back
NMB ad

कार्यान्वयनयोग्य बजेट बनाएर आर्थिक पुनरुत्थानलाई जोड दिन्छौं : अर्थमन्त्री पौडेलको अन्तर्वार्ता

Kumari bank ad

विष्णुप्रसाद पौडेल, अर्थमन्त्री

कोरोना भाइरस महामारीको नेपाली अर्थतन्त्रमा प्रभाव कस्तो परेको छ ?

कोभिड–१९ का कारण विश्वका अर्थतन्त्रहरु जस्तै नेपाली अर्थतन्त्र पनि निकै प्रभावित भएको छ । गत आर्थिक वर्ष आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर पनि बजेट निर्धारण गरेको लक्ष्य अनुसार नहुने देखिन्छ । बेरोजगारी पनि बढेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा करिब साढे सात लाखले रोजगारीको लागि आवेदन दिएका छन् । तर, यस बाहेक अन्य आर्थिक सूचकहरु संतोषजनक रहेका छन् । बाह्य क्षेत्र सुदृढ छ, मूल्यवृद्धि नियन्त्रित अवस्थामा छ, बैकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको छ र ब्याजदर घटेको छ । बन्दाबन्दी खोलेपछि आर्थिक गतिविधिहरु बढ्दै गएको छ । नेपाली अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ अग्रसर रहेको देखिन्छ ।

महामारीपछिको नेपालको आर्थिक अवस्थालाई कसरी समीक्षा गर्नुहुन्छ ?

महामारीले नेपालको अर्थतन्त्र प्रभावित भएपनि क्रमशः पुनरुत्थान हुन लागेको छ । सामुहिक ढंगले लागेमा नेपाली अर्थतन्त्र शीघ्र पुनरुत्थान हुने क्षमता राख्दछ । पक्कै पनि पर्यटन लगायत केही क्षेत्रहरु बढी प्रभावित भएका छन् जसको लागि विशेष ढंगले पुनरुत्थान गर्न थप प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

कोरोना भाइरस महामारीबाट अर्थतन्त्र भर्खर तंग्रिंदै गरेको छ, आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहनु भएको छ । यस्तो बेला बजेटका प्राथमिकताहरु के–के छन् ?

अर्थतन्त्र कोभिड-१९ बाट प्रभावित भएको, आर्थिक वृद्धि घटेको अवस्थामा आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता आर्थिक पुनरुत्थान गरी उच्च आर्थिक वृद्धिदरतर्फ नेपाली अर्थतन्त्रलाई लैजानु रहेको छ । साथै, कोभिड-१९ को कहर अझै समाप्त भै नसकेकोले संक्रमण रोकथामसँगै उपचार सेवाको उपलब्धता र स्वास्थ्य पूर्वाधार निर्माण पनि जोड दिनुपर्ने अवस्था रहेको छ ।

चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको बजेट कसरी फरक हुनेछ ?

कोभिड–१९ को प्रभावमै हामीले एक वर्ष व्यतित गरिसकेका छौं । यसबाट धेरै पाठ सिकेका छांै । दोस्रो लहरको सम्भावना रहे पनि त्यसको व्यवस्थापन गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ र सरकारले पनि त्यसका लागि आवश्यक तयारी गरिरहेको छ । यो अवस्थामा कार्यान्वयनयोग्य बजेट बनाएर आर्थिक पुनरुत्थानलाई जोड दिने छौं । साथै, आन्तरिक उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न सहयोग पुग्ने गरी बजेट ल्याउने तयारीमा छौं ।

सरकारले घोषणा गरेका व्यावसायिक पुनरुत्थानका प्याकेजहरु अझै पर्याप्त नभएको निजी क्षेत्रको भनाइ छ भने तपाईंले पनि निजी क्षेत्रले माग गरेमा थप सुविधा दिन सरकार तयार रहेको बताउनु भएको थियो । अहिले वा आगामी बजेटमार्फत त्यस्ता राहत वा पुनरुत्थानका प्याकेज आउने संभावना कत्तिको छ ?

