पनि समस्या (खतरा) हुँदैन ।

नयाँ पर्यटन गन्तव्यको खोज अनुसन्धान गरेर व्यवस्थित हुनेतर्फ लाग्नुपर्छ । छिटो, छरितो पारदर्शी हिसाबले पर्यटन गन्तव्यको खोज, अनुसन्धान र प्रचार–प्रसार तर्फ बोर्ड लागिरहेको छ । बार्डले नयाँ–नयाँ पर्यटन गन्तव्य खोज अनुसन्धान गरी विभिन्न ब्राण्डको विकास गर्नुपर्छ । हिजोका गलत कुरा र प्रवृत्तिबाट हामीले सिकेर आज राम्रो गर्नुपर्छ । त्यसका लागि पर्यटन बोर्ड क्रियाशिल छ र रहने छ ।

(नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालसंग अर्थतन्त्रले गरेको कुराकानीमा आधारित )

वि.सं.२०७७ फागुन २४ सोमवार १४:१४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...