चालु आर्थिक वर्षका व्यवसायिक पुनरुत्थानका प्याकेजहरु कार्यान्वयनमा रहेका छन् । आगामी बजेटमा पनि व्यवसायिक पुनरुत्थानलाई सहयोग पुग्ने गरी नै आर्थिक नीति, बजेट विनियोजन र राजस्व नीति अवलम्बन गरिनेछ । साथै, समग्र आर्थिक पुनरुत्थानको लागि चाहिने नीति ल्याइने छ यसको लागि सम्बद्ध सबैसँग सुझावको अपेक्षा गरेको छु ।

सरकारले निजी क्षेत्रसँग कुन–कुन कुरामा सहकार्य गरेर अघि बढेको छ वा त्यसका लागि कस्तो योजना बनाएको छ ?

सरकारले निजी क्षेत्रसँग छलफलका आधारमा घनिष्ट सहकार्य गर्दै आएको छ । सरकारले गर्ने प्रायः सबै आर्थिक कृयाकलापमा निजी क्षेत्र जोडिएको छ । आर्थिक वृद्धि तथा विकासमा निजी क्षेत्र सरकारको सहयात्री हो भन्ने कुरालाई ध्यानमा राखेर सरकारले काम गरिरहेको छ । रोजगारी सिर्जनामा पनि उसको भूमिका महत्वपूर्ण हुन्छ । निजी क्षेत्रले दिएका जायज सुझावहरु आगामी बजेटमा पनि समेटिनेछ । तर, निजी क्षेत्रले संस्थागत संस्कृतिको विकास गर्नु जरुरी छ । व्यवसायिकता र क्षमता बढाउनु पनि आवश्यक छ ।

व्यापारका लागि आवश्यक पूर्वाधारको कमीका कारण नेपालमा उत्पादित वस्तुको मूल्य करीब १५ प्रतिशतसम्म महँगो हुने गरेको छ । यो समस्यालाई सम्बोधन गर्नका लागि सरकारले के गर्दैछ ?

यस समस्यालाई सरकारले विशेष रुपले हेरेको छ । त्यसैले गर्दा ठूला भन्सार कार्यालयहरु रहेका ठाँउका पूर्वाधार विकास र बिस्तार गरिरहेको छ । त्यस्तै, ठूला रणनीतिक सडकहरुको विस्तार गरिरहेको छ । ठूला शहरहरुबीचको दूरी र समय घटाउने गरी दु्रतमार्ग, सुरुङ मार्ग बनाउने कामलाई जोड दिइएको छ र बनाउन शुरु गरिएको छ । उत्तर दक्षिण कोरिडोरहरुको निर्माणमा उल्लेख्य प्रगति भएको छ भने दक्षिणी सीमामा एकीकृत जाँच चौकीहरुको विकासलाई गति दिइएको छ । यी पूर्वाधारले निर्यातलाई सघाउने छन् ।

पक्कै पनि नेपालको निर्यातको क्षमता आवश्यकताअनुरुप बढ्न सकेको छैन । तर, यहाँको निजी क्षेत्रले आयात प्रतिस्थापनतर्फ लाग्न सक्छ भने सूचना प्रविधिमा आधारित निर्यात बढाउन सक्छ । सरकारले सूचना प्रविधिको विकासको लागि डिजिटल नेपाल फे्रमवर्क कार्यान्वयनमा ल्याएको छ । त्यसको कार्यान्वयनले मुलुकमा आवश्यक आईटी पूर्वाधार र सुविधाहरु सिर्जना गर्ने छ जसले उद्यमी व्यवसायीहरुलाई सहयोग गर्ने छ ।

राजस्वको लक्ष्य प्रायःहासिल हुने तर विकास खर्चको अवस्था सधैं दयनीय हुने गरेको छ, यो समस्या कहिले सुधार होला । तपाईंलाई अर्थ मन्त्रालय अलि बढी राजस्वमुखी भएको तर पूँजीगत खर्चमा कम ध्यान पुगेको जस्तो लाग्दैन ?

राजस्व संकलनको मुख्य जिम्मेवारी अर्थ मन्त्रालयसँग रहेको छ । लक्ष्यअनुसारको राजस्व संकलन गर्न चुहावट नियन्त्रण, दायरा बिस्तार र कर प्रशासनको सुधारको काम अर्थ मन्त्रालयले गरिरहेको छ । जहाँसम्म पुँजीगत खर्चको सवाल छ त्यो अर्थ मन्त्रालयले मात्र गरेर पुग्दैन । धेरै कारणहरुले गर्दा पुँजीगत खर्च कम भएको हो ।

यसलाई बढाउनको लागि समस्याहरुको पहिचान र समाधानका उपायहरुको खोजी भइरहेको छ । संघीयताको कार्यान्वयनको शुरुवाती संक्रमणकालीन अवस्थाले गर्दा पनि पुँजीगत खर्च बढ्न नसकेको हो । यसका लागि तीनै तहका सरकारको साथै निजी क्षेत्रको पनि क्षमता विकास गर्नुपर्ने देखिएको छ । कोभिड महामारीका कारणले पनि अघिल्लो र चालु आर्थिक वर्षको पुँजीगत खर्च प्रभावित भएको हो ।

पुँजीगत खर्च बढाउनका लागि अर्थ मन्त्रालयले तत्कालका लागि केकस्ता योजनाहरु कार्यान्वयन गरिरहेको छ ?

अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरुसँग छलफल र संवाद गरिरहेको छ । समस्याको पहिचान गरिएको छ, समाधानको खोजी भइरहेको छ । कार्यान्वयनमा गइरहेका आयोजनाहरुका लागि बजेटको अभाव हुन दिइएको छैन । आयोजना विशेषका समस्या पहिचान गरी समाधानको प्रयास गरिएको छ ।

यसको लागि सम्पूर्ण कर्मचारी सयन्त्र र निर्माण व्यवसायीलगायत निजी क्षेत्रको सक्रियता पनि आवश्यक छ । आगामी बजेटमा तयारीको चरण पार गरेका आयोजना, परियोजना र कार्यक्रमहरु समावेश गर्ने सोचमा छौं । सरकारले परियोजना बैंक कार्यान्वयनमा ल्याएको छ । त्यसले पनि बजेटका लागि उपयुक्त र कार्यान्वयनयोग्य परियोजनाहरु उपलब्ध गराउनेछ ।

व्यवसायीहरुले भ्याटको दरमा पुनरावलोकन गर्नुपर्ने र करमा बहुदर प्रणाली अपनाउनु पर्ने माग गरिरहेका छन् । यसमा तपाईंको धारणा के हो ?

यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । र, हामी संवाद तथा छलफलका क्रममा छौं ।

महामारीको बहानामा चीनले उत्तरतर्फका दुवै नाकामा अवरोध गर्दा नेपाली ब्यापारी व्यवसायीले चर्को मूल्य चुकाउनु प¥यो । नाका आंशिक खुल्दा पनि आयात मात्र हुने निर्यात भने नहुने अवस्था भयो । यतिहुँदा पनि सरकारले खासै सहजीकरण गर्न सकेन । द्विपक्षीय व्यापारमा हुने यस्ता समस्या समाधानमा किन ढिला भएको हो ?

चीनसँगको व्यापार यसपटक कोभिडको कारण अलि बढी प्रभावित हुन गयो । नाका खोल्न हामीले कुटनीतिक प्रयासहरु जारी राखेका छौ । यस सम्बन्धमा सरकारले निजी क्षेत्रसँग निरन्तर संवादमा रहेर काम गरिरहेको छ ।

कोरोना भाइरससँग लड्न नेपालले कस्तो खालको अन्तर्राष्ट्रिय साथ सहयोग पाएको छ ?

कोभिड–१९ सँग लडनको लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट राम्रो सहयोग पाइरहेको छ । बहुपक्षीय दाताहरुले बजेटरी सर्पोट दिएका छन् भने द्धिपक्षीय दाताहरुले ऋण भुक्तानीको समयावधि थपेका छन् । यस वर्षमा वैदेशिक सहयोगको प्रतिबद्धता पनि बढेको छ । यसको प्राप्तिको मात्रा हाम्रो कार्यान्वयन क्षमतामा पनि भर पर्दछ ।

(अन्तर्वार्ता नेपाल चेम्बर अफ कमर्सको स्मारिकाबाट साभार)

वि.सं.२०७८ वैशाख ५ आइतवार १६:५० मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